विश्व परिस्थितिबारे

Hemrajम्युनिस्ट पार्टीका राजनीतिक प्रतिवेदन या दस्तावेजहरूको प्रारम्भमै विश्व परिस्थितिबारे विश्लेषण गर्ने गरिन्छ । यसमा विश्वको राजनीतिक परिघटना, साम्राज्यवादको चरित्रबारे विश्लेषण गरिनुका साथै समाजवादी एवं कम्युनिस्टहरूको वस्तुगत र आत्मगत स्थितिको समेत समीक्षा गरिँदै आएको छ । तर, पछिल्ला दिनहरूमा हाम्रो पार्टीले विश्व साम्राज्यवाद र समाजवादका बारेमा बेवास्ता गर्न थालेको देखिन्छ । यसले गर्दा हाम्रो संघर्ष विश्व कम्युनिस्ट आन्दोलनको अंग बन्नुको साटो अन्तर्राष्ट्रिय भाइचारा शक्तिबाट हामी कट्दै गइरहेका छौँ । त्यसर्थ अब पार्टीले आगामी समाजवादी क्रान्तिको दिशा तय गरिरहँदा विश्व राजनीतिका विषयको गम्भीर संश्लेषण गर्न जरुरी छ ।

हेटौंडा महाधिवेशनमा विश्लेषण गरिएको अन्तर्राष्ट्रिय परिस्थितिमा तीव्ररूपमा फेरबदल आइरहेको छ । हामीले परम्परागतरूपमा भन्दै आएको छौं कि अहिलेको युग भनेको लेनिनको युग हो र अहिले विश्वमा साम्राज्यवादसँग सर्वहारा क्रान्ति एवं उत्पीडित राष्ट्रवीचको अन्तरविरोध नै मुख्य अन्तरविरोध रही आएको छ । यदि यो विश्लेषण नै आजको सही विश्लेषण हो भने अमेरिकी साम्राज्यवादसँगको हाम्रो अहिलेको स्थिति के हो ? पश्चिमा साम्राज्यवादसँग इस्लामिक स्टेटले इराक, सिरियालगायतका देशमा गरिरहेको हिंसात्मक संघर्षबारे हाम्रो दृष्टिकोण के हो ? विगतमा प्यालेष्टाइन र इजरायलबारे विश्लेषण नगरी कम्युनिस्ट पार्टीको राजनीतिक दस्तावेज पूर्ण हुँदैनथ्यो । आज हामीले सिरिया र इराकबारे मौन रहेर विश्व साम्राज्यवाद विरुद्ध विश्व समाजवादलाई योगदान पु¥याउन सक्ने अवस्था छैन । पेरिसमा हालै भएको आइएसको आक्रमणका विषयमा पनि पार्टीले आफ्नो धारणा बनाउनुपर्दछ र यसबारे नेपाल सरकारले लिने नीतिबारे हामी स्पष्ट हुनै पर्दछ ।

हामीले विगतमा विश्व दुई ध्रुवमा विभाजित छ भन्दै आयौं । तर, यतिबेला अमेरिका र चीनवीचको आर्थिक अन्तरनिर्भरता बढ्दै गएको छ र अन्तरविरोधहरू छोटिएका छन् । रुस र पश्चिमा पुँजीवादी देशहरू आतंकवाद एवं आइएसविरुद्धको कारवाहीमा लगभग सहकार्यको अवस्थामा पुगेका छन् । चीन र भारतसमेत दक्षिण एशियामा सहकार्यको दिशामा अघि बढिरहेका छन् । लिपुलेकको सन्दर्भमा भारत र चीनले गरेको सहमतिले नेपालको दिशा स्पष्ट पारेकै छ । दक्षिण एशियामा भारत र अमेरिका पार्टनरका रूपमा स्थापित हुँदैछन् ।

यो स्थितिमा विश्व राजनीतिका पुराना अन्तरविरोधहरू सिफ्ट भएका छन् । र, अहिले विश्व राजनीतिको प्रमुख अन्तरविरोध साम्राज्यवाद भर्सेज समाजवाद होइन कि पश्चिमा साम्राज्यवाद भर्सेज इस्लाम बन्न पुगेको छ । पश्चिमा साम्राज्यवादीहरूलाई इस्लामिक स्टेटले अहिले हाराबारा खेलाइरहेको छ । इराकमा बगदादपछिको दोस्रो ठूलो शहर मोसुल आइएसले आफ्नो कब्जामा लिइसकेको छ । बगदादबाट कुनै पनि दिन अमेरिकाले पराजय भोग्नसक्ने सम्भावना छ ।

तर, वामपन्थी एवं समाजवादीहरू यतिबेला पश्चिमी साम्राज्वादीहरूको प्रमुख चुनौती बन्न छाडेका छन् । अमेरिकाले क्युवासँग गर्न थालेको सम्बन्ध सुधारको प्रयास यसैको एउटा दृष्टान्त हो । आखिर किन विश्वको राजनीतिक रंगमञ्चमा समाजवादी एवं कम्युनिस्टहरू कमजोर बन्दै गए र जातीय आधारमा संगठित इस्लामिक, कूर्द आदि समूहहरू कम्युनिस्ट भन्दा शक्तिशाली बनेर अगाडि आए ? यो गम्भीर समीक्षाको विषय हो । यो स्थितिमा अब हाम्रो पार्टीले विशेष गरी अमेरिका, चीन र भारतलाई हेर्ने दृष्टिकोणमा अपडेट जरुरी भएको भएको छ । विश्वको अन्तरविरोधको धुरी बनिरहेको पश्चिम भर्सेज आइएसबारे समेत समीक्षा जरुरी छ ।

हालै बेलायतबाट प्रकाशित एक रिपोर्टमा आइएसले आगामी २० वर्षमा भारतलाई कब्जामा लिन लागेको उल्लेख गरिएको थियो । अघिल्लो महिना मात्रै बंगलादेशमा आइएसले क्रिश्चियन मिसनका एक नागरिकको हत्या गरेको घटनालाई दक्षिण एशियामा आइएसको प्रवेशका रूपमा हेर्नु पर्दछ । हामीले यो स्पष्ट हुनैपर्दछ कि आइएस कुनै वामपन्थी वा समाजवादी समूह होइन । यो समूह नवनाजीवादका रूपमा विकसित हुने खतरा बढेको छ । आइएसले लिने नीति र उसले गर्ने व्यवहार समाजवादी वा कम्युनिस्टहरूको भन्दा विल्कुल भिन्न आतंकवादी प्रकृतिको छ । यस्तो अवस्थामा आरसीपी अमेरिकाका नेता बब अभायकिनले भनेजस्तै इराक होस् या अन्य कुनै देश, पश्चिमा साम्राज्यवादको विकल्प आइएस होइन, कम्युनिस्टहरू मात्रै हुन सक्छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनकी नेतृ रोजा लक्जम्बर्गले ठीकै भनेकी हुन्, हामीले समाजवाद रोज्ने कि बर्बरता ? अहिले विश्वमा देखापरेको संकटको समाधान पनि समाजवाद मात्र हो । समाजवाद नरोज्ने हो भने बर्बरतातर्फ विश्व राजनीति रुमलिने खतरा बढिरहेको छ ।

पश्चिमी देशहरू अरबमा फसिरहेका बेला त्यसको बाइप्रोडक्टका रूपमा यतिबेला सिंगो युरोप शरणार्थी समस्यामा जकडिएको छ ।

विचारणीय कुरा के भने कम्युनिस्ट आन्दोलन र वर्ग संघर्षलाई कमजोर पार्न साम्राज्यवादीहरू र युरोपेली पुजीँवादीहरूले जातीय एवं धार्मिक समूहलाई उचालेका थिए । तर, त्यो उनीहरूकै लागि प्रत्युत्पादक बनिरहेको छ । सिरिया संकट र त्यसले निम्त्याएको शरणार्थी समस्या एउटा ज्वलन्त प्रमाण हो । अब यो विश्व संकटलाई टार्न पुँजीवादी साम्राज्यवादीहरू असक्षम सावित भइसकेका छन् । र, यो संकटको समाधान आइएस पनि होइन । यसको विकल्प समाजवाद, समाजवाद र फेरि पनि समाजवाद मात्रै हो ।

