भरी सिलन्डर बेच्न अझै रोक

काठमाडौं, १९ माघ । सरकारले ‘आधा सिलन्डर ग्यास भरेर बेच्ने’ निर्णय उल्टाउने उद्योगीहरूको प्रस्ताव अस्वीकार गरेको छ । ग्यास उद्योगीहरूले आयात बढेकाले सामान्य अवस्थाको जस्तै भरी सिलिन्डर बेच्ने व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । तर, मंगलबार आपूर्ति मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले तत्काल भरी सिलिन्डर बेच्ने अनुमति दिन नसकिने निश्कर्ष निकालेको आपूर्ति मन्त्रालयका सहसचिव दीपक सुवेदीले बताए ।

आयल निगम र सरकारी अधिकारीले भने अहिले नै त्यसो गर्दा ग्यासको अभाव झनै चर्किने बताएका छन् । ‘नागरिकले सहजरूपमा ग्यास पाउँछन् भन्ने बस्तुनिष्ट आधारविना निर्णय नउल्टाउने सहमति भएको छ’ बैठकपछि सहसचिव दीपक भने, ‘२४ गते बस्ने बैठकमा उद्योगी–व्यवसायीले भरी सिलिन्डरमा जाँदा नागरिकले सहज रूपमा ग्यास पाउने आधारहरू प्रस्तुत गरेमा पूनर्विचार गरिनेछ ।’

ग्यासको वितरण सहज बनाउन भन्दै सरकारले गत कात्तिकमा आधा सिलिन्डर (७ दशमलव १ किलो) ग्यास बेच्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय वीरगञ्ज बाहेकका नाकामा केही सहज भएसँगै केही ग्यास उद्योगले गएको ११ गतेदेखि नै स्वेच्छिक रूपमा भरी सिलिन्डर ग्यास बजार ल्याएका छन् ।

ग्यास उद्योगीहरूले आधा भरिएका सिलिन्डर बजारमा ल्याउँदा दोहोरो ढुवानी लागत परेको गुनासो गर्दै आएका छन् । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले पछिल्ला दिनमा ५० प्रतिशतसम्म ग्यास भित्रिन थालेकाले पूर्ण तौलको सिलिन्डर बजारमा ल्याउनुपर्ने बताए ।

व्यवसायीको दबाबपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले नेपाल आयल निगमलाई पत्र लेखेर आधा सिलिन्डरबाट पूरा तौलको सिलिन्डरमा जानुपर्नेबारे राय मागेको थियो । तर, आयल निगमले त्यसमा असहमति जनाउँदै आधा सिलिन्डर ग्यास बेच्ने निर्णयलाई निरन्तरता दिनुपर्ने बताएको छ ।

प्रतिक्रिया