डब्लुटिएफ अध्यक्ष डा. चोसहितको टोली काठमाडौंमा

काठमाडौं । विश्व तेक्वान्दो महासंघका अध्यक्ष डा. छुङवोन चोको नेतृत्वमा २८ सदस्यीय तेक्वान्दो टोली शुक्रबार नेपाल आएको छ । चोसहित अफ्रिकन तेक्वान्दो युनियनका अध्यक्ष अहमद एलफोली, युरोपियन तेक्वान्दो युनियनका अध्यक्ष अत्हाना सियोस प्रागालोस, ओसिएना तेक्वान्दो युनियनका अध्यक्ष जोन कोत्सिफास, एसियाली तेक्वान्दो युनियनका अध्यक्ष क्यु सियोक लि, तेक्वान्दो महासंघका डाइरेक्टर जेनरल रोजर पियारुली, तेक्वान्दो महासंघका सल्लाहकार चाङसिन चोइसहितको टोली नेपाल आएको हो । उक्त टोलीले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई राहत वितरण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै पोखरामा हाइअल्टिच्युटमा हुने पुम्से प्रतियोगिताको स्थलगत निरीक्षण पनि गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ । त्यस्तै उनीहरूले राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ महानुभावहरूसँग भेट गर्ने कार्यक्रमसमेत रहेको छ ।

तेक्वान्दोको यत्तिको विशिष्ट महानुभावहरू सम्मिलित टोलीले यसअघि कुनै पनि राष्ट्रको भ्रमण गरेको थिएन । टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशमशेर राणा र संघका महासचिव दीपराज गुरुङले स्वागत गरे । अध्यक्ष छोलाई स्वागत गर्न तेक्वान्दो संघका पदाधिकारी तथा सदस्य, वरिष्ठ प्रशिक्षक, प्रशिक्षक, खेलाडी तथा तेक्वान्दोका विभिन्न निकायका व्यक्तिहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । (सौस)

प्रतिक्रिया