क्वय्ना गणेद्यः चोभार गणेशको जात्रा

Jal_Binayak_1उपत्यकाका प्रसिद्ध चार गणेश मध्ये ऐले क्वय्ना गणेद्यः अर्थात् चोभार गणेश । चोभारको वागमती नदीसँगै रहेका क्वय्ना गणेद्यःको पूर्वमा बागमती नदी, उत्तरमा पनि बागमती नदी र पहाड, दक्षिणतर्फ दक्षिणकाली र पश्चिमतर्फ चोभार करुणामय आदिनाथ लोकेश्वरको मन्दिर रहेको छ । दक्षिणतर्फ फर्किएका क्यवना गणेद्यः मन्दिरको चारैतिर अत्यन्तै रमाइलो वातावरणले छाएको छ ।

चोभारमा रहेका गणेश भएकाले यसलाई चोभार गणेश भन्ने गरिन्छ भने बुइना गणेश अर्थात् बोकेका गणेश पनि भन्ने गरिन्छ । स्वच्छ, सफा निर्मल बागमती नदीको पानीबाट उत्पन्न भएकाले क्यव्ना गणेश भनिएको हो । पछिमात्र जल विनायक नामले प्रसिद्ध भएका हुन् ।

क्यव्ना गणेशको नाम कसरी बुइना(बोकेको) गणेश हुन गयो भन्ने सन्दर्भमा एउटा किंवदन्ती अनुसार साययुगमा एकपटक महादेवलाई कुष्टरोग लागेछ । कुष्ठरोगले गर्दा पूरै शरीरमा धेरै कष्ट पीडा भइरहेकोले महादेवले भैरवको रूपधारण गरेछन् । तै पनि शरीरमा कष्ट पीडा भई नै रह्यो रे । त्यही समयमा सानो आकारको बालगणेश खेल्दै खेल्दै आइपुगेछ । भैरवको रूप लिइरहेका महादेवले आफ्नो छोरा गणेशलाई समाएर काखमा राखेछन् । गणेशलाई काखमा राख्ने वित्तिकै काखको दुखाई कम हुन थालेछ । अनि कम्मरमा राख्दा त्यहाँ पनि झन् सञ्चो भएछ । यही क्रमले गणेशले जहाँ जहाँ छोयो त्यहीँ त्यही दुखेको कम भएर कुष्टरोग निको हुन थालेछ । तर, भैरवको कम्मरमुनि दुखेको कम नभएकाले भैरवले गणेशमाथि चढीदिनु भएछ ।

गणेशले भैरवलाई बोकी दिनासाथ भैरवको शरीरभरिका सबै दुःखकष्ट कम भएर कुष्ठरोगबाट मुक्त भएछ । यसरी महादेवले रूप लिएका भैरवको कुष्टरोग निको भएपछि त्यही स्थानमा भैरव देवता सिद्ध भएका हुन भनिन्छ । यी भैरव अनन्त भैरवका नामले प्रख्यात भइरहेका छन् । क्वयना गणेशको मन्दिरभित्र सन्तानेश्वर महादेव र भैरवको मूर्ति एउटै ढुंगामा रहेको छ । गणेशले भैरवलाई बोकी राखेको कारणले नै क्वय्ना गणेशको नाम बुइना गणेश हुन गएको हो ।

क्वय्ना गणेशको जात्रा मनाउने क्रममा हरेक वर्ष कार्तिक शुक्ल बैकुण्ठ चतुर्दशीका दिन राँगाको बलि दिएर जात्रा सुरु गरिन्छ । ललितपुरको नःटोलमा पनि क्वयना गणेशको स्थापना गरिराखेको छ । चोभारको क्वयना गणेश स्थानमा बलि दिएको राँगाको टाउको ललितपुरको क्यवना गणेशको मन्दिरमा लगेर कपडाले छोपी एउटा ठूलो भाँडोमा राखी राख्छ ।

सकीमना पुन्ही अर्थात् क्लू पूर्णिमा दिन ललितपुरमा क्वयना गणेशको जात्रा गरेर भोलिपल्ट अर्थात पतिपदाका दिन गणेशको मन्दिरमा लगेर स्थापना गरिन्छ । चर्तुदर्शशीका दिन चोभारका क्वयना गणेश स्थानमा लगेर ल्याइएका ललितपुरका गणेशको मूर्तिलाई ललितपुरको मन्दिरमा स्थापना गरेर होम गरी पूर्णिमाका दिन साँझ ललितपुरका विभिन्न टोलमा जात्रा गरिन्छ ।

यसरी ललिपुतरमा रहेका क्वयना गणेशलाई पूर्णिमाका दिन ललिपतुरको नःटोलमा जात्रा गरिँदा नया्खिं बाजा र बाँसुरी बजाएर गरिन्छ । हाल आएर नःटोलका मंकाः खलःका महिला समूहको आयोजनामा बाजा बजाउँदै सुन्धारा, धालछें, हक टोल, भिंछे वहाल, सौग, बखुँबघः, भ्रिद्यः र मंगलबजारसम्म जात्रा गरिन्छ । त्यसपछि त्यहाँबाट बाजागाजासहित भक्तजनहरू फर्केर आई नःटोलमा भएको गणेश मन्दिर अगाडि खट बिसाई गणेशको मूर्तिलाई मन्दिरमा राखी थकाली गुरुजुले विधिपूर्वक स्वागत गरी पूजा गरेर जात्राको समापन गरिन्छ ।

क्वयना गणेशको जात्रा ललितपुरमा ३५० वर्ष अघिदेखि चल्दै आएको हो भनिन्छ । हालसम्म पनि यो जात्रा निरन्तर रूपमा चल्दै आइरहेको छ । ललितपुरमा भएको क्वय्ना गणेशलाई बैकुण्ठ चतुर्दशीका दिन चोभारका क्वयना गणेशको मन्दरमा रातभरि राखेर भोलिपल्ट पूर्णिमाका दिन ल्याएर खटमा राखी बाजागाजासहित ललितपुरमा नगर परिक्रमा गर्दै जात्रा गरिन्छ । क्वयना गणेशको दर्शन, पूजा आराधना गर्ने भक्तजनहरूको मनले चिताएको फल पाउने, इच्छाएको काम कुरा पूरा हुने, विभिन्न किसिमका रोगबाट मुक्त भई स्वास्थ्य हुने सन्तान नभएकाहरूको सन्तान हुने र सुख, समृद्धि एवं ऐश्वर्य प्राप्त हुने जनविश्वसा रही आएको छ । क्वयना गणेशको दिनदिनै दर्शन गर्न भक्तजनहरू आउने गर्दछन् । खास गरेर मंगलबारका दिन भक्तजनहरूको बढी भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया