अखिलमा पार्टी गुटको असर

nabina copyकाठमाडौं, २० माघ । अनेरास्ववियुको आसन्न २२औँ राष्ट्रिय सम्मेलनमा नेतृत्वका लागि हुने प्रतिस्पर्धामा संस्थापन पक्षले अध्यक्ष, उपाध्यक्ष र महासचिवको उम्मेदवारी घोषणा गरेको छ । बुधबार अनामनगरमा आयोजित कार्यक्रममा महासचिव नविना लामाको नेतृत्वमा ४ उपाध्यक्ष र महासचिवको उम्मेदवारी घोषणा गरिएको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत समर्थन रहेको बताइएको अध्यक्षकी उम्मेदवार लामाको प्यानलबाट उपाध्यक्षमा रश्मी आचार्य, महेश बर्ताैला, सुनिता बराल र शैलेस लामा छन् । यसअघि अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै आएका ऐन महरलाई संस्थापन पक्षले महासचिवको उम्मेदवार बनाएको छ ।

कार्यक्रममा अध्यक्षकी उम्मेदवार नविना लामाले विद्यार्थी आन्दोलनका मुद्दा र कार्यभार फेरिएकाले बताउँदै आफूले सोहीअनुरूप आपूmले अखिलको नेतृत्व गर्ने बताइन् । उनले अबको विद्यार्थी आन्दोलन टायरको धुँवा उडाउने प्रयोजनका लागि नभएर राजनीतिलाई रचनात्मक दिशा दिनका लागि हुनुपर्ने बताइन् । ‘अब सधैँ सडकमा रमाउने र टायरको धुँवा उडाएर मात्रै कुनै पनि संगठन स्थापित हुन सक्दैन’ लामाले भनिन्, ‘अबको विद्यार्थी आन्दोलनले राजनीतिलाई सिर्जनात्मक र रचनात्मक दिशा दिनुपर्छ । विद्यार्थी जीवन सकिनासाथ उत्पादनका क्षेत्रमा लाग्ने शैक्षिक पद्दति बसाल्नुपर्छ ।’

महासचिवका उम्मेदवार महरले आफू उपाध्यक्ष रहेकाले अध्यक्षको दाबेदारी प्रस्तुत गरे पनि अनेरास्ववियुमा प्रारम्भिक तहदेखि महासचिव र उपाध्यक्षसम्म प्रतिस्पर्धा गरेर स्थापित भएकी नविना लामालाई समर्थन गर्दा महिला र जनजातिको पनि सम्मान हुने भएकाले महासचिवको रूपमा लामाको टीमलाई अघि बढाउने वताए । ‘म अध्यक्षमै प्रतिस्पर्धा गरौँ भन्ने उदेश्यसाथ अघि बढेको थिएँ तर संगठनमा प्रारम्भिक तहदेखि उपाध्यक्ष र महासचिवसम्म प्रतिस्पर्धा गरेर स्थापित भएकी एकजना तामाङ समुदायको महिलाको नेतृत्वमा अनेरास्ववियु चलाउनु पनि ऐतिहासिक हुने भएकाले महासचिवको भूमिकाका लागि अग्रसर भएको छु’ महरले भने, ‘यो टीमले अनेरास्ववियुको बदलिएको कार्यभार पूरा गर्न सक्छ भन्ने मलाई विश्वास छ ।’

उपाध्यक्षका उम्मेदवार बर्ताैलाले नविना लामाले नेतृत्व गरेको टीमले अनेरास्ववियुको इतिहासदेखिको विरासत बोकेको बताउँदै सम्मेलनबाट यसले अभूतपूर्व सफलता हासिल गर्ने दाबी गरे । संस्थापनका तर्फबाट सचिवमा समिक बडाल, कमला बोहोरा, आरसी लामिछानेलगायतले उम्मेदवारी दिने तय भइसकेको वताइएको छ ।

संस्थापन पक्षले औपचारिकरूपमा उम्मेदवारी घोषणा गरी भोट माग्ने कामलाई व्यवस्थित ढंगले अघि बढाइरहँदा नेता माधवकुमार नेपाल पक्ष भनेर चिनिने विद्यार्थी नेताहरू अन्योलमै रहेका छन् । नेपाल पक्षमा दीपक गौतमको मात्र अध्यक्षको दावेदारी रहेकाले सो पक्षले उपाध्यक्ष, महासचिव र सचिवहरूको उम्मेदवार मिलाउनु पर्नेछ । नेपाल पक्षबाट महासचिवमा ३ जनाले आकांक्षा देखाएका छन् । नेपाल पक्षलाई महासचिव र सचिवको उम्मेदवारी मिलाउन हम्मे भएकाले ढिलो भएको बताइन्छ । यद्यपि, सो पक्ष पनि चाँडै उम्मेदवारी घोषणा गर्न गइरहेको सचिव पदकी आकांक्षी आरती लामाले बताइन् ।

प्रतिक्रिया