फुटको संघारमा मधेसी मोर्चा

Madhesi-morchaकाठमाडौं, २५ माघ । मधेसी मोर्चाले सोमबारदेखि सीमा नाकामा जारी धर्ना कार्यक्रम औपचारिकरूपमै फिर्ता लिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुराको निवासमा सोमबार बसेको मोर्चाको बैठकले नाकामा धर्ना दिने कार्यक्रम फिर्ताको घोषणा गर्दै मोर्चाका घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई सचेत गराउने निर्णय गरेको हो ।

महतोको गतिविधि र अभिव्यक्तिबाट मधेस आन्दोलनलाई क्षति पुगेको ठहर गर्दै उनलाई अबदेखि यस्ता गतिविधि नगर्न मोर्चाले निर्देशन दिएको छ । मोर्चाको बैठकले महतोको पछिल्लो अभिव्यक्तिले आन्दोलनको मर्ममाथि प्रहार गरेको ठहर गर्दै यस्तो निर्देशन दिने निर्णय गरेको हो । महतोले वीरगन्जबाहेक अन्य सबै नाका खुलिसकेको अवस्थामा वीरगन्ज नाकामा मात्र बन्द गर्नुको कुनै औचित्य नरहने अभिव्यक्ति दिएका थिए ।

बैठकपछि जारी विज्ञप्तिमा मोर्चाले भनेको छ–‘आन्दोलनकै क्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको हुँदा अब उप्रान्त यस्ता क्रियाकलाप नगर्न र नगराउन मोर्चा निर्देश गर्दछ ।’ मोर्चाको वैठकपछि जारी गरिएको विज्ञप्तिमा सद्भावना पार्टीका अध्यक्ष महतोले भने हस्ताक्षर गरेका छैनन् । महतो विहान बसेको बैठकमा उपस्थित भएपनि बैठकको बीचमै बाहिरिएका थिए ।

बैठककोबीचैमा बाहिरिएका महतोले मोर्चाका घटक दलहरुलाई आ–आफ्नो जिम्माका नाकाहरु बन्द गरेर देखाउन चेतावनी दिएका छन् । मोर्चाको बैठकमा महतोले उक्त चेतावनी दिएको उनले बताए । आफूलाई लागेको आरोपको खण्डन गर्दै महतोले भने, ‘हाम्रो पार्टीको जिम्मा रहेको बीरगञ्ज नाका हामीले बन्द गरेर देखायौं तर अन्य पार्टीको जिम्मामा रहेका कुनै पनि नाका बन्द भएनन् । बीरगञ्ज नाका मात्रै बन्द गर्दा त्यहाँका जनताहरु निरास भएका थिए । मैले बैठकमा भने मोर्चाका सबै घटकले आ–आफ्नो जिम्माको नाका बन्द गर्नुस् । आन्दोलन आफै अगाडि बढ्नेछ ।’ महतोकाअनुसार आफू एक्लै मधेसमा आन्दोलन गरेर बसेको तर मोर्चाका अन्य नेताहरु काठमाडौंमा पार्टी विस्तारमा लागेकाले आन्दोलनकारीहरु निरास भएका छन् । महतोले भने, ‘अहिले पनि म आन्दोलनमै छु । आँखा चेक गराउन काठमाडौं आएको हुँ तर अन्य नेताहरु सरकारी चियाविस्कुट खानमा लागेका छन् । त्यही भएर जनता निरास छन्, म उनीहरुलाई पुनः आन्दोलनमा आउन आह्वान गर्दछु ।’

उनको अभिव्यक्ति दिएको दुई दिन पश्चात मोर्चाको औपचारिक निर्णयविनै स्थानीयको दबाबमा वीरगन्ज नाका खुलेको थियो । यस्तै बैठकले तराईमा जारी आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्द नगर्ने निर्णय गरेको छ । मोर्चाले अन्य आन्दोलनका कार्यक्रम भने यथावतै नै रहने जनाएको छ ।

यस्तै बैठकले आन्दोलनलाई अझ सशक्त र व्यापक रुपमा अगाडि बढाउन आवश्यक तयारी एवं गृहकार्य गरी आन्दोलनलाई तराई÷मधेश÷थरुहटका साथै काठमाडौं सहित अन्य क्षेत्रहरुमा पनि परिचालन गर्ने निर्णय गरेको छ । मोर्चाले आन्दोलनरत रहेकै बेलामा आन्दोलन फिर्ता लिएको वा आन्दोलनरत शक्ति पराजित भएको भनि सरकारले विभिन्न प्रचारबाजी, आन्दोलन विरोधी तत्वहरुले सिर्जना गरेको भ्रम तथा अफवाह फैलाएको आरोप समेत लगाएको छ । मोर्चाले मसाल जुलुसदेखि लाठी जुलुस प्रदर्शन गर्ने लगायतका दबावमुलक कार्यक्रम पनि घोषणा गरेको छ । मोर्चाले फागुन २९ जिल्ला सदरमुकामहरुमा मसाल जुलूस निकाल्ने, ५ गते तराई मधेसका जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, ७ गते विरोधसभा गरेर ११ बुँदे माग जनता समक्ष प्रस्तुत गर्दै गाउँ÷नगरहरुमा जनमत संकलनका रुपमा हस्ताक्षर अभियान संचालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

भन्डाफोर गर्छौँ : गुप्ता
काठमाडौं । जयप्रकास गुप्ता नेतृत्वको तराई मधेश राष्ट्रिय अभियानले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेसी जनतालाई धोका दिएको भन्दै मोर्चाको भण्डाफोर गर्ने भएको छ ।

गुप्ताले सोमबार विज्ञप्ती जारी गर्दै ‘मधेशी मोर्चाले दिए धोका भण्डाफोर गरौँ’ बन्दै आग्रह गरेका छन् । गुप्ताद्वारा जारी गरिएको सो आह्वानमा ‘मधेसी मोर्चाले गर्ने वार्ताको भ्रममा पर्नु हुँदैन । नयाँ सहकार्यका आधारमा मधेस आन्दोलनलाई दीर्घकालीन संघर्षमा रूपान्तरित गर्नु पर्दछ’ भनिएको छ । यो नयाँ बाटो समात्नुअघि मधेसी मोर्चाले मधेसी शहीदहरूको रगतसँग गरेको खेलवाड तथा यिनले खेलेका घृणित खेल तथा नालायकीको प्रदर्शनलाई संझानमा राख्न बिर्सनु नहुने उनको भनाई छ । उनले मोर्चाको धोकाधडीको आलोचना गर्दै अबको नयाँ बाटो र सहकार्यबारे विचार गर्न मधेसका सबै स्वभिमानी आन्दोलनकारीमा आह्वान गरेका छन् ।

प्रतिक्रिया