सेयर नपरेको रकम खातामै फिर्ता

scoc_exchangeकाठमाडौं, १ पुस । जलविद्युत लगानी तथा विकास कम्पनीको नपरेको सेयर रकम खातामै जम्मा गरेर रकम फिर्ता गर्ने नागरिक लगानी कोषले जनाएको छ । नागरिक लगानी कोषले यसको सुरुवात थाल्ने जलविद्युत लगानी तथा विकास कम्पनीको प्रवद्र्धक नागरिक लगानी कोषले बताएको हो ।

सेयरमा आवेदन हाल्दा लाइन लाग्नुपर्ने बाध्यता छ, त्यसैगरी नपरेको सेयर रकम फिर्ता लिँदा पनि सर्वसाधारणले सास्ती ब्यहोर्नुपर्ने बाध्यता छ । यद्यपी सेयर भर्ने फारम भने आवेदकको खातामै पैसा जम्मा गरिदिने प्रयोजनको पाइन्छ । आवेदन भर्दा आवेदकले खाता भएको बैंक, खाता नं तथा शाखा कार्यालय फारममा लेख्ने गर्दछ । तर त्यति हुँदाहुँदै पनि अहिलेसम्म कुनै पनि कम्पनीले नपरेको सेयर रकम आवेदकको खातामा जम्मा गरिदिएका छैनन् । कतिपय कम्पनीहरूले ऐन प्रावधानलाई दोष लगाउने गरे पनि ऐन प्रावधानले आवेदकको खातामै रकम जम्मा गरिदिनका लागि नरोक्ने नियामक निकायको तर्क छ ।

नेपाल धितोपत्र बोर्डको ऐनमा नपरेको सेयर रकम ‘एकाउन्ट पेइ चेक’ मार्फत कम्पनीले भुक्तानी गर्नुपर्ने प्रावधान रहे पनि कम्पनीले सीधै बैंक खातामै रकम जम्मा गरिदिन सक्ने धितोपत्र बोर्डले जनाएको छ । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीका अनुसार नपरेको सेयर रकम सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिन ऐनको प्रावधान बाधक रहेको छैन । ‘धितो पत्र बोर्डले बैंकिङ प्रणालीमार्फत कारोवार व्यवस्थित गर्नलाई रोक्दैन’ गिरी भन्छन् ‘कम्पनीले आजैबाटै लगानीकर्ताको खातामा रकम जम्मा गरिदिन सक्छन् ।’

‘डिम्याट खाताबाटै कारोवार गर्ने प्रक्रिया अघि बढेको छ, क्लियरिङ हाउसमार्फत अब सम्पूर्ण समस्या हल गर्ने प्रयासमा छौँ’, गिरीले भने । यसका लागि नेप्सेसहित सम्वन्धित संस्थाहरूसित परामर्श भइरहेको उनले बताए । गिरीका अनुसार यदि क्लियरिङ हाउसमार्फत कारोवार गर्न सकेमा बाँकी रकम आवेदकले चाहेको क्षेत्रमा भुक्तानी गर्न वा आफूले चाहेको खातामा जम्मा गर्न सक्छ ।

यता शेयर विश्लेषकहरूले भने नियामक निकायले कडा प्रावधान बनाउन नसक्दा नपरेको सेयर रकम लिन लाइन लाग्नुपर्ने बाध्यात्मक अवस्था आएको बताउँछन् । शेयर विश्लेषक रविन्द्र भट्टराई भन्छन् ‘जहाँ प्राविधिक जटिलता छ, त्यो जटिलता चिर्नका लागि नियामक निकायले नै पहल गर्नुपर्छ ।’

कोषका प्रमुख व्यवस्थापक शुसिलकुमार अर्यालले स्पष्ट खाता नं. भएका केहीलाई भए पनि खातामार्फत रकम चुक्ता गर्ने तयारी भएको बताए । ‘नपरेको सेयर रकम खातामै जम्मा गर्नका लागि बलियो संयन्त्र बनाउनुपर्छ,’ अर्यालले भने ‘एउटै व्यक्तिले १० जनाको नामबाट आवेदन हाल्छ, त्यसकारण भोलि रकममा विवाद हुन गएमा जिम्मा कसले लिने ?’

परिवेशअनुसार सेयरमा लगानी नभएको रकम आवेदकको खातामै जम्मा गर्नुपर्ने प्रावधानलाई लागू गर्नुपर्ने टड्कारो आवश्यकता रहेको उनले औंल्याए । नागरिक लगानी कोषबाटै यसको सुरुवात गर्न आफू लागेको उनले बताए ।

प्रतिक्रिया