क्यान्सरको उपचार समयमै गरौँ

चितवन । समयमा उपचार हुन नसक्दा बर्सेनि क्यान्सर रोगबाट धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन् । समयमै उपचार हुनसके ४० प्रतिशत रोकथाम गर्न सकिने, एक तिहाइ क्यान्सर निको पार्न सकिने र बाँकीलाई पनि उचित उपचारबाट आयु लम्ब्याउन सकिने विज्ञको भनाइ छ । तर क्यान्सरका बिरामी अधिकांश अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।

नेपालमा सबैभन्दा बढी क्यान्सरका बिरामी उपचार गर्दै आएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा चीनबहादुर पुन तेस्रो र चौथो स्टेजका बिरामी उपचारका लागि आउने गरेको बताउँछन् । रोग लाग्नेबित्तिकै बिरामी अस्पताल आउन सके उपचार सहज हुने भएपनि जनचेतनाको अभावका कारण अन्तिम अवस्थामा मात्रै अस्पतालसम्म आउने गरेको उनले बताए ।

उनले भने, ‘शरीरको कुनै भागमा असामान्य वृद्धि, स्वर परिवर्तन, लामो समयसम्म खोकी, खकारमा रगतजस्ता लक्षण देखिए ढिला नगरी क्यान्सरको परीक्षण गराउनुपर्छ ।’ त्यस्तै, लामो समयसम्म कब्जियत हुनु, पातलो दिसा हुनु, दिसामा रगत देखापर्नु, महिलामा महिनावारी नभएको बेलामा रगत देखिनु वा सहवास गर्दा रगत देखापर्नु, स्तनमा गाँठागुँठी देखिनु, मुन्टामा रगत मिसिएको दूध आउनुजस्ता लक्षण क्यान्सरका भएको पनि उनले बताए ।

शरीरमा गिर्खा, गाँठागुँठी देखिनु, शरीरमा भएका कोठी र मुसाको रङ्ग बदलिनु र आकार परिवर्तन हुनु, छोटो समयमै शरीरको वजन घट्नु, रक्तअल्पता देखिनु, ज्वरो आइरहनु, धेरै दिनसम्म टाउको दुखिरहनु, वान्ता हुनु, रिंगटा लाग्नु, आँखा धमिलो देखिनु वा कम्पन आउनु क्यान्सरका लक्षण भएको मानिन्छ । यद्यपि, यस्ता लक्षण भएर पनि बिरामी यता र उता भौँतारिएर अन्तिम अवस्थामा मात्रै विशेषज्ञ चिकित्सककहाँ पुग्ने समस्या देखिँदै आएको छ ।

नेपालमा पुरुषमा फोक्सो, पेट, नाक, कान, घाँटी तथा महिलामा पाठेघर र स्तनको क्यान्सर बढी हुने गरेको पाइएको छ । सुर्तीजन्य वस्तुको प्रयोग, धुवाँ, रसायनको प्रयोग, पोलेको मासु सेवन, व्यायामको अभावलगायत कारणले क्यान्सर हुने गरेको विशेषज्ञ बताउँछन् । कार्यकारी निर्देशक पुनले सुर्तीजन्य पदार्थको सेवन नगर्ने, अखाद्य रङ्ग, रासायनिक मल, कीटनाशक औषधि प्रयोग गरिएका खाना नखान, चिल्लो, बोसोयुक्त खानेकुरा र नुन धेरै नखान सुझाउँछन् । त्यसैगरी, बासी, सडेगलेको, ढुसी परेको खाना र पोलेर डढेको मासु खान नहुने उनको भनाइ छ । धुलो, धुँवा तथा वातावरणीय प्रदूषणबाट जोगिनुपर्ने, महिलाले नियमितरुपले गर्भाशय परीक्षण, गुप्तांग नियमित सफा गर्ने र नियमित व्यायाम गर्नुपर्ने पनि उनले बताए ।

