ह्विलचियरसँग जोडिएका खुसीहरू

काठमाडौं । संसार घुम्ने र नयाँ ठाउँबारे जान्न चाहने ३० वर्षीय युवक विष्णु भण्डारी दुर्घटनामा परी अपांग जीवन जीउन बाध्य भए । काभ्रेका उनी नयाँ ठाउँमा घुम्ने क्रममा एक वर्षअघि भारतको नयाँ दिल्लीमा रहेका एक साथीको घरमा बस्दा तीन तलाको भ¥याङबाट एकैपटक खस्न पुगे ।

उनले भने, ‘गर्मीको बेला थियो । हामी सबै तेस्रो तल्लामा बाहिर कौसीमा सुतेका थियौँ । राती मलाई ट्वाइलेट जान मन लागेकाले निस्कन खोज्दा एकैपटक झरेँ । त्यसपछि साथीहरू नै हस्पिटल पु¥याए । त्यतिबेलासम्म मैले मेरा खुट्टा छन् भन्ने नै अनुभव गर्न छाडिसकेको थिएँ ।’

‘संसार भ्रमण गर्न सक्छु जस्तो लाग्थ्यो,’ घटना सम्झँदै उनले भने, ‘खुट्टा ठीक हुँदासम्म मैले नेपाल र भारतको धेरै ठाउँ घुमिसकेको थिएँ । अझै कति ठाउँ घुम्ने योजना थियो तर त्यो अब कहिल्यै पूरा हुन नसक्ने भयो ।’ अहिले उनी जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्र, अपांग अस्पतालमा रहेको आवासगृहमा बस्छन् । सोमबार एक कार्यक्रममा ‘बोधिसत्व इन एक्सन’ नामक संस्थाले प्रदान गरेको ह्विलचियर पाएपछि उनले भने, ‘अब त यही ह्विलचियर नै जीवनको साथी भएको छ ।’ हाल उनी त्यही आवासगृहमा रहेर विभिन्न सीपमूलक तालिम लिइरहेका छन् । हस्तकलासम्बन्धी तालिममा आफूलाई सहभागी गराइरहेका विष्णुले सरकारले अपांगता भएकालाई गरेको सहयोग अपुग भएको गुनासो गरे ।

त्यही कार्यक्रममा नयाँ ह्विलचियर पाउँदा निकै खुसी देखिन्थिन् रुकुमकी २० वर्षीया धनमाया बूढामगर । २०६७ मा आफ्नै घरको बारीमा रहेको अम्बाको रुखमा अम्बा टिप्ने क्रममा लड्दा उनको दुबै खुट्टाले काम गर्न छाडेको थियो । उनलाई तत्काल स्थानीय अस्पताल र त्यसपछि काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ ल्याइए पनि उनको खुट्टा भने कहिल्यै ठीक भएन । उनी त्यतिबेला कक्षा १० मा पढ्दै थिइन् । धनमायाले भनिन्, ‘खुट्टा त्यस्तो भएपछि पढ्न पनि मन लागेन । गाउँमा खुट्टा नभएपछि स्कुल जान पनि गाह्रो हुन्थ्यो । गाउँको ठाउँमा उकालो÷ओरालो हुन्थ्यो । त्यसैले त्यहाँ ह्विलचियर भए पनि काम लागेन ।’ त्यसपछि उनको अध्ययनले त्यही पूर्णविराम पायो ।

अहिले तिनी काठमाडौँमा ६ महिनादेखि जोरपाटीस्थित आवासगृहमा नै बसिरहेकी छिन् । तिनले पनि सोमबार ह्विलचियर पाएपछि निकै खुसी लागेको प्रतिक्रिया दिइन् । गत १२ वैशाख भन्दाअघि सबलांग जीवन बिताइरहेका सोलुखुम्बुका ३१ वर्षीय सूर्यबहादुर बस्नेत भूकम्पमा परी अपांग बन्न पुगे । भूकम्पले सबैभन्दा बढी असर पारेको काठमाडौंको साँखुमा उनी एक चिल्ड्रेन होममा कार्यरत थिए ।

भूकम्पका बेला उनी त्यही चिल्ड्रेन होममा बसिरहेका थिए । भूकम्पका बेला शौचालयमा रहेका उनी आत्तिएर बाहिर निस्कने क्रममा साबुनमा चिप्लिएर लडे । त्यसपछि के भयो उनलाई थाहा छैन । जब उनको होस खुल्यो त्यतिबेलासम्म उनी सबलांगबाट अपांग बनिसकेका थिए ।

‘१२ गते सम्झँदा अहिले पनि दुःख हुन्छ तर आज ह्विलचियर पाएको दिन नयाँ जीवन पाएको जस्तै भएको छ,’ – उनले भने । जोरपाटीस्थित उक्त अर्थोपेडिक अस्पतालमा उपचारका साथै आवासगृहमा बसी उनी पनि अरू जस्तै सीपमूलक तालिम लिइरहेका छन् ।

दसैँ जस्तो खुसी मनाउने पर्वकै बेला खुट्टा गुमाउन पुगेकी गुल्मीकी १९ वर्षीया झरना घिमिरेलाई नयाँ ह्विलचियर पाएपछि नयाँ ह्विलचियर नै नयाँ खुट्टा जस्तो लागेको छ । भविष्यमा मूर्तिकार बन्ने लक्ष्य लिएकी झरनाले अहिले मूर्तिकलाको तालिमलाई निरन्तरता दिइरहेकी छिन् । तर, कहिलेकाँही उनलाई आफू अपांग हुँदाको त्यो क्षण पनि याद आउँदो रहेछ । चारजना साथी दसँैमा घर पोत्न रातो माटो लिन जाँदा ढिस्कोले पुरिएका थिए । दुईजना ढिस्कोभित्रै परे । एक जना खुट्टाको उपचार गराएपछि ठीक भए तर उनलाई सधैँको लागि ह्विलचियरको सहारा चाहियो ।

कक्षा ११ मा पढ्दै गर्दाको त्यो घटनाका कारण उनी २ वर्षसम्म केही गर्न सकिनन् । अहिले भने कक्षा १२ मा पुनः भर्ना भएर उनी आफ्नो अध्ययनलाई निरन्तरता दिइरहेकी छिन् । खेलकुदमा समेत निकै रुचि राख्ने झरना अहिले पनि बास्केट बल खेल्छिन् । नयाँ ह्विलचियरले उनलाई बास्केट बल खेल्न निकै मद्दत गर्ने भएर पनि उनी दंग छिन् ।

०६८ को जनगणनाअनुसार मुुलुकभर अपांगता भएकाको जनसंख्या १ दशमलव ९४ प्रतिशत रहेको छ । (रासस)

प्रतिक्रिया