नेवारहरूका विभिन्न किसिमका संस्कार र परम्परागत रितिथितिले गर्दा नेवारहरू संस्कृतिमा धनी भएका छन् । तर, जति पनि नेवारी संस्कार र संस्कृति छन्, त्यसमा समयको परिवर्तन र बाहिरी संस्कृतिको प्रभावले गर्दा आजभोलिका युवापुस्ताले वास्ता गर्न छाडिसकेका छन् र साथै विश्वास पनि गर्न नसक्ने अवस्था आइसकेको छ । त्यसो भएता पनि आजसम्म चल्दै आएका विभिन्न किसिमका आश्चर्यलाग्दा नेवारी संस्कार छन् । ती मध्ये माय् अवसं पनि हो । मायस् अवसं नेवारहरूको परम्पारगत रूपमा व्रत बस्ने संस्कार हो । जसलाई सामाजिक संचरनामा पारपाचुकेको रूपमा लिइँदै आइरहेको पाइन्छ ।
कार्तिक महिनामा अवसं(ब्रत) बस्ने र विभिन्न देवस्थानमा गएर पूजाआजा धर्मकर्म गर्ने महिनाको रूपमा हिन्दु र बौद्धहरूले उत्तिकै मान्दै आएका छन् । कति पुन्हि अर्थात् कोजाग्रत पूर्णिमाका दिनदेखि सकिमिला पुन्हि अर्थात् कार्तिक शुक्ल पूर्णिमासम्म घरघरमा अलः मत(आकाश दीप) बाल्ने चलन छ । त्यस्तै महिनाभर नारायण देवताको दर्शन गर्न जाने र चार नाराणस्थानमा मेला भर्न जाने गर्दछन् । त्यस्तै चोभारको सुवर्ण गिरी कच्छपाल पर्वतमा आदिनाथ आनन्दाकिलोकेश्वरको महिनाभरि मेला लाग्छ । चोभारका आदिनाथ लोकेश्वरमा महिनाभरी हुने मेलामा हरिवोधिनी एकादशीका दिनदेखि सकिमिला पूर्णिमा पाँच दिनसम्म भक्तजनहरूले माय. अवसं व्रत बस्दछन् । फलाहारको नाममा फलफूल समेत खान नहुने यो ब्रत सितिमिति कोही पनि बस्दैनन् । जल अर्थात् पानी मात्र पिएर ५ दिनसम्म बस्नुपर्ने यो व्रत बस्दा दिनहुँ एउटा तीर्थमा गई स्थान गर्नुपर्ने नियम छ । यसरी स्थान गर्न जाँदा सबैभन्दा पहिलो दिन हरिवोधिनी एकादशीका दिन क्वयना चक्र तीर्थमा, द्वादशीका दिन नख्खु जय तीर्थमा, त्रयोदशीका दिन जलक्वः ज्ञान तीर्थमा, चर्तुदशीका दिन क्वयना पुण्य तीर्थमा र सकिमिला पूर्णिमाका दिन च्वय्गाः सुलक्षण तीर्थमा गएर स्नान गरी देवताको दर्शन गर्नुपर्छ । अनि हरेक दिन पाञ्चजुले क्रमैसँग ब्रत बस्ने सबैलाई ३ अञ्जुली पानी पिलाउँछन् । “जल पालं” भनेर फलाहारको नाममा जल फलाहार खुवाउने हो । यसरी जल फलाहार गरिसकेपछि दिनभरी केही पनि खानु हुँदैन । भोक लागेमा पुनः पानी खाने र खुवाउने गरिन्छ । दिनहुँ यसरी नुहाएर चोखो नितो गरी चोखो लुगा लगाएर आफू बसेको बहालबाट बाहिर नगई बस्नु पर्दछ । ब्रत बस्नेहरूले दिनभर धर्म देशना, कथा सुन्ने, भजन गाउने र बेलुका देवताको आरती गरेर विश्राम गर्नुपर्ने विधान छ ।
यो माय् अवसं व्रत जसले बसे पनि हुन्छ । यसमा कुनै जातिपातिको भेदभाव छैन । हुन त यो माय् अवसं नेवारी संस्कार र संकृति अनुरूप मान्दै आइरहेको धार्मिक कार्य भएता पनि गैरनेवारहरूले पनि यसमा भाग लिँदै आइरहेका छन् । त्यसमा पनि जातिपाति र धार्मिक भेदभाव नभएकोले पनि यो ब्रतलाई धार्मिक सहिष्णुताको रूपमा लिइएको छ ।
