जर्नेलको भेलामा मुलुकको चिन्ता

Nepal-Army1_993189731काठमाडौं, १३ पुस । सोमबार सैनिक मुख्यालयमा आयोजित जर्नेलहरूको विशेष सम्मेलनमा मुलुकको पछिल्लो असहज अवस्था र सुरक्षा चुनौतीबारे चिन्ता व्यक्त गरिएको छ ।

पृतनापति समन्वयात्मक बैठक–२०७२’ नाम दिइएको सो सम्मेलनमा मुख्यालयका विभागीय प्रमुखहरू तथा पृतना मुख्यालयका पृतनापतिलगायतका उच्च सैनिक अधिकारीहरू सहभागी थिए । मुलुकको वस्तुस्थिति तथा सुरक्षा अवस्थाको समीक्षा गरी थप सतर्कता र रणनीति अपनाउन सो बैठक आयोजना गरिएको बताइएको छ ।

‘देशको वर्तमान परिस्थितिप्रति नेपाली सेना पूर्णरूपमा सचेत रहेको र उत्पन्न परिस्थिति एवं नेपाल सरकारले तोकेको कुनै पनि जिम्मेवारी बहन गर्न सदैव तयार रहेको निश्कर्ष बैठकले निकालेको छ’ सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । जर्नेलहरूको सम्मेलनमा उपप्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाली सेनाले विगतदेखि हालसम्म गरेका विपद व्यवस्थापनलगायतका कार्यहरूको प्रशंसा गरेका थिए ।

देश संवेदनशील अवस्थामा रहेको बेलामा यस किसिमको समन्वयात्मक बैठक राखी विविध पक्षहरूको गहन छलफल गरेकोमा मन्त्री रावलले खुसी व्यक्त गरेका थिए । उनले राष्ट्र र जनताको सर्वोत्तम हित र सुरक्षाको लागि उत्पन्न हुनसक्ने परिस्थितिको आँकलन गरी जस्तोसुकै चुनौतिको पनि सामना गर्नसक्ने गरी तयार रहन सेनालाई निर्देशन दिएका थिए । मन्त्री रावलले नेपाली सेनालाई आधुनिकीकरण गर्दै साधन र स्रोत सम्पन्न बनाइने प्रतिवद्धता जनाएका थिए ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले अबका दिनहरूमा आन्तरिक तथा बाह्य खतराहरूलाई सम्बोधन गर्ने गरी राष्ट्रिय सुरक्षालाई एक व्यापक र फराकिलो बहुआयामिक अवधारणाको रूपमा विकास गर्दै लैजानु पर्ने बताएका थिए । उनले राष्ट्र र जनता दुवैलाई राष्ट्रिय सुरक्षाका सन्दर्भमा केन्द्रबिन्दुका रूपमा लिई नीति निर्माण गर्नुपर्ने अवस्था सृजना भएको बताएका थिए । सम्बोधनको क्रममा प्रधानसेनापति क्षत्रीले विभागीय प्रमुखहरू तथा पृतनापतिहरूलाई नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरूको अलवा हाल देशमा विकसित परिस्थितिले सृजना भएको अपरेसनल चुनौति तथा सांगठनिक सुदृढीकरणका क्षेत्रहरूमा विशेष ध्यान केन्द्रित गर्न निर्देशनसमेत दिएका थिए ।

समन्वयात्मक बैठकको क्रममा सबै पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्ने सक्ने चुनौतीहरू एवं सुझावहरूको सम्बन्धमा प्रस्तुति दिएका थिए । सो बैठकमा वर्तमान वस्तुस्थितिबाट उत्पन्न असहज परिस्थिति एवं सुरक्षा चुनौतीहरूको सम्बन्धमा गम्भीर छलफल भएको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार सो समन्वयात्मक बैठकले भूकम्पबाट क्षतीग्रस्त संरचनाको लागि अति प्रभावित जिल्लाहरूमा नेपाल सरकारले पुनर्निर्माणको लागि जिम्मेवारी दिएमा यथाशीघ्र कार्य गर्न तयार रहने निष्कर्षसमेत निकालेको छ । सो कार्यक्रममा रक्षासचिव जयमुकुन्द खनाल, जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

यस किसिमको कार्यक्रम नेपाली सेनाले प्रत्येक बर्ष नियमित रूपमा गर्दै आएको छ । समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट प्राप्त हुने रचनात्मक सुझावहरूले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पु¥याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया