सोलार अनुदानबारे जानकारी दिन प्रदर्शनी

anchoringकाठमाडौं, १४ पुस । सरकारले सोलार जडानका लागि उपलव्ध गराउने अनुदान तथा अन्य वैकल्पिक ऊर्जाको विषयमा जानकारी गराउन काठमाडौंमा प्रदर्शनी मेला हुने भएको छ ।

देशले चर्को ऊर्जा संकट भोगिरहेको समयमा नेपाल सरकार, जनसंख्या तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आगामी पुस १७ गतेदेखि ‘नवीकरणीय ऊर्जा प्रदर्शनी २०७२’ को आयोजना गर्ने भएको छ । ‘ऊर्जा सुरक्षाको लागि नवीकरणीय ऊर्जा !’ भन्ने मूल सन्देशको साथ मनाउन लागिएको तीन दिने यस अभियान पुस १९ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

सोलार, सुधारिएको चुलो, वायोग्यास, लघुजलविद्युत, वायुऊर्जा आदिको प्रदर्शनी, तथा नवीकरणीय ऊर्जासम्बन्धी प्रयोगहरू प्रदर्शनीमा देखाइनेछ । प्रदर्शनीमा हालै नेपाल सरकारले सुरु गरेको सहरी क्षेत्रमा अनुदान र सुलभ कर्जासहितको सौर्य ऊर्जा प्रणाली, फोहोरमैलाबाट ऊर्जा उत्पादन र घरायसी ग्यासिफायर जस्ता नवीवतम प्रविधि र जडान प्रक्रियाको बारेमा समेत जान्न सकिनेछ ।

विद्यमान ऊर्जा संकटलाई सम्बोधन गर्न र दुर्गम क्षेत्रहरूमा प्रविधिको पहुँचमा वृद्धि गर्न नवीकरणीय ऊर्जा प्रविधिहरूको प्रयोगमा व्यापकता ल्याउन सर्वसाधारण जनताहरूलाई जानकारी गराउने तथा नवीकरणीय ऊर्जासम्बन्धी प्रविधिहरूको प्रचार प्रसार गर्ने, यस क्षेत्रमा निजी क्षेत्र र वित्तीय संघ संस्थाहरूकोे सक्रिय सभागिता र लगानीको लागि अनुकुल वातावरण सृजना गर्ने उद्देश्यका साथ यस प्रदर्शनी मनाउन लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १७ गते दिनको १ बजे समारोहको उदघाटन गर्ने कार्यक्रम रहेको वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले जनाएको छ ।

समारोहमा माननीय जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा तथा अन्य संघसंस्थाका विभिन्न मान्यजनहरूको समेत सहभागिता हुनेछ । उदघाटन सत्रपछि प्रधानमन्त्रीले प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म भृवmुटीमण्डपमा सञ्चालन हुने यस कार्यक्रममा सोलार, लघुजलविद्युत, जैविक ऊर्जा, वायो ग्यास, वायु ऊर्जा जस्ता प्रविधिका साथै वित्तीय संघसंस्था, प्रविधिहरूमा अनुसन्धानरत निकाय गरी १ सय २५ स्टल राखिनेछन् ।

साथै प्रदर्शनीमा नेपाल सरकारको नवीकरणीय ऊर्जासम्बन्धी नीति, विभिन्न विश्वविद्यालयद्वारा नवीकरणीय ऊर्जा सम्बन्धित गरिएको अध्ययन अनुसन्धान, नवीकरणीय ऊर्जा प्रविधिमा कार्य गरिरहेका कम्पनी, यस क्षेत्रमा कार्यरत विभिन्न गैर सरकारी, अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरू र अन्य सरोकारवालाहरू बारे जानकारी लिनदिन सकिनेछ । विभिन्न कम्पनीहरूले आपूmले उत्पादन तथा आयात गरेका नवीकरणीय ऊर्जा प्रविधिसँग सम्बन्धित उपकरण तथा सामानहरू सुलभ मूल्यमा बिक्रीसमेत गर्ने छन् । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

नेपालको सहरी क्षेत्रका वासिन्दाहरूले हाल दैनिक ११ घन्टाको लोडसेडिङको सामना गरिरहनुपरेको छ । यसले दैनिक घरेलु कार्यदेखि औद्योगिक उत्पादनका कार्यहरू समेत प्रभावित हुँदा समग्र देशको अर्थतन्त्रमा नकरात्मक असर पारेको छ । अर्कोतर्फ लघु तथा साना जलविद्युत, सौर्य ऊर्जा जस्ता प्रविधिहरूको पहुंच पुगेका ग्रामिण क्षेत्रहरूमा चौविसै घन्टा विद्युत् सेवा उपलव्ध भइरहेको छ ।

गाउँघरमा लघु तथा साना जलविद्युत, सौर्य ऊर्जा, बायोग्यास, सुधारिएको चूलो जस्ता नवीकरणीय ऊर्जाका प्रविधिहरू शहरको तुलनामा धेरै प्रयोग भइरहेता पनि त्यो पर्याप्त भने छैन । नवीकरणीय ऊर्जालाई ऊर्जाकै प्रमुख स्रोतको रूपमा विकसित गर्न अझ सकिएको छैन । सरकार तथा अन्य वित्तीय संस्थाहरूले पनि साना तथा मझौला जलविद्युत आयोजनामा मात्र ध्यान केन्द्रित गरेको पाईन्छ । यस अवस्थामा मनाउन लागिएको यस प्रदर्शनीमा विभिन्न तह र समूहका मानिसहरूको उल्लेखनीय सहभागिता रहने र नवीकरणीय ऊर्जाको बारेमा थप सकारात्मक धारणा विकास हुने विश्वास केन्द्रले लिएको छ ।

साथै ठूला परियोजनाहरू आर्थिक हिसाबले पनि संभव हुदैनन् । तसर्थ नवीकरणीय ऊर्जा प्रविधिको विकास नै राम्रो विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई सबै सामु पु¥याउन समेत यो प्रदर्शनी मनाउन लागिएको केन्द्रले जनाएको छ ।

हालसम्म नेपालले नेपाल सरकार र विभिन्न विकास साझेदारीहरूको सयुक्त सहयोगमा संचालित विभिन्न कार्यक्रमहरू मर्फत लघु जलविद्युतबाट करिब २६ मेगावाट विद्युत् उत्पादन गरेको छ भने झण्डै ३ लाख ५० हजार वायोग्यास प्लान्ट, करिब ७ लाख सौर्य विद्युत् प्रणाली र करिब १२ लाख सुधारिएको चुलो निर्माण गरिसकेको छ । साथै यो क्षेत्रमा विभिन्न राष्ट्रिय क्षेत्रीय तथा स्थानीय स्तरमा कार्यरत सरकारी, गैर सरकारी, नीजि र वित्तीय संस्थाहरूका बीचमा सवल सहकार्यको वातावरणसमेत निर्माण भएको छ । फलस्वरूप नवीकरणीय ऊर्जा प्रविधिहरू मार्फत् देशका करिव ३० लाखभन्दा बढी घरधुरी लाभान्वित भइसकेका छन् ।

प्रतिक्रिया