हरेक वर्ष मुखः अष्टमी अर्थात् कार्तिक शुक्ल पक्ष अष्टमीका दिन देवाधिदेव पशुपतिनाथलाई बुद्ध भगवानको रुपमा पूजा गरिन्छ । यो दिन नित्य पूजा गर्दा पशुपतिनाथको शिरमा पञ्चवुद्ध भएको तामाको मुखौटो पहि¥याइन्छ । पशुपतिलाई मुखौटो पहि¥याउने अष्टमी भएरै मुख अष्टमी भनिएको हो । पशुपतिनाथसँग बुद्धको सम्बन्ध परापूर्वकालदेखि रहँदै आएको छ । पहिलापहिला पशुपतिनाथका मूल पुजारी गुरुजु बज्राचार्यहरु थिए । पछि राजा जयस्थियित मल्लले हिन्दूस्थानबाट पुजारी झिकाउर मुल भट्ट बनाई राखे । तर, मूल भट्ट हिन्दूस्थानकै राखेता पनि हालसम्म पनि त्यहाँ पहिलादेखि भएका भण्डारको काम गर्ने राजभणरी, खड्गी, कश्ले र कुचिकार समेत गरी नौथरी जातका नेवारहरुले विभिन्न किसिमका काम गर्दै आइरहेका छन् ।
नेपाल देश पहिलादेखि कृषि प्रधान देश र यहाँका आदिवासी नेवारहरु प्रकृतिका पूजक मात्र थिए । पछि बौद्ध धर्म फैलिए पनि धेरै मानिसहरुले बौद्ध धर्म ग्रहण गरेका हुन् । यहाँ बौद्ध धर्मले व्यापक रुपमा स्थान लिई सकेपछि हिन्दूस्थानका धर्म गुरुहरु आई हिन्दूकरण गरेका हुन् । बौद्धहरुले गणेश, महादेव, भैरव, लक्ष्मी, सरस्वती, वसुन्धरा, बाराही, अष्टमातृका र योगिनीहरुलाई पनि बौद्ध परम्परा अनुसार मान्दै आइरहेका छन् । त्यसै कारणले पनि यहाँ प्राख्यात देवीदेवताहरुको पनि बुद्धसँग घनिष्टसम्बन्ध रहेको देखिन्छ । जस्तै कि चावहिलको गणेश चन्द्रविनायक बौद्ध नैत्यमा अडेस लगाई राखिएको छ । त्यसै शोभाभगवती पनि चैत्यमा अडेस लगाइएको छ । यसरी नै बुढानिलकण्ठ नारायणको शिरमा पनि बुद्ध भगवान रहेको छ । यो दिन अर्थात् मुख अष्टमीका दिन चोभारका आदिनाथ आनन्दादि लोकेश्वरमा पनि स्वयम्भूमा जस्तै गएर कार्तिक महिनाको मेला समापन गरिने पर्वको रुपमा मानिँदै आएको छ । यसरी बौद्ध धर्म, दर्शन र संस्कृतिले यहाँ बौद्ध र हिन्दू धर्मको अत्यन्तै गहिरो सम्बन्ध भएका प्रमाण धेरै नै भेटिन्छन् ।
परापूर्वकालदेखि चल्दै आइरहेको यस्तो धार्मिक, सांस्कृतिक, ऐतिहासिक संस्कार र परम्परालाई बिगार्ने नियतले यहाँ विभिन्न किसिमका विकृतिविसंगति भएको देखिन्छ । पहिला पहिला मुख अष्टमीका दिन पशुपतिनाथको शिरमा विहान लगाई दिने पञ्चबुद्ध भएको मुखौटो दिनभरी नै लगाई राखिन्थ्यो । अनि त्यो मुखौटो नदेखिने गरी फूलैफूलले ढाकेर राखिन्थ्यो । अहिले भने विहान नित्य पूजा गर्दा पशुपतिको शिरमा स्वाट्ट लगाई दिने अनि तुरुन्तै स्वाट्ट निकाल्ने गरिन थाल्यो । पशुपतिका भट्टहरुले यसरी मुखौटो लगाउने वित्तिकै स्वाट्ट निकाली हिन्दूकरणलाई बढी मान्यता दिएको देखिन्छ । साँच्चै भन्ने हो भने, बुद्ध धर्म र दर्शन मन नपराउने हिन्दूहरुले आफूलाई पनि बौद्ध भन्लान् भन्ने लाजले हो वा बुद्धलाई निचो देखाउने नियतले मात्र यस्तो गरेको वा गराएको त होइन भन्ने प्रश्न चिन्ह खडा भएको छ । यस्तै गतिविधि बढ्दै गयो भने भोलि गएर पशुपतिको शिरमा बुद्धको मुखौटो लगाई दिने चलन नै हराउन के वेर ? यसैले सम्पूर्ण बौद्धहरुले यसमा चिन्ता र चासो लिनु प¥यो । शपुपतिमा व्यापक रुपमा बुघद्ध पूजा गर्न हुलका हुल बौद्धहरु जानु प¥यो । अहिले पहिला पहिला जस्तै भइसक्यो । अहिले आएर पशुपतिमा बुद्धपूजा गर्नेहरु अत्यन्तै कम हुँदै गएको देखिन्छ । हरेक वर्ष पशुपतिमा हजारौं बौद्ध धर्मावलम्बीहर गएर बुद्ध पूजा व्यापक रुपमा गर्नुप¥यो । कोही कोही भन्टे, लामा भिक्षुहरु र उपासक उपासिकाहरु गएको देखिन्छ तर, हुलका हुल हुने गरी गएको देखिँदैन । कतै भन्थे र भिक्षुहरु हिन्दू देवता पशुपतिमा जानलाज मानेर मात्र नगएका हुन् कि भन्ने प्रश्न पनि खडा भएको छ ।
पूर्व महालेखा नियन्त्रक यज्ञमान बज्राचार्यका भनाइ अनुसार पशुपतिलाई पहिला पलिहा ग्वलः महाघः अर्थात् देवपतनका महादेव भनिन्थ्यो । त्यो समाजमा ग्वलः महादेवलाई पशुवलि दिएर पूजा गर्ने क्रममा प्रतियोगिता जस्तै हुन गयो रे । उसले चार वटा पशुबलि दिए मैले आठ वटा दिन्छु उसले पाँचवटा बलिदिए मैले दशवटा बलि दिन्छु भन्दै धेरै नै बलि दिइने गरियो रे । बलि दिने क्रममा बलि दिने राँगो, बोका नभएर भर्खरै जन्मेका ‘म्याय्’ भन्नासात् लगेर पनि बलि दिने गरियो रे । ओहो, यो त ज्यादै अनर्थ भयो पशु भन्ने नै नरहेन भो, यसरी पशुबलि दिलाउनु भएन