गार्मेन्ट निर्यातमा जोड दिन प्रधानमन्त्रीको आग्रह

garment copyकाठमाडौं, १३ पुस । गार्मेन्ट निर्यातको लागि जोड दिन प्रधानमन्त्रीले आग्रह गरेका छन् । नेपालमा उत्पादित कपडाको निर्यातमा भन्सार छुट दिने अमेरिका सरकारको निर्णयको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । उद्योगी व्यवसायीको जम्बो टोलीसँग बिहान भएको भेटवार्तामा प्रधानमन्त्रीले अमेरिका निर्यात गर्ने कपडा र गार्मेन्टको उत्पादन बढाउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र च्याम्बर अफ कमर्समा आवद्ध उद्योगी व्यवसायीलाई बोलाएर यस विषयमा छलफल गरेका हुन् । भेटवार्तामा करिब ७० जना उद्योगी व्यवसायीको सहभागिता रहेको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले लामो समयदेखि तराइमा भएको आन्दोलनका कारण बन्द उद्योगहरू खुलाउन सरकारले विशेष पहल गर्ने आश्वासन दिएका छन् । ‘लामो समयदेखि उद्योगधन्दा बन्द हुँदा देशको अर्थतन्त्र ध्वस्त भएको छ । उद्योग खुलाउन सरकारले विशेष योजना छिट्टै ल्याउँछ’ ओलीले भने, ‘यसमा उद्योगी व्यावसायीले पनि दृढतापूर्वक सरकारलाई साथ दिनुपर्छ ।’

आफ्नो उत्पादनलाई विश्व बजारमा प्रतिष्पर्धा गराउन उत्पादनको गुणस्तर र मूल्यमा ध्यान दिन व्यवसायीहरूलाई प्रधानमन्त्रीले आग्रह गरे । कृषि र उद्योगलाई समायोजन हुने गरी उद्योग सञ्चालन गर्न पनि उनको आग्रह छ ।

‘कपास रोप्नेदेखि गलैँचा बुन्नेसम्मका काम स्वदेशमै भए भने कृषि र उद्योग एकीकृत रूपमा अगाडि बढ्छन् । जब कच्चा पदार्थ आपैmँसँग हुन्छ त्यस्ता उद्योगले लामो समयसम्म उत्पादन दिन पनि सक्छन् । आत्मनिर्भर पनि हुन्छन् ।’ प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा महासंघका अध्यक्ष पशुपति मुरारका, उद्योग परिसघंका अध्यक्ष नरेन्द्र बस्नेत, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासंघका पूर्वअध्यक्ष सुरज वैद्यलगायतले लामो समयको बन्दले उद्योग व्यवसाय चौपट भएकोले उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीसँग माग गरेका थिए ।

व्यावसायीहरूले धरान, उदयपुर, सिन्धुली सडक पुनर्निर्माण गरेर वैकल्पिक मार्ग सञ्चालन गर्न पनि प्रधानमन्त्रीसँग माग गरेका छन् ।

प्रतिक्रिया