पोखरी बचाउने अभियान

Purna copy

जलवायु परिवर्तनको कारण प्राकृतिक जलाशयहरू लोप हुनेक्रम तीव्र भएकोमा विश्वव्यापी चिन्ता र चासो बढिरहेको बेला सर्वसाधारण वासिन्दाहरू स्थानीय सानातिना प्राकृतिक जलाशयहरू बचाउने अभियानमा जुटेका छन् ।

भोजपुर जिल्लाको तिम्मा, दोभाने, किमालुङ र खोटाङ जिल्लाको फेदी गाविसबीचमा पर्ने लेकाली जंगल र चरणक्षेत्र मैयूँ आसपासमा कयौँ सानातिना पोखरी थिए तर पत्कर र भलमाटोले पुरिएर अधिकांश लोप भइसकेको थिए । हात्तीमारे र नयाँखर्क सामुदायिकवन उपभोक्ता समूहको नेतृत्व र तिम्मा–३ पाङखाङ र सावाका वासिन्दाहरू ती पोखरीहरू पुनर्जीवित गर्ने अभियानमा जुटेका छन् । जिल्लाको प्रखुख जलप्रवाह पिखुवाको मुख्य जलाधार क्षेत्रको केही पोखरी पुरानो अवस्थामा ल्याइएको छ भने केही सुरुआत गरिएको छ ।

Pokhari copyफुटबल मैदानबाट पोखरी
हाँस पाखरी मैयुँ क्षेत्रको सबैभन्दा ठूलो पोखरी हो । स्थानीय किराती भाषामा वाचाकुङ अर्थात नुहाउने पोखरी भनिने हाँसपोखरी कुनै बेलापोखरी थियो भन्ने अवशेष मात्रै बचेको अवस्था थियो । नाम पोखरी भए पनि दक्षिण छेउमा अलिकति दलदल मात्रै बचेको थियो भने बाँकी भाग सुख्खा थियो । त्यहाँ स्थानीय गोठालाहरू फुटबल खेल्थे । हरेक नयाँ वर्षमा फुटबल प्रतियोगिता हुन्थ्यो, जसमा गोठाला मात्रै नभएर तल गाउँतिरबाट समेत युवायुवतीहरू फुटबल खेलेर रमाइलो गर्न आउँथे ।

सामुदायिक वन समूहहरू गठन गर्ने लहर आएपछि त्यस भेगमा तीनवटा सामुदायिक वन उपभोक्ता समूह गठन भए । भोजपुर जिल्लाको तिम्मा र दोभाने र खोटाङ जिल्लाको फेदीगाविस क्षेत्रको मैयुँ सामुदायिक वन, तिम्मा गाविसका ३ र ६ नं वडाको हात्तीमारे र तिम्मा–३ का वासिन्दा संलग्न नयाँखर्क सामुदायिक वन उपभोक्ता समूहहरू त्यस भेगमा गठन भए । लगभग लोप भइसकेको हाँस पोखरी नयाँखर्क समूहमा प¥यो । तर, त्यस भेगको सबैभन्दा ठूलो जलाशय बन्न सक्ने र त्यसो भएमा सबैले यसको लाभ लिन सक्ने भएको कारण हात्तीमारे र नयाँखर्क समूहहरू यसको पुनर्जीवन र संरक्षणमा जुटे । उपभोक्ताहरू विनापारिश्रामिक महिनौँसम्म खटेर सरसफाई, भल निकास र केही बाँध निर्माण गरियो । यसबाट प्रभावित भएपछि जिल्ला विकास समिति भोजपुरले ५ लाख रुपैयाँ अनुदान दियो । जसबाट दक्षिणपट्टी ५० मिटर लामो बाँध निर्माण गरेपछि फुटबल मैदान बिस्तारै पोखरीमा परिणत भयो । अहिले करिब सय रोपनीभन्दा बढी क्षेत्रफल पानीले ढाकेको छ । त्यसको वरिपरिको सौन्दर्यमा निखार ल्याउन धुँपीका २ सय विरुवा चक्राकारमा वरिपरि रोपिएको छ ।

पोखरी निर्माणले त्यस भेगको प्राकृतिक सौन्दर्य वृद्धि हुनुका साथै जैविक विविधता तथा पर्यावरणलाई समेत टेवा पु¥याएको छ । जंगली हाँसका विभिन्न प्रजातिहरूले पोखरीलाई स्थायी वासस्थान बनाएका छन् । वरिपरि नयाँखाले चराचुरुंगी, पुतलीहरू र जलचरहरू देखिन थालेको स्थानीयहरू बताउँछन् । तर, चोरी सिकारी पनि उत्तिकै बढ्न थालेको छ ।

सांस्कृतिक स्थलको पुनरावृत्ति

भनिन्थ्यो, भूवनपोखरीमा उहिले ठूलो मेला लाग्थ्यो । मानिसहरू टाढा टाढाबाट वरदान माग्न आउँथे । विशेष गरेर धामीझाँक्री र जुहारी जम्दथे । बुढापाकाहरू कुरा गर्थे तर, युवा पिढीलाई थाह थिएन यो कहाँ पर्छ, कस्तो छ भनेर । बूढापाकाहरूको भनाइको आधारमा खोजी गर्दा हाँस पोखरीबाट १ घन्टा पैदल दुरी पश्चिममा झाडी र पत्करले पुरिएर करिब नामेट हुने अवस्थामा भूवनपोखरी भेटियो । मक्कीसकेका केरी त्रिशूल र घन्टी भेटिएपछि त्यही हो भूवनपोखरी भन्ने निक्र्यौल भयो ।

त्यसपछि सप्तकन्या प्रावि पाङखाङका तत्कालीन प्रअ हेमचन्द्र राईको नेतृत्वमा भूवनपोखरीलाई जीवन्त पार्ने काम सुरु भयो । एक हप्तासम्म गाउलेहरू दैनिक ३ घन्टा उकालो हिँडेर श्रमदान गर्न आए पोखरी ढाकेको झाडी फाँडन र त्यसमाथिका पत्कर र लेदो सोहर्न, भल कटाउने कुलेसो बनाउन । सरकारी तथा गैरसरकारी दाताबाट कुनै पनि किसिमका सहयोग नलिइकन भौतिक काम भयो ।

करिब सय मीटर लम्बाइ र २० मीटर चौडाइको लाम्चो आकारको भूवनपोखरी सरसफाइ सम्पन्न भएपछि पुरानो धार्मिक सांस्कृतिक मेलालाई पुनर्जीवित गर्ने निर्णय भयो । अहिले वर्षमा दुईपटक भदौरे पूर्णिमा र कात्तिके पूर्णिमाको दिन त्यहाँ भव्य मेला लाग्छ । भोजपुर र खोटाङ जिल्लाको ठीक बीचमा पर्ने भएकोले यहाँ लाग्ने सांस्कृतिक मेला २ जिल्लाका मानिसहरूको विशेष भिड लाग्ने गर्छ । परम्परागत धामीझाक्री र त्यस भेगको आञ्चलिक लोक जुहारी भाकाको जीवन्त अनुभूति पाउन सकिन्छ, भूवनपोखरी मेलामा ।

निरन्तर संरक्षण

हात्तीमारे सामुदायिक वनका उपभोक्ताहरू अर्को पोखरीको पुनर्निर्माणमा लागेका छन । हाँसपोखरी र भूवनपोखरीको बीचमा अवस्थित रातो पोखरीमा सामान्यतया वर्षमा मात्रै पानी हुन्छ । अब हिउँदमा पनि पानी अड्याउने उद्देश्यले काम सुरु भएको छ । यसकामका लागि श्रमदान गर्न महिनामा एकपटक आप्mनो पालो अनुसार वनका उपभोक्ताहरू आउँछन् । ५० मिटर लामो पोखरी निर्माण गर्ने सिलसिलामा भित्रको लेदोमाटोलाई प्mयाल्ने काम भइरहेको छ । यो काम सम्पन्न भइसकेपछि पनि स्थानीयबासिन्दाहरू थाक्ने छैनन् । उनीहरूको सूचीमा अरू त्यस्तै लोपोन्मुख अवस्थामा पोखरीहरू छन् । हाँसपोखरीभन्दा अलि तलको कालीपोखरी, तिम्मा र दोभाने बीचमा रहेको ताराखसे, त्यस पश्चिमका छाप्मावा र जलजले अबका सूचीमा छन् ।

भर्खरै सार्वजनिक एक सर्वेक्षणअनुसार पूर्वाञ्चलका १ हजार ९ सय साना जलाशयहरू मध्ये ३० वर्षको अवधिमा करिब ८५ प्रतिशत लोप भइसकेका छन् । बाँचेका १५ प्रतिशत अर्थात करिब ३ सय पनि लोपोन्मुख अवस्थामा छन् । असन्तुलित वर्षाको कारण उत्पन्न भूक्षय र मानव अतिक्रमणलाई यसको कारण मानिएको छ ।

विश्वव्यापी तापमान वृद्धिको कारण अत्यधिक वाष्पीकरणले त्यस्ता साना जलाशयहरूको भविष्य जोखिममा पार्ने गरेको छ । यसलाई मानिसले सघाइरहेको छ । र त्यसबाट बचाउने पहिलो कर्ता पनि निसन्देह मानिस नै हो । अर्काको मुख ताक्ने प्रवृत्ति जो छ, यसले मानिसका अगाडि बढ्ने बाटाहरू पनि थुन्छ । उल्लिखित पोखरीका अभियान्ताहरू अपवाद हुन् ।
[email protected]

प्रतिक्रिया