बन्दले उद्योगमा १६ अर्बको क्षति

biratnagari_metropolकाठमाडौं, ११ मंसिर । भारतले लगाएको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको बन्द हडतालका कारण पूर्वाञ्चलको उद्योग व्यवसायमा १५ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । तीन महिनाभन्दा लामो बन्द हडतालका कारण पूर्वी नेपालका उद्योग कल कारखाना तथा व्यवसाय ठप्प भएपछि ठूलो क्षति हुन पुगेको हो ।

उद्योग संगठन मोरङले तयार पारेको प्रारम्भिक तथ्यांकअनुसार मोरङ सुनसरी औद्योगिक करिडोरमा सञ्चालित उद्योगमा बढी क्षति भएको छ । पूर्वी नेपालका २ वटा प्रमुख नाकाहरू विराटनगरको रानी भन्सार र काकडभिट्टाबाट सामान आउन नसकेपछि त्यसको प्रत्यक्ष असर उद्योग व्यवसायमा परेको छ । उद्योग संगठनका अनुसार उद्योगलाई आवश्यक कच्चा पदार्थ तेस्रो मुलुकबाट ल्याउने क्रममा भारतको कलकत्तामा लोडसहितका ट्रक तथा कन्टेनर रोकिँदा प्रतिदिन ७२ करोड रुपैयाँ नोक्सानी भएको छ ।

कन्टेनर तथा ट्रक कलकत्ताको याडमा रोकिँदा प्रत्यक कन्टेनर तथा ट्रकले प्रतिदिन ५ हजार रुपैयाँ बुझाउनुपर्छ । उद्योग संगठनका अनुसार कांकडभिट्टा तथा रानी भन्सारबाट दैनिक ६ सय ट्रक र कन्टेनर भारतको कलकत्ताबाट कच्चा पदार्थ ल्याउन पुग्थे ।

सिंगापुर र मलेसियाबाट आएको औद्योगिक कच्चा पदार्थ सम्बन्धित उद्योगमा १४ दिनसम्म नपुगेमा जरिवाना तिर्नुपर्ने हुन्छ । बन्द र नाकाबन्दीका कारण १ सय ५ दिनमा १ लाख २६ हजार रुपैयाँ तिर्नु परेको संगठनले जनाएको छ ।

पूर्वी नेपालमा रहेका सरदर २० देखि ३० लाख पुर्जी भएका उद्योगहरूले २ खर्ब ५२ अर्ब रुपैयाँ लगानी गरेका छन् । उनीहरूले बन्दको अवधिमा बैंकलाई १२ प्रतिशतका दरले ब्याज तिर्नुपर्दा ८ अर्ब ८२ करोड रुपैयाँ नोक्सानी बेहोर्नुपरेको बताइएको छ ।

उद्योग संगठन मोरङले तयार परेको प्रारम्भिक तथ्यांकमा माथि उल्लिखित बाहेक छुट्टै १ खर्बको लगानीमा सञ्चालित उद्योगले ३ अर्ब ५० करोड रुपैयाँ बैंकको ब्याज सहनुपरेको छ ।

बन्दको १ सय ५ दिनसम्म उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा नआए पनि विद्युत् अडिट शुल्कका लागि ३ करोड ४५ लाख रुपैयाँ तिर्नुपरेको छ । यस अवधिमा पूर्वी नेपालमा सञ्चालित उद्योगहरूमा ५० हजार कामदार कर्मचारीलाई दैनिक ५ सय रुपैयाँ दिँदा २ अर्ब ६२ हजार रुपैयाँ उद्योगीहरूले नोक्सानी बेहोरेका छन् ।

यसैगरी, भारतका विभिन्न रेलमार्गको यार्डमा औद्योगिक कच्चा पदार्थ थन्किँदा २ लाख ८४ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ । २ महिनाको अवधिमा दिनको २३ करोड ४६ खाल रुपियाँका दरले रकम जरिवानामा गएको छ ।

भारतको अघोषित नाकाबन्दीका कारण तेस्रो मुलुकबाट आएको कच्चा पदार्थ भारतको कलकत्ता यार्डमा रोकिँदा डिटेसन १ महिनाको मात्र २ करोड २५ लाख रुपैयाँ उद्योगी व्यवसायीले गुमाउन पुगेका छन् ।

पूर्वी नेपालमा साना, ठूला तथा मझौला गरी १० हजारको संख्यामा उद्योगहरू सञ्चालनमा रहेका छन् । जसमध्ये २५ सय उद्योगले भारत तथा तेस्रो मुलकबाट कच्चा पदार्थ आपूर्ति गर्छन् । सबैभन्दा बढी सुनसरी, मोरङमा रहेका उद्योगहरू पर्छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष शिव शंकर अग्रवालले अहिलेको अवस्थामा उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको गुनासो गरे । उद्योग व्यवसाय बन्द गरेर पलायन हुने अवस्था आइसकेको उनको भनाइ छ । लगानीको सुनिश्चितता हुन नसक्दा उद्योगीहरूले नयाँ विकल्पको खोजी गर्न थालेको अग्रवाल बताउँछन् । बन्द हडताल र नाकाबन्दीका कारण उद्योगी व्यवसायीहरू व्ययभारबाट उम्किन नसक्ने अवस्था सिर्जना भएको बताउँदै उनले भने, ‘अब नयाँ लगानी गर्ने कुरा त परै जाओस, भइरहेको लगानी पनि पलायन हुने अवस्थामा पुगेको छ ।’

प्रतिक्रिया