‘युवासंघ जिउँदो संगठन’

काठमाडौं, २१ पुस । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघको सक्रियताका कारण एमालेको साख जोगिएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा युवा संघ नेपालका पदाधिकारीहरूले विभिन्न विषयमा तयार गरेको प्रतिवेदन बुझदै ओलीले युवा संघलाई एमालेको ‘जिउँदो संगठन’को संज्ञा दिए । संघका अध्यक्ष राजीव पहारीले कात्तिकमा संगठनको पुनर्गठनपछि भएका संगठनिक प्रगति ओलीलाई बुझाएका हुन् ।

अध्यक्ष पहारीले २९ मंसिरदेखि सुरु भएर ११ पुसमा सकिएको युवा संघ नेपालको जागरण अभियानबारे पनि जानकारी गराएका छन् । सो अभियानमा प्राप्त सुझावका आधारमा संघले सरकारलाई विभिन्न सिफारिससमेत गरेको छ ।

प्रम ओलीलाई बुझाइएको प्रतिवेदनमा नेपाल सरकारका केही कर्मचारीहरू मधेसी मोर्चाको आन्दोलनमा जाने तर, कार्यालय नजाने गरेको, राजश्व कार्यालयहरू जस्तै भन्सार, नापी, मालपोत पूर्णरूपमा बन्द भएको, मोर्चा बाहेकका राजनीतिक पार्टीको सक्रियता शुन्य प्रायः रहेको र तत्काल एमालेले पार्टी कमिटीसहित सबै जनवर्गीय कमिटीहरू परिचालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी प्रतिवेदनमा तस्करी र कालोबजारी नियन्त्रण गर्न राज्यका अंगहरूलाई सक्रिय रूपमा परिचालन गनुपर्ने उल्लेख छ । जारी संविधानका विषयमा मधेसमा भएका मिडियाहरूमाफर्त ब्यापक प्रचारप्रसार गर्न पनि सरकारलाई सुझाइएको छ । मधेसका विषयमा अभिव्यक्ति दिँदा नेताहरूले शब्द चयनमा ध्यान दिनुपर्ने र मधेसका जायज माग संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्ने उल्लेख छ । युवा संघले तराई–मधेसलाई आधार मानेर विशेष आर्थिक कार्यक्रम सञ्चालन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

प्रतिवेदन बझ्दै प्रधानमन्त्री ओलीले युवा संघका माग र सुझावप्रति आफू सकारात्मक भएको बताए ।

प्रतिक्रिया