प्याराग्लाइडिङ बन्यो पर्यटनको आधार

paragliding3 copyकाठमाडौं । साहसिक पर्यटनको रूपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ)मा पछिल्लोसमय आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बद्दै गएको छ । कम लगानी र तुरुन्तै बढी लाभ पाइने भएकाले यसको व्यावसायिक आकर्षण बढ्दो छ । यद्यपि, यो व्यवसाय अझै व्यवस्थित र प्रभावकारी हुन सकेको छैन । करिब डेढ दशकअघि पोखराको सराङ्कोटबाट सुरु भएको प्याराग्लाइडिङ सेवा हाल देशका विभिन्न स्थानमा फैलिसकेको छ । पर्यटकको आवश्यकता र व्यावसायिक सम्भावनालाई मध्यनजर गरी प्याराग्लाइडिङलाई नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न नियामक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले योजना अघि बढाएको छ ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले प्याराग्लाइडिङको संस्थागत विकास गर्ने गरी नीतिगत सुधारका कार्य भइरहेको जानकारी दिए । उने भने, ‘प्याराग्लाइडिङलाई पर्यटनको महत्वपूर्ण उपजको रूपमा लिई व्यावसायीकरण गरी राजस्व बढाउनेतर्फ मन्त्रालयले काम अघि बढाएको छ ।’

विदेशी पाइलटकै भरमा चल्नुपर्ने बाध्यतालाई चिर्दै मन्त्रालयले दक्ष र व्यावसायिक पाइलट उत्पादन गर्ने उद्देश्यले नेपालमा पहिलोपटक प्याराग्लाइडिङ प्रशिक्षक संस्थालाई अनुमति दिएको हो । मुलुकमा अहिले झन्डै छ सयको हाराहारीमा प्याराग्लाइडिङ पाइलटको आवश्यकता छ । तर, हाल इजाजत प्राप्त १ सय १० जना मात्रै छन् । ती पनि अधिकांश विदेशी हुन् ।

प्याराग्लाइडिङको व्यावसायिक सम्भावना रहे पनि दक्ष जनशक्ति (पाइलट) र गन्तब्यसम्म पुग्ने पूर्वाधार विकास नहुँदा व्यावसायिक फड्को मार्न नसकेको प्याराग्लाइडिङ इन काठमाडौं कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद अधिकारी बताउँछन् । काठमाडौँ उपत्यकानजिक सिन्धुपाल्चोकको भोटेचौर र ललितपुरको गोदावरीमा केहीवर्षदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुँदै आएको छ । अत्यधिक सम्भावना रहेको गोदावरीलाई पोखराको जस्तै व्यावसायिक उडान गर्ने योजना अघि बढाइएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा इजाजत प्राप्त करिब ६५ प्यराग्लाइडिङ कम्पनी छन् तीमध्ये ४० को हाराहारीमा सञ्चालित र अरू सञ्चालनको प्रक्रियामा छन् । अहिले धरान, पोखरा, स्याङ्जा, तनहुँ (बन्दीपुर) र पाल्पामा प्याराग्लाइडिङ उडान भइरहेको छ । प्याराग्लाइडिङको मुख्य हब कास्कीको पोखरा हो ।

१ हजार ५ सय २ मिटर उचाइमा रहेको कास्कीको सराङ्कोटबाट प्याराग्लाइडिङ गरेर फेवाताल किनार खपौदीमा अवतरण गर्ने गरिन्छ । धवलागिरी, अन्नपूर्ण, मनास्लु, मनासलु हिमालदेखि कोरचनको डाँडा, सराङ्कोटको चुली, पाल्पाको श्रीनगर, तनहँँुको बन्दीपर, कास्कीकै मट्टीखानजस्ता पहाडमा सिधै अवतरण गर्न सकिने प्याराग्लाइडिङ हिमाल, पहाड, गाउँसहर र तालतलैयाको अनुपम संगमलाई कैद गर्न सकिने साहसिक पर्यटन हो ।

देशका अन्य स्थानमा पनि विस्तार हुने सम्भावना रहेकाले व्यवसायी र सरकारको समन्वयमा उडान संख्या क्षेत्र पहिचान तथा विकास गर्ने योजना रहेको सहसचिव लामिछानेले बताए । ‘यो व्यवसायबाट राज्यलाई राजस्वको योगदान बढाउनुका साथै व्यावसायिक र भरपर्दो बनाउनेबारे मन्त्रालयले गृहकार्य गरिरहेको छ’, मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका प्रमुखसमेत रहेका सहचिव लामिछानेले भने ।

प्याराग्लाइडिङ जस्तै साहसिक अल्ट्रालाइट भने पोखरामा मात्रै सञ्चालित छ । सर्वोच्च शिखर सगरमाथामा स्काइ ड्राइभ पनि गरिन्छ । व्यावसायिक सम्भावना र बजार बढे पनि अहिले यो व्यवसायबाट कति आम्दानी हुन्छ र राज्यलाई कति हिस्सा जान्छ, भन्ने कुनै विवरण छैन । विदेशी पर्यटकले प्राकृतिक दृश्यावलोकनको आनन्दसँगै मनोरञ्जन लिन प्याराग्लाइडिङ रोज्ने गरेका छन् ।

पछिल्लो सयम नेपालीले पनि प्याराग्लाइडिङ रोज्न थालेकाले यस व्यवसायप्रति आकर्षण बढेको ‘ब्लू स्काई प्याराग्लाइडिङ कम्पनी’का बजार अधिकृत सोफिया थापा बताउँछन् । ‘भूकम्प र नकाबन्दीले पर्यटक कम आए पनि अहिले ग्राहक बढेका छन्’, उनले भने । प्याराग्लाइडिङ गर्न नेपालीका लागि ५ हजार ५ सय र विदेशीका लागि ८ हजार ५ सय रुपैयाँ शुल्क लाग्छ । फागुन र वैशाख महिना प्याराग्लाइडिङका लागि उत्तम समय मानिन्छ ।

नेपालको पोखरा क्षेत्र साहसिक पर्यटनका लागि विश्वमै उत्कृष्टस्थलका रूपमा विकास हुनुले यसलाई ऊर्जा थपेको बताइन्छ । विश्वस्तरीय प्याराग्लाइडिङ च्याम्पियनसिपसमेत हुँदै आएको पोखरा यही माध्यमबाट साहसिक खेलकुदको गन्तव्यका रूपमा समेत चिनिएको छ । युरोप, एसिया र उत्तर अमेरिकामा प्याराग्लाइडिङ चलेको छ । मोजाम्बिक, फ्रान्स, टर्की, न्युजिल्यान्ड, इटाली, स्विडेन, दक्षिण कोरिया, स्लोभानिया प्याराग्लाइडिङका लागि प्रख्यात मानिन्छन् ।

प्रथम विश्व युद्धमा पहिलोपटक जल सेनाले प्यारासुटको प्रयोग गरेको बताइन्छ । सन् १९५० ताका प्याराकमाण्डरले यसको प्रयोग गरे । क्रमिक रूपमा विकास हुँदै सन् १९६४ मा अमेरिकाका डेमिना जाल्बर्टले प्याराग्लाइडिङको रूपमा विकास गरे । प्याराग्लाइडिङ चरा (चील) को खुटा र पखेटाले च्यापेर पछाडिको हावालाई दबाब दिएर जिउको अघिल्लो भाग अघि बढाउने सिद्धान्तमा आधारित छ ।

प्रतिक्रिया