नेवारहरूको यो परम्परागत माय. अवसं बस्ने सन्दर्भमा नेवारहरू भन्दा गैर नेवारहरूको संख्या बढी देखिन्छ। नेवारहरूको आफ्नो पनको संस्कारले गर्दा यो ब्रत बस्न कठिन भएकोले नेवारहरूको संख्या कम हुँदै गएको देखिन्छ । नेवारहरूले ब्रत बस्दा घर परिवारका सदस्यहरूले समेत जुठो चोखो गर्न नहुने, घरमा जथाभावी गर्न नहुने जुठो चोखो बार्नु पर्ने र चोखो नितोमा वाधा पनि नहुने धार्मिक मान्यता छ । केही गरी घरका परिवारले जुठो चोखो ग¥यो वा जुठोपुरो बचाई राख्यो भने ब्रत बस्नेको स्वास्थ्य बिग्रने ज्वरो आउने, पेट दुख्ने रोग लाग्दो रहेछ । त्यसो भएमा पाञ्जुले भनेजस्तै गरी क्षमापूजा गरेमा मात्र स्वास्थ्य ठीक हुने गर्दोरहेछ । यो व्रत बस्दा स्वास्थ्य राम्रो हुने, मनको इच्छा पूरा हुने, विभिन्न किसिमका रोग निको हुने, घरमा राम्रो हुने र सुख, शान्ति, ऐश्वर्य प्राप्त हुने जनविश्वास छ ।
नेवारहरूले माय् अवसं व्रत बस्दा घरका परिवारले पनि धार्मिक विधि अनुसार नियममा बस्नुपर्ने र व्रत बस्न सकिएपछि भोज खुवाउनुपर्ने साथै अष्टमी पूजा घलं दनेगु भन्दै आदिनाथ लोकेश्वरको पूजा आराधना गर्नुपर्ने विधान छ । तर, गैर नेवारहरूको भने यस्तो पूजा गर्ने र भोज खुवाउनु नपर्ने भएकोले पनि यो ब्रत बस्नेहरू नेवारभन्दा गैरनेवराहरूको संख्या बढ्दै गएको हो ।
नेवारहरूले व्रत बस्न सकेपछि गुरुजु राखेर अष्टमीको पूजा गर्नुपर्ने र पूजा सकिएपछि लोग्ने हुनेहरूले लोग्नेले व्रतालु महिलालाई उठाई लाने गरिन्छ । पवूजा सकिएपछि आफन्त छरछिमेकीहरूलाई पनि भोज खुवाएर घरमा जाने गरिन्छ । कसैकसैलाई घरबाट लिन आएन भने पाञ्जुले उठाई दिने चलन छ । यदि लोग्ने भएका महिलालाई लोग्ने उठाउन आएन भने उक्त समयमा अन्य कुनै पुरुष आएर उठाई दियो भने उही पुरुषसँग विवाह गर्न हुने चलन छ । माय् अवसंको यो एउटा आश्चर्यलाग्दो चलन छ । यदि लोग्नेले उठाउन आएन भने उनीहरूको बीचमा पारपाचुके भयो भन्ने प्रमाणित हुने पुरानो चलन छ । यो एउटा परम्परागत पारपाचुकेको चलनको रूपमा लिइराखेको छ ।
परम्परागत पुरानो चलन अनुसार माइतीमा बसेकी महिलालाई लोग्नेले लिन आएन भने पार लिने रूपमा माय्. अवसं व्रत बस्ने गरिन्छ । त्यस्तै लोग्ने स्वास्नीको बीचमा वर्षौंदिनसम्म पनि मेलमिलाप हुन सकेन वा लोग्ने र सासुले माया नगरी हेला मात्र गरिरहँदा बस्न टिक्ने गाह्रो भयो भने पनि यसरी माय् अवसं बस्ने गरिन्छ । यसरी माय् अवसं बसिरहेको ठाउँमा लोग्नेले लिन आएन भने पारपाचुके भएको ठानिन्छ । उक्त समयमा अन्य कुनै पुरुषले त्यस महिलालाई अपनाएर लान चाहेमा लगी विवाह गर्न सकिने परम्परागत चलन रही आएको छ ।
प्रतिक्रिया