माफी मागेपछि एसएसबीका जवान रिहा

ssbझापा, १३ मंसिर । केचना नाकाबाट आइतबार हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)का १३ जवानलाई नेपालको सशस्त्र प्रहरीले माफी मगाएर रिहा गरेको छ । उनीहरूलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ५ घन्टापछि रिहा गरेको हो ।

‘भूलवश नेपाल पसेको’ भन्दै माफी मागेपछि एसएसबीका बटालियन कमान्डर जिबी नेगीलाई पक्राउ परेका भारतीय सुरक्षाकर्मी जिम्मा लगाइएको झापाका सहायक सिडिओ डमरु निरौलाले जानकारी दिए ।

सुपारी तस्करलाई पछ्याउने क्रममा बिहान ४ थान हतियारसहित १३ जना एसएसबीका जवान सीमा छिचोलेर केचना–४ स्थित नेपाली बस्तीसम्म आइपुगेका थिए । सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

‘उनीहरूले गल्ती स्वीकारे’ पक्राउलगत्तै सदरमुकाम चन्द्रगढीबाट केचना पुगेका सहायक सिडिओ निरौलाले भारतीय सुरक्षाकर्मीको रिहाइपछि भने, ‘हामीले उनीहरूको कमान्डरलाई जिम्मा लगाएर पठायौँ ।’ नियन्त्रणमा लिइएका एसएसबीका जवानलाई कारवाही नगरी रिहा गर्न लाग्दा ठूलो संख्यामा जम्मा भएका स्थानीयले केहीबेर नारावाजीसमेत गरेका थिए ।

घटना भएको केचना भारतसँग सीमा जोडिएको झापाको दक्षिणपूर्वी सीमान्त गाविस हो । दुई दिनअघि सुपारी तस्करलाई लखेट्ने भन्दै सोही क्षेत्रमा सीमा नजिक एसएसबीले आधा दर्जन राउन्ड फायरसमेत गरेको स्थानीय बासिन्दा बताउँछन् ।

प्रतिक्रिया