आज फेरि वार्ता

काठमाडौं, १५ मंसिर । आन्दोलनरत मधेसी मोर्चासँगको बुधबार हुने वार्ता पहिलेभन्दा केही सकारात्मक हुने संकेतहरू देखिएका छन् । तीन ठूला दल समान धारणा बनाउन आन्तरिक र संयुक्त छलफलमा जुटेकाले वार्ता सकारात्मम हुने संकेत देखिएको हो । मोर्चाले तीन ठूला दल कांग्रेस, एमाले र एमाओवादीसँग आफ्ना माग बारे समान धारणाको माग गर्दै आएको छ ।

सोमबार भएको वार्तामा कांग्रेसलगायत सत्तारूढ दलले आन्तरिक गृहकार्यका लागि समय माग गरेकाले बुधबार बस्ने गरी टुगिएको थियो । यसअघिका वार्ताहरूभन्दा बुधवार हुने वार्ताले तत्काल निकास निकाल्न नसके पनि निर्णयको नजिक पुग्ने बताइएको छ ।

एमालेको तयारी
एमालेले मोर्चाले अघि सारेका ११ बुँदे मागका वारेमा पार्टीको धारणा तय गर्न प्रधानमन्त्री निवासमा शिर्ष नेताहरूको बैठक डाकेको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसमेतको उपस्थितीमा भएको बैठकमा मोर्चाले राखेका मागहरू बारे लचकतासाथ प्रतुत हुने निर्णय गरेको केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । बुधबार हुने मोर्चासँगको वार्तालाई निष्कर्षमा पु¥याउने गरी एमालेको तयारी रहेको नेता थापाले जानकारी दिए । प्रधानमन्त्रीले मंगलबारै रातीसम्ममा नभए बुधबार बिहानसम्ममा तीन दलको बैठक राखेर साझा धारणा बनाउने तयारी गरेको एमाले श्रोतले बताएको छ ।

कांग्रेसको तयारी
कांग्रेसले पनि मोर्चाका माग बारे पार्टीको आधिकारिक धारणा तय गर्न सभापति सुशील कोइरालाको निवासमा पदाधिकारीको बैठक डाकेको छ । कोइराला सरकारकै पालामा दर्ता गरिएको संविधान संशोधनसम्बन्धी प्रस्ताव अघि बढाउनुपर्ने उसको पहिलो जोड रहने श्रोतले बताएको छ । यद्यपि मधेसी मोर्चाले नै त्यसलाई अस्वीकृत गरिसकेको अवस्थामा प्याकेजमै सहमति खोज्न पनि कांग्रेस वाधक नबन्ने भन्दै बैठकमा ११ बुँदे मोर्चाका मागका विषयमा गहन छलफल भएको बताइएको छ । संविधान जारी गर्दाका सहयात्री दल एमाले र एमाओवादीसँग मिलेर साझा धारणा बनाउन कांग्रेस सहमत रहेको श्रोतले बताएको छ ।

एमाओवादीको तयारी
एमाओवादीको मंगलबारदेखि केन्द्रीय समितिको बैठक बसिरहेको छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले यसअघि नै मोर्चाका मागका विषयमा कांग्रेस, एमालेका नेतासमक्ष विभिन्न विकल्प अघिसारेका छन् । यसले अरू पार्टीभन्दा समस्या समाधानका लागि एमाओवादी गम्भीर रहेको देखाएको छ । उसले जारी केन्द्रिय समितिको बैठकमासमेत सो विषयमा छलफल गर्ने जनाइएको छ ।

मधेसी मोर्चा
मोर्चाले सोमबारको वार्ताहुनु अघि नै आइतबार विराटनगरमा बैठक बसेर बटमलाइन तय गरी तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा टोली पठाएको हो । सोमबारको त्रिपक्षीय वार्तामा पनि मागका बारे छलफल गरेर निर्णयमा पुग्न मोर्चाका नेता तयार रहेको तर, कांग्रेसलगायतका दलले गृहकार्यका लागि समय मागेकाले बैठक विनानिष्कर्ष सकिएको हो । सोमबारको वार्ता सकारात्मक भएको मोर्चाले मंगलबार पनि थप आन्तरिक छलफल गरेको बताइएको छ ।

भारत पनि दबाबमा

भारतकै विपक्षी दलका नेताहरू समेतले नेपालसँगको भारतको सम्बन्धलाई लिएर सवाल उठाएकाले र संयुक्त राष्ट्र संघलगायतका अन्तर्राष्ट्रिय चासोले मोदी सरकार दबाब रहेको छ । दूतकै रूपमा प्रचार नगरिए पनि केही दिनअघि सत्तारूढ पार्टीका प्रभावशाली नेता विजय जोलीको नेपाल भ्रमणलाई सोही अर्थमा हेरिएको थियो । वार्ताको पूर्वसन्ध्यामा भारतीय राजदूत पनि सक्रिय भएका छन् ठीक यही समय भारतमा सुरुक्षा विज्ञका रूपमा मानिएका पूर्वजनरल अशोक मेहता मंगलबार काठमाडौं आएका छन् । मेहता संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण एसियाको छुट्टै सुरक्षा संगठन हुनुपर्ने अभियानमा लागेका व्यक्ति हुन् र त्यसैको लबिङका लागि उनी नेपाल आएका बताइएको छ । नेपालसम्बन्धी मामलाका जानकार भारतीय मध्येका एकसमेत मानिने मेहताको यसै समयको नेपाल भ्रमणलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । कूटनीति विज्ञका अनुसार यो पनि भारतको ट्र्याक टु कूटनीति नै रहेको बताउँछन् ।

भारतले पनि यो समस्या चाँडै निदान होस् भन्ने चाहेको, मोर्चा आन्दोलन धेरै तन्काउँदा हातबाट खुस्कने निष्कर्षमा पुगेको र कांग्रेसलगायतका सत्तारूढ दलसमेत जनताका दुःखका कारण चरम दबाबमा रहेकाले बुधबारको वार्ताले निकास दिने कुरामा आशावादी हुन सकिने अवस्था रहेको बताइएको छ ।

प्रतिक्रिया