तीन दलको साझा धारणा बन्ने

काठमाडौं, १३ पुस । मधेसको समस्या समाधान गर्न प्रमुख तीन राजनीतिक दल साझा धारणा बनाएर अगाडि बढ्न तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख तीन दलको बैठकले मुलुकलाई लामो समयसम्म अनिर्णयकोे बन्दी बनाएर राख्न नहुने निष्कर्ष निकालिएको छ ।

संविधानप्रति असन्तुष्ट रहेकाहरूबाट विगत चार महिनाभन्दा लामो समयदेखि तराई मधेस अशान्त रहेको, सोही बहानामा भारतले अघोषित नाकाबन्दी जारी राखेका कारण जनजीवन प्रभावित भएको र अर्थतन्त्र नराम्ररी प्रभावित भएको भन्दै समस्या समाधान गर्न सहमतिका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

संविधानको विषयलाई लिएर प्रकट भएको असन्तुष्टि लम्बिँदै जाँदा समग्र मुलुक नै अस्तव्यस्त भएको भन्दै तीन दलले आ–आफ्ना पार्टीमा छलफल गरेर समस्याको शीघ्र समाधान गर्ने निष्कर्ष निकालिएको एमालेका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । उनले भने, ‘प्रमुख तीन दलबीच लामो छलफल भयो । छोटो निष्कर्ष निकालिएको छ । समस्या समाधान गर्ने दिशातिर नै छलफल केन्द्रित रह्यो ।’

एमाले, एमाओवादी र कांग्रेसबीच आज अरू दिनभन्दा असाध्यै सघन र समस्या समाधान गर्ने लक्ष्यका साथ छलफल भएको जानकारी दिँदै नेताहरूले एकाध दिनमै निष्कर्षमा पुगिने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री निवासको खुला चौरमा बसेको बैठकमा खुला र स्पष्ट छलफल भएको बताइएको छ । पछिल्लो दिनमा कांग्रेस, एमाओवादी र मधेसी मोर्चाका नेताबीच त्रिपक्षीय बैठक र कांग्रेस र एमाओवादीबीच भएको द्विपक्षीय बैठकका आधारमा दलहरूबीच सहमतिको वातावरण बन्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नै बैठक बोलाउनुहुने बताइए पनि शीर्ष नेताबीच समय अभावका कारण स्थगित भएको थियो । बैठकमा प्रधानमन्त्री ओली, वरिष्ठ नेता खनाल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह तथा नेताहरू डा. रामशरण महत र डा. मीनेन्द्र रिजाल सहभागी थिए ।

प्रतिक्रिया