रूपमा शक्तिशाली देखिए पनि भित्रभित्रै साम्राज्यवाद आफ्नो ध्वंशात्मक चरित्रका कारणले मरणासन्न बन्दै गएको छ । आणविक अतिवाद, थेग्नै नसक्ने अन्तहीन युद्ध, रंगभेदी नीति, जातीय द्वन्द्व, प्राकृतिक दोहन र उर्जा संकटले निम्त्याएको पर्यावरणीय संकट आदि कारणले विश्व साम्राज्यवाद कमजोर बन्दै गएको छ । यो अवस्थामा विश्वमा समाजवादको भविश्य उज्जल छ । तर, यसका लागि विश्वभरिका समाजवादीहरूले भाइचारा सम्बन्धको विकास गर्नु र प्रत्येक देशको समाजवादी आन्दोलनलाई विश्व कम्युनिस्ट आन्दोलनको अंग बनाउन अपरिहार्य छ । सगरमाथाको फेदबाट अब एकीकृत नेकपा माओवादीले यो उचाइमा सोच्न जरुरी छ ।

दक्षिण एशियाको परिस्थिति
बृटिस उपनिवेशको अन्त्यपछि त्यसको उत्तराधिकारीका रूपमा विकास भएको भारतीय विस्तारवाद र त्यसले पक्षपोषण गर्दै आएको घरेलु प्रतिक्रियावादबाट दक्षिण एशियाका सबै मुलुकहरू जकडिएका छन् । सामन्तवादी दबदबा र दक्षिणपन्थी आत्मसमर्णवादीहरूको राज्यसत्तामा नियन्त्रण रहेको भुटान, बंगलादेश, नेपाल लगायतका मुलुकहरूमा भारतीय नवउपनिवेशिकता निकै बलियो रूपमा रहेको छ । यसरी निकृष्ट पुँजीवादको विकासका लागि विभिन्न स्वरूपमा रहेका जनविरोधी सत्ता गठबन्धनका विरुद्ध हरेक मुलुकमा भइरहेका संघर्षहरूको वैचारिक राजनीतिक विश्लेषणबाट मात्र समग्र दक्षिण एशियाको राजनीतिक अन्तरविरोधको ठिक ढंगले आँकलन गर्न सकिन्छ ।

भारतीय विस्तारवादको हेपाहा प्रवृत्तिले कतिपय मुलुकका दलाल पुँजीपतिहरूका स्वार्थलाई समेत आघात पु¥याइरहेको यथार्थताबारे पनि यस परिप्रेक्ष्यमा मनन गर्न जरुरी छ । दक्षिण एशियाली मुलुकहरूमा भइरहेका क्रान्तिकारी संघर्ष जनपक्षीय आन्दोलन र क्षेत्रीय उपनिवेशिकताका विरुद्ध सञ्चालित हरेक प्रतिरोधात्मक राष्ट्रिय मुक्ति आन्दोलनका मोर्चाहरूलाई सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूको नैतिक समर्थनको आवश्यकता छ ।

यसर्थ भारतले जालझेलपूर्ण तवरले अस्थित्व विलयको अवस्थामा पु¥याएको काश्मिरका जनताले छ दशकभन्दा लामो समयसम्म जारी राखेको स्वतन्त्रताको संघर्ष तथा नेपाली भाषी समुदायले गोर्खाल्याण्डमा जारी राखेको पहिचानको आन्दोलनलाई समेत हाम्रो पार्टीको नैतिक समर्थन रहनु आवश्यक छ ।

संविधानसभाबाट संविधान घोषणा गर्ने क्रममा नेपालमा देखिएको स्वाधीनताबाट विचलित भएको भारतीय विस्तारवादले अन्तर्राष्ट्रिय कानून, मूल्य र मान्यताहरूको समेत धज्जी उडाउँदै गरिरहेको नाकाबन्दीले उसको असली चरित्र छर्लंग पारेको छ । नेपालका सन्दर्भमा भारतीय आँखाले नै हेर्ने र आफ्ना स्वार्थहरूलाई समेत भारतीय कृत्यहरूद्धरा सिद्ध गर्ने नीति अमेरिकी साम्राज्यवादले लिँदै आएको छ । युरोपियन युनियन लगायत पश्चिमी राष्ट्रहरूले समेत नेपालमाथि भारतीय हस्तक्षेपकारी नीतिप्रति आँखा चिम्लनुले नेपाली क्रान्ति, राष्ट्रिय स्वाधीनता र विकासको प्रधान शत्रुका रूपमा भारतीय विस्तारवादलाई किटान गर्ने र त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा संघर्ष केन्द्रित गर्न जरुरी छ ।

