अखिल सम्मेलनमा प्रहरीको मात्रै सुरक्षा

ANNFSUकाठमाडौं, २५ माघ । एमालेको नर्सरीको रूपमा मानिने विद्यार्थी संगठन अनेरास्ववियुको २२ औ राष्ट्रिय सम्मेलनमा बन्द शत्रको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ । आवश्यक परे सशस्त्र प्रहरीलाई पनि तयारी हालतमा राखिने भएको छ । अखिलको इतिहासमा प्रहरीलाई सुरक्षाको जिम्मा दिइएको यो पहिलो पटक हो । उद्घाटन समारोहमा भने सो संगठनका सबै केन्द्रीय सदस्य स्वयंसेवकका रूपमा खटिनेछन् ।

सोमबार बागबजारमा पत्रकार सम्मेलनको आयोजना गरी अखिल अध्यक्ष किशोरबिक्रम मल्लले चुनावी प्रचार शैली तडकभडक गर्ने उम्मेदवारको उम्मेदवारी सिधै खारेज हुने बताए । पार्टीका सचिव तथा मोर्चा संगठन इञ्चार्ज गोकर्ण बिष्टको उपस्थितिमा बसेको बैठकले आचारसंहितालाई कडाई गर्ने निर्णय गरेको अध्यक्ष मल्ले बताए ।

‘ए फोर’ साइजको कागजमा ब्ल्याक एण्ड ह्वाइटमा उम्मेद्वारले आफ्नो परिचयसहितको घोषणपत्र वितरण गर्नबाहेक अन्य सबै प्रकारका तडकभडकपूर्ण प्रचार सामाग्री निषेध गरिएको बताए । ‘पेन, डायरी, टिसर्ट, टोपी, फ्ल्याक्स बोर्डलगायतका प्रचार सामाग्री सम्मेलन एरियामा वितरण गर्न पाइने छैन,’ अध्यक्ष मल्ले भने ‘त्यस्तो सामाग्री वितरण गरेको पाइएमा उम्मेदवारी रद्द हुनेछ ।’

२७ माघमा काठमाडौंको भृकुटी मण्डपमा २२ औँ सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । २८ गतेदेखि बन्द शत्र सुरु हुनेछ । विधान अधिवेशनमार्फत विधान, संगठनात्मक प्रतिवेदन र आर्थिक प्रतिवेदनकासाथै आगामी कार्यभारका कार्यक्रम पनि पारित भइसकेकाले सम्मेलन सिधै नेतृत्व छनौटका लागि निर्वाचनमा प्रवेश गर्ने अध्यक्ष मल्ले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन जिल्लाहरूबाट प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भएको जानकारी दिदैँ अध्यक्ष मल्लले मंगलवार साँझसम्ममा सबै प्रतिनिधि आइसक्ने बताए ।

अखिलको चुनावमा पार्टीभित्रको गुटको नांगो प्रदर्शन भइरहेको छ । अखिलका स–साना विद्यार्थी भाइबहिनीलाई गुटगत राजनीतिमा गिजोल्न नहुने आवाज पार्टीभित्रै उठे पनि शिर्ष नेतृत्वलाई नै ‘राम्रा’ होइन ‘हाम्रा’ चाहिएकाले यसले आकार ग्रहण गर्न नसकेको बताइन्छ । गुटको अन्त्य गरेर मिलाएर लानु पर्ने पार्टी संस्थापन पक्षले नै आफ्ना पक्षीय विद्यार्थीलाई मात्र भेला गरेर प्यानल घोषणा गर्दै भोट माग्दै हिडेपछि नेता माधवकुमार नेपाललाई पनि गुट खडा गर्ने वाध्यतामा परेको उनी निकट श्रोतले बताएको छ । स्रोतले भन्यो, ‘उहाँ विद्यार्थी भाइबहिनीमा पार्टीभित्रको अन्तरविरोधको छाप पर्न दिनु हुन्न भन्नुहुन्थ्यो । तर, ओली कमरेडले एकतर्फी गुट खडा गरेकाले उहाँलाई वाध्यता आइलाग्यो ।’

चार दिनअघि अनामनगरको एक हलमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका विद्यार्थीको भेलाले नविना लामाको नेतृत्वमा महासचिवमा ऐन महरसहितको प्यानल बनाएर चुनावी अभियान सुरु गरेको थियो । नेता नेपाल पक्षले भने दीपक गौतमको नेतृत्वमा उपाध्यक्ष र महासचिवको टुंगो आइतबार राति मात्र लगाएको र सचिवलगायत अन्यको पदाधिकारीको टुंगो सोमवार साँझसम्म लगाउन नसकेको बताइएको छ । संस्थापन पक्षले सबैलाई मिलाएर लान्छ कि ? भन्ने झिनो आशा रहेकाले र एउटै पदका लागि धेरै आकांक्षी देखिएकाले सो समूहले व्यवस्थापन गर्न नसकेको बुझिएको छ ।

नेता नेपालका पक्षबाट दीपक गौतमले सबैभन्दा पहिले अध्यक्षको दावेदारी पेश गर्दै चुनावी क्याम्पिङ सुरु गरेको ओली पक्षको आरोप छ । ‘जतिबेला संस्थापन पक्षलाई चुनाव लागेकै थिएन, त्यतिबेलादेखि नै गौतम नेता नेपाल पक्षबाट अध्यक्षको एकल दावेदार भएकोभन्दै भोट माग्न थालेका हुन् । उनले एकपक्षीय भेला र कोठे बैठक गर्न थालेपछि अर्को तर्फबाट पनि उम्मेदवार मिलाउने काम भएको हो’ ओली निकट श्रोतले भन्यो । स्रोतले भन्यो, ‘आफ्ना पक्षका आकांक्षीलाई चित्त बुझाउन नसकेपछि पार्टी अध्यक्षले गुट चलाएको आरोप लाग्नु नौलो कुरा होइन ।’

अखिलमा अहिलेसम्म छानिएका प्रतिनिधिमा दीपक गौतम पक्षधरको बहुमत रहेको र अझै लगभग ५ सय प्रतिनिधि छानिन बाँकी रहेकाले उनकोस्थिति अहिले नै यसै हो भन्न हतारो हुने बताइन्छ । अब छानिने प्रतिनिधिमा नवीना पक्षको बहुमत हुने र छानिइसकेका प्रतिनिधिमा लगभग बराबरको स्थिति रहेकाले नवीना पक्ष उत्साहित छन् ।

पार्टी नेताका नाम जोडेर प्यानल खडा गरिनु र नेतालाई पनि ‘राम्रा’ भन्दा ‘हाम्रा’ प्रिय देखिनुलाई प्रतिनिधिले निको मानेका छैनन् । बागबजारको हार्दिक होटलमा भेटिएका धेरैजसो प्रतिनिधिको भनाइ थियो, ‘हाम्रा राम्रा’ होइन, ‘राम्रा हाम्रा’मा विश्वास गछौँ ।’

प्रतिक्रिया