बढ्दो साइबर अपराध

cyber copyकाठमाडौं, १८ माघ । नेपालमा साइबर अपराध दिनप्रतिदिन बढ्दै गएको विज्ञहरूले बताएका छन् । सूचना प्रविधिको विकास र विस्तारसँगै यसको दुरुपयोग पनि दिनानुदिन बढ्दै गएको तथ्यांकले देखाएको हो ।

नेपालको सूचना, सञ्चार तथा प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्यान महासंघले आयोजना गरेको १६आँै आइसिटी कन्फेरेन्समा विज्ञहरूले साइबर अपराध दिनानुदिन बढ्दै गएको तथ्यांक प्रस्तुत गरेका हुन् ।

उनीहरूले नेपालमा साइबर कानुनको अभावमा क्राइमको स्थिती ह्वात्तै बढेको र यसलाई चाँडै नियन्त्रण नगरे समाजमा ठूलो असर पर्न सक्ने चुनौती दिएका छन् । उनीहरूले यसलाई रोक्न पर्याप्त कानुन र सरकारले नियन्त्रण गर्न सुझाव दिएका छन् । उनीहरूले प्रविधिलाई सदुपयोग गर्न आग्रह गरेका छन् । कार्यक्रममा नेपाल प्रहरीका डिएसपी चन्द्र धामीले नेपालमा साइबर अपराध दिन दुईगुना रात चौगुनाका दरले बढिरहेको बताएका छन् । उनले नेपालमा साइबर अपराध बढ्नुमा पर्याप्त कानुन नभएको र भए पनि कार्यान्वयन पक्ष फितलो भएको बताए । उनले सबैभन्दा बढी साइबर क्राइम फेसबुक र मोबाइलबाट हुने गरेको तथ्यांक प्रस्तुत गरे ।

उनले विशेष गरी ह्याकरहरूले सेक्सको प्रचारप्रसार सामग्री राख्ने, प्रोनोग्राफी र अनलाइन सेक्सको व्यापार गर्ने, सामाजिक सञ्जाल फेसबुकर, ट्विटरमार्फत व्यक्तिलाई फसाएर आक्रमणको निसाना बनाउने गरेको बताए । यस्तै अनलाइनमा पैसा साट्ने नाममा तथा व्यवस्थापन मिलाइदिने बहानामा ह्याकरहरूले साइबर अपराध गर्ने गरको उनको कथन छ ।

यस्तै टेक्नोलोजी सहसंस्थापक तथा आइटी सेक्युरिटी रिसर्चर विजय लिम्बू सेनिहाङले साइबर अपराधको नयाँ धार देखापरेको बताए । उनका अनुसार नेपालमा विशेष गरी वेबसाइटहरू ह्याकरको निसानामा उच्चपदस्थ व्यक्तिको साइट, बैंक एटिम, फाइनान्स, सफ्टवेयर, इन्फरमेसन टेक्नोलोजी र मिडिया तथा इन्टरटेनमेन्टका साइटहरू आदि पर्ने गरेका छन् । उनले साइबर सेक्युरिटीबारे आफ्नो कार्यपत्र पेस गर्दै यो वर्ष मात्रै नेपालका करिब १ हजार वेबसाइटहरू ह्याक भएको बताए जसमा ४ सय ६ वटा डटकम डटएनपी डोमेन, २ सय ३८ वटा इडियू डटकम डटएनपी डोमेन, १ सय ६२ वटा डटओआरजी डटएनपी डोमेन र १ सय ५१ वटा डट जिओभी डटएनपी डोमेनहरू ह्याक भएका छन् ।

नेपालमा वेबसाइटहरू प्रत्येक दिन ह्याकरको निसानामा पर्ने गरेको भन्दै उनले यसका लागि साइबर थ्रेटबाट जोगिन इन्टेलिजेन्सको जरुरी भएको बताए । माघ १९ गते सञ्चालन हुने आइसिटी कन्फेरेन्समा ‘साइबर सेक्युरीटी’ विषयमा बहस र छलफल हुने कन्फेरेन्सका सदस्य रोमकान्त पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया