राईको ‘एन्ड द जर्नी बिगन’ बजारमा

काठमाडौं । नेपालको सबैभन्दा प्रख्यात सांगीतिक कार्यक्रम नेपाली ताराले देशभरिबाट प्रतिभाको खोजी गर्दै आएको छ । हालै भएको कोकाकोला नेपाली ताराको तेस्रो संस्करणबाट देशले उत्कृष्ट गायकहरू पाएको छ । हजारौँ सांगीतिक प्रतिस्पर्धीहरूको खोजका लागि तत्पर रहेको नेपाली तारा–३ को यो यात्रा २०७१ भदौमा धरानबाट सुरु भई नारायणगढ, बुटवल, पोखरा, भत्तपुर हुँदै राजधानी काठमाडौं आएर समापन भएको थियो ।

देवेश राई कोकाकोला नेपाली ताराको तेस्रो संस्करणको फस्ट रनरअपको उपाधि जितेका थिए । उपाधि जिते लगत्तै उनले ६ वटा गीतहरू समावेश गरिएको ‘एन्ड द जर्नी बिगन’ एल्बम् बजारमा ल्याएका छन् । देवेश राई एक उत्कृष्ट गायक मात्र नभई उनी म्युजिक कम्पोज तथा एरेन्ज गर्न पनि उत्तिकै प्रतिभाशाली छन् भन्ने देखाएको छ । एल्बम विमोचनकार्यक्रममा सोही एल्बममा समावेश गरिएका ‘कति मीठा कति न्याना तिम्रा प्रितका वर्षातहरू’, ‘नसा लागेछ’का म्युजिक भिडियोहरू पनि विमोचन गरिएको थियो । कोकाकोला नेपाली तारा–३ का जज प्रकाश गुरुङ र मेन्टर जेम्स प्रधानको पनि उपस्थिति थियो । एल्बममा प्रख्यात गीतकारहरू सुमन पोखरेल, प्रकाश गुरुङ, रामबहादुर कने, कृष्ण कोइराला, र सीताराम सुचारुको रचना रहेको छ भने वेधनिधि पौडेल, सुरेश अधिकारीले, प्रकाश गुरुङ, गणेश रिजाल, सरन जोशी र द क्यानरी व्यान्ड गीतका कम्पोजरहरूमा रहेका छन् ।

एल्बम संयुक्त रूपमा देवेश राईको आमा देउकुमारी राई, प्रकाश गुरुङ, रञ्जित आचार्य, र जेम्स प्रधानले नेपाल संस्कृतिक संघ, डिल्ली बजारमा एउटा भव्य समारोहबीच विमोचन गरेका थिए । विमोचन कार्यक्रममा कोकाकोला नेपाली तारा–३ का अन्य प्रतिस्पर्धी पनि उपस्थित थिए । (सौस)

प्रतिक्रिया