क्यान्सरले हुने मृत्युदर एड्स, मलेरिया र क्षयरोगबाट हुने मृत्युदरभन्दा बढी छ । क्यान्सरबाट हुने मृत्युको दुई तिहाइ हिस्सा अविकसित मुलुकमा छ । क्यान्सर विरूद्धको अन्तर्राष्ट्रिय संस्था आइयुसिसीले गरेको आँकलनअनुसार सन् २०३० सम्ममा एक करोड ७० लाख मानिस क्यान्सरबाट प्रभावित हुनेछन् ।

नेपालमा ४० देखि ५० हजार क्यान्सरका बिरामी भएको अनुमान छ । विश्वमा हरेक वर्ष एक करोड २० लाख क्यान्सरका बिरामी थपिइरहेका हुन्छन् । बर्सेनि यो रोगबाट ७६ लाख मानिसको मृत्यु हुने गरेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका उपनिर्देशक डा देजकुमार गौतम नेपालमा उपचार गर्न अस्पताल आउने बिरामीमध्ये आधा भरतपुर आउने गरेको बताउँछन् । सन् २०१४ मा चार हजार ५९९ जना क्यान्सरका नयाँ बिरामी थपिएका छन् । त्यसवर्ष एक लाख १२ हजार ४७६ ले अस्पतालबाट सेवा लिएका थिए । सन् २०१५ मा यो संख्या बढेको भनिए पनि यकिन तथ्यांक संकलन भइसकेको छैन ।
नेपालका

१२ वटा अस्पतालबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले तथ्यांक लिइरहेको छ । सन् २०१३ मा ती अस्पतालमा आठ हजार ७२९ नयाँ क्यान्सरका बिरामी थपिएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सर रोगथाम नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख किशोरकुमार प्रधानांगले बताए ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले नेतृत्वदायी भूमिकाका रूपमा क्यान्सर उपचार हुने अन्य अस्पताललाई समन्वय गरिरहेको छ । क्यान्सरको उपचार हुने १२ वटा अस्पतालमा तथ्यांक संकलन गरिरहेको छ भने क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम देशव्यापीरूपमा अगाडि बढाएको छ । प्रधानांगका अनुसार गत वर्ष ५७ जिल्लाका पाँच हजार स्वास्थ्यकर्मीलाई क्यान्सर रोगबारे प्रशिक्षण दिइएको छ । स्थानीय विकास अधिकारी संयोजक र जनस्वास्थ्य प्रमुख सदस्यसचिव रहने गरी ५४ जिल्लामा क्यान्सर रोकथाम नियन्त्रण जिल्ला समन्वय समिति गठन भइसकेका छन् ।

त्यस्तै, ३७ जिल्लाका एक हजार ६०० स्वास्थ्य विषय पढाउने शिक्षकलाई क्यान्सर रोकथाम र सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी तालिम दिएको उनले बताए । क्यान्सर स्क्रिनिङ कार्यक्रम, पाठेघरको मुखको क्यान्सर र स्तनको क्यान्सरसम्बन्धी जनचेतना तथा परीक्षण कार्यक्रमका साथै दुई हजार महिलालाई पाठेघरको मुखको परीक्षणसमेत गराइएको प्रधानांगले बताए । साथै आफ्नो स्तन आफँै परीक्षण गर्ने, मुखको क्यान्सर परीक्षण गर्नेजस्ता कार्यक्रम पनि अस्पतालले सञ्चालन गर्दै आएको छ ।

विगतको तथ्यांकलाई हेर्दा यहाँको क्यान्सर अस्पतालमा उपचारका लागि आएकामध्ये सबैभन्दा बढी महिलामा पाठेघरको मुखको क्यान्सरका १८ प्रतिशत, स्तन क्यान्सरका १५, फोक्सोका १० र डिम्बासयका सात प्रतिशत छन् । पुरुषमा फोक्सोका १७, आमाशयका आठ, घाँटीका ६ र पिसाब थैलीका ६ प्रतिशत विरामी रहेका छन् । (रासस)

प्रतिक्रिया