आर्यन र नम्रताको ‘क्लासिक’ प्रेम

classic-first-lookकाठमाडौं, १० मंसिर । नेपाली चलचित्र क्षेत्रले सयांै कलाकार जन्माइसकेको छ । जन्मिएका सबै कलाकार सफल हुन्छन् भन्ने छैन । अझ, कलाकारको जोडी सफल हुन त धेरै नै गाह्रो हुन्छ । दशकमा केही जोडी मात्र सफल बनेर निस्कन्छन् । यस्तै, सफल जोडीको रूपमा अहिले नेपाली फिल्म क्षेत्रमा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ चिनिएका छन् ।

नायक आर्यन सिग्देलको निर्माणमा बनेको गतबर्षको सफल चलचित्र ‘नोभेम्बर रेन’ पछि यो जोडीको माग पर्दामा ह्वात्तै बढेको छ । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको व्यानरले ‘नोभेम्बर रेन’को सफलतापछि फेरि दुई ब्यानर एकसाथ मिलेर नयाँ चलचित्र ‘क्लासिक’ निर्माण गरेको छ । दुई ब्यानरले निर्माण गरेको ‘क्लासिक’को कुनैपनि तस्बिर हालसम्म बाहिरिएको छैन ।

आगामी माघ २९ गते नेपालभर प्रदर्शनमा आउने तयारीका साथ धमाधम यो चलचित्रको काम भैरहेको छ । दर्शकको कौतुहलतालाई हेर्दै चलचित्रको निर्माण यूनिटले चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रको छायांकन केही दिन बाँकी छ । निर्माता सुवास गिरीले चलचित्रको पोष्ट प्रोडक्शनको कामसँगै प्रचारलाई पनि सुरुवात गरिएको बताए । उनले भने ‘हामीले अहिलेसम्म कुनै पनि तस्बिर सार्वजनिक नगरेर चलचित्रलाई दर्शकमा उत्सुकतामा राखेका छौं ।

चलचित्रमा राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्वन्द्व, रेनशा वान्तवा राईको कोरियोग्राफी, छेतन गुरुङको लेखन छ । सांगीतिक पेमकथाको चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठले आँखा देख्न नसक्ने पात्रको भूमिका निर्वाह गरेका छन् । उनीहरूलाई सुशिल काफ्ले, प्रज्वल गिरी, रोमी घिमिरे लगायतले साथ दिएका छन् । सार्वजनिक गरिएको फस्टलुकले चलचित्र भित्रका विभिन्न बिषयलाई चित्रित गरेको निर्माण युनिटले जानकारी दिएको छ । चलचित्रको सांगीत लभस्टोरीको साथमा यसमा गाँसिएका हाँसो, मित्रता, प्रेम, वियोगका कुरालाई पहिलो हेराइले प्रतिविम्बित गरेको छ ।

‘प्रेम दिवसको अवसर पारेर दर्शकलाई सांगीतिक लभस्टोरी चलचित्र पस्कने तयारी गरेका छौं ।’ नायक आर्यन सिग्देलले भने, ‘नम्रता र मेरो जोडीलाई दर्शकले फेरि पनि रुचाउनु हुनेछ भन्ने विश्वास छ । हामीले त्यस अनुसारको काम पनि गरेका छौँ ।’

प्रतिक्रिया