उद्योगीले नै कालोबजारी बढाए

काठमाडौं, २८ माघ । ग्यास व्यवसायी महासंघले उद्योगीले सिधै उपभोक्तालाई ग्यास बेच्दा कालोबजारी बढेको आरोप लगाएका छन् । सरकारको निर्णयलाई पनि उद्योगीले अटेर गरी सिधै बिक्री गरेको बताएका छन् ।

महासंघले सरकारको पूर्वनिर्णयअनुसार पहिलेजस्तै वितरक र बिक्रेतालाई सिधा ग्यास उपलब्ध गराउन उद्योगीसँग माग गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष विवेन्द्रभक्त प्रधानांगले लामो समयदेखिको भारतीय नाकाबन्दीका कारण बजारमा ग्यासको अभाव भएको जनाउँदै उपलब्ध ग्यास पनि उद्योगीले विभिन्न बहाना बनाएर उद्योगबाटै बिक्री गर्दा कालोबजारीलाई प्रोत्साहन मिलेको बताए ।

महासंघले उपलब्ध ग्यास वितरक र बिक्रेतालाई उद्योगले सिधै उपलब्ध गराएमा सरकारले तोकेको उपभोक्ता मूल्यभन्दा अन्य मूल्य जोडेर नलिन महासंघले आग्रह गरेको छ । अहिले बजारमा आधा सिलिन्डर ग्यासको मूल्य ७ सय पर्ने भए पनि व्यापारीले मनपरी रूपमा ८ सयदेखि ९ सय लिँदै आएका छन् ।

उनले महासंघले २ महिनाअघि नै उपत्यकाका सबै जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायमा ग्यास वितरक तथा बिक्रेताको सहभागितामा ग्यासको आपूर्ति तथा व्यवस्थापनका विषयमा छलफल गरी ग्यास बिक्रेताले पूर्वप्रचलित वितरण प्रणालीअनुसार वितरक र बिक्रेतालाई ग्यास सेवा ‘डेलिभरी’ दिई वितरक र बिक्रेतामार्फत नै बिक्री गर्नुपर्ने निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको बताए ।

महासंघका महासचिव चन्द्रकृष्ण श्रेष्ठले वितरण प्रणाली ट्र्याकभन्दा बाहिर जाँदा बिथोलिएको र अर्कोतिर सामान्य लागेको जायज भाडा दिने इमानदार बिक्रेतालाई भन्दा कालोबजारीलाई प्रोत्साहित हुने वातावरण बनेको बताए ।

उनले नेपालभरि दैनिक ५५ बुलेट र काठमाडौँ उपत्यकालाई दैनिक ३० बुलेट ग्यास आवश्यक पर्ने बताउँदै यो अवस्था तत्काल सहज नहुने स्पष्ट पारे । महासंघले एकातिर सरकारले गरेको निर्णयको कार्यान्वयन भएको छैन भने अर्कोतिर चलन विपरीत उद्योगसम्म वितरकले नै गाडी भाडा तिरेर लिन जानु पर्ने चलन बसेको बताए । वितरक वा बिक्रेताले आपैmँ गाडी भाडा तिरेर उद्योगबाट ग्यास ल्याउँदा ग्राहकसँग असुल्ने नयाँ प्रथा ग्यास कारोबारमा भित्रिएको महासंघले जनाएको छ । महासंघले यसलाई तत्काल रोक्न आग्रह गरेको छ ।

नाकाबन्दीअघि उद्योगकै गाडीमा वितरक वा बिक्रेता कहाँ ग्यास पु¥याउने गरिएको थियो । ग्यास अभाव भएपछि उद्योगीले सिधै उपभोक्तालाई दिने र वितरक वा बिक्रेताले आपैmँ गाडी खोजेर ल्याउँदा उपभोक्ताले थप रकमको भार बेहोर्दै आएका छन् ।

प्रतिक्रिया