यस सन्दर्भमा भारत र चीनवीच बढ्दै गएको आर्थिक सम्बन्ध र सामीप्यताले नेपालको स्वतन्त्र अस्थित्वलाई नै खतरामा पार्न सक्ने अवस्था छ । चीनसँग अत्यन्त कुशलतापूर्वक कूटनीतिक सम्बन्ध विस्तार गर्ने र उत्तरी नाकाहरूलाई यथाशक्य बढी संख्यामा र चाँडो सञ्चालनमा ल्याई उसका आर्थिक एवं सामरिक स्वार्थहरूलाई समेत सम्बोधन गर्ने दिशामा अघि बढ्नुपर्छ ।

भारतीय विस्तारवाद विरुद्धको संघर्षमा राष्ट्रिय पँुजीपति वर्गलाई समेत समावेश गर्नुपर्ने र स्वाधीन अर्थतन्त्र निर्माणमा उनीहरूको निर्णायक भूमिका रहने हुँदा त्यसका लागि दलाल पुँजीपति र राष्ट्रिय पुँजीपतिवीचको अन्तर बुझ्न जरुरी छ । हचुवाका भरमा नभई वस्तुसम्मत आधारमा वर्गीय प्रवृत्ति र चरित्रको सुक्ष्म विश्लेषण गरी वर्गीय कित्ताकाट गर्न र विस्तारवादका एजेण्टहरूको पहिचान गर्न आवश्यक छ ।

भारतले नाकाबन्दी लगाएपछि नेपालमा भारतविरोधी भावना बढेको छ, जसले राष्ट्रिय स्वाभिमानको आन्दोलन र विस्तारवाद विरोधी वातावरण सिर्जना भएको छ । पार्टीले यो वस्तुगत परिस्थितिलाई आफ्नो पक्षमा प्रयोग गर्ने ठोस नीति र कार्यक्रम बनाउन जरुरी छ । तर, यो भन्दा पहिले हामीले भारतलाई कसरी हेर्ने भन्नेबारे सिंगो पार्टीपंक्तिमा एकरूप बुझाइ कायम गर्नुपर्दछ । यसका लागि विशेषतः अन्तरविरोधहरूको किटानी गर्दा भारतबारे थप प्रष्ट नपारिकन राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढ्न सक्दैन । यसका लागि भारतीय विस्तारवादसँगको नेपाली जनताको अन्तरविरोधलाई प्रमुख रूपमा किटानी गरिनु पर्दछ ।

कतिपय भारतीयहरूले तराईलाई उसको देशमा मिलाउनुपर्ने भन्दै लेख्न थालेको र तराई मधेसमा उसले प्राकृतिक साधनमाथि कब्जा जमाउने रणनीति बनाएको यथार्थताप्रति ध्यान दिँदै राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई भारतीय विस्तारवादविरुद्धको संघर्षसित जोडेर बुझ्न जरुरी छ । राष्ट्रिय स्वाधिनता भन्नु नै विदेशी हस्तक्षेपको विरोध हो । त्यसैले राष्ट्रिय स्वाधीनताको संघर्ष पेचिलो भएको अवस्थामा विस्तारवादसँगको अन्तरविरोध प्रधान हुनु मालेमावादको आधारभूत सिद्धान्त नै हो ।

सबैलाई विदितै छ कि भारतले सिक्किमलाई आफ्नो देशमा गाभ्यो । त्यसअघि उसले कश्मिरलाई लियो । अहिले भुटानलाई आफ्नो संरक्षित राष्ट्रका रूपमा व्यवहार गरिरहेको छ । त्यसैगरी नेपाललाई नाकाबन्दीबाट गलाएर संरक्षित राष्ट्र बनाउने र थप असमान सन्धी गर्ने नियत प्रष्टै देखिन्छ । नेपालीहरूले झुकेनन् भने तराईमा श्रीलंकाको जस्तै पृथकतावादी चलखेल गर्ने षड्यन्त्रकारी सम्भावनाप्रति नजरअञ्दाज गर्नु ऐतिहासिक भूल हुनेछ ।

(एमाओवादी केन्द्रीय समिति बैठकमा प्रस्तुत फरक मतबाट)

प्रतिक्रिया