कांग्रेस क्षेत्रीय अधिवेशनमा

काठमाडौं, २१ माघ । कांग्रेसको १३औँ महाधिवेशनको तयारीका लागि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन शुक्रबार हुँदैछ ।

कांग्रेसले संविधानसभाको निर्वाचनमा कायम २ सय ४० निर्वाचन क्षेत्रअनुसार नै माघ २२ गते शुक्रबार क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा आवश्यक सामग्रीसहित निर्वाचन अधिकृत खटाइसकिएको कांग्रेसले जनाएको छ ।

बाराबाहेक अन्य अधिकांश जिल्लाका २ सय २० निर्वाचन क्षेत्रमा शुक्रबार क्षेत्रीय र महाधिवशेन प्रतिनिधिको निर्वाचन सम्पन्न हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी गराए । एक निर्वाचन क्षेत्र भएका जिल्ला र प्राविधिक कठिनाइले स्थानीय तहको निर्वाचन हुन बाँकी २० निर्वाचन क्षेत्रमा भने २५ माघमा निर्वाचन हुने उनले बताए । कांग्रेसले बारामा प्राविधिक कारणले निर्वाचन हुन नसक्ने बताएको भए पनि आन्दोलनरत मधेस केन्द्रित दलको अवरोधका कारण त्यहाँ निर्वाचन हुन नसकेको हो ।

१५ माघमा गाउँ, नगरको अधिवेशन गरेको कांग्रेसले क्षेत्रीय अधिवेशन तथा महाधिवशेन प्रतिनिधिको निर्वाचन २२ माघमा र जिल्ला अधिवेशन २५ माघमा गर्ने तालिका सार्वजनिक गरेको छ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन एकै दिन हुने संयोजक अधिकारीले बताए ।

गाउँ र नगरको निर्वाचनबाट चुनिएका क्षेत्रीय प्रतिनिधि र स्थानीय नेतृत्वले पार्टीको क्षेत्रीय र जिल्लाको नेतृत्व एवं महाधिवेशन प्रतिनिधिको चयन गर्ने केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए । महाधिवेशन प्रतिनिधिले महासमिति सदस्य र केन्द्रीय कार्यसमितिको चयन गर्ने व्यवस्था कांग्रेस विधानमा छ ।

कांग्रेसमा केन्द्रीय कार्यसमितिका ८५, २ सय ४० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले निर्वाचित हुने २ हजार ८ सय ८० र विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट चयन हुने गरी जम्मा ३ हजार २ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुने सचिव पराजुलीले जानकारी दिए । कांग्रेसमा हाल २५ जनसम्पर्क समिति, १३ भ्रातृ र १७ शुभेच्छुक संस्था छन् ।

महाधिवेशन प्रतिनिधिले केन्द्रको नेतृत्व चयन गर्ने भएकाले यतिखेर कांग्रेसमा खासगरी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता आ–आफ्ना पोल्टामा निर्वाचन परिणाम ल्याउन सक्रिय रूपमा लागेका छन् । हालसम्म नेता देउवा, उपसभापति रामचन्द्र पौडेल र नेत्री सुजाता कोइरालाले केन्द्रीय सभापतिका लागि घोषणा गरेको छन् । त्यस्तै महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरू डा रामशरण महत, अर्जुननरसिंह केसीलगायतले पनि सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।

कांग्रेसमा ३ हजार १ सस ५७ गाविस, २ सय १७ नगरपालिका र तिनका वडा, २ सय ४० निर्वाचन क्षेत्र र ७५ जिल्लामा कायम पार्टीका स्थानीय कार्य समितिका लागि प्रत्येक चार÷चार वर्षमा निर्वाचन हुन्छ । पार्टीको १३औँँ महाधिवेशनका लागि स्वीकृत कूल क्रियाशील सदस्य संख्या ४ लाख ७० हजार ६ सय ५५ कायम भएको छ । १२ औँ महाविधेशनमा ३ लाख १३ हजार ८ सय ३६ जना क्रियाशील सदस्य थिए ।

आगामी महाधिवेशन २० देखि २३ फागुनसम्म काठमाडौंमा हुँदैछ । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको १२ औँ महाधिवशेन ०६७ साल १ देखि ४ भदौसम्म काठमाडौंमै भएको थियो ।

प्रतिक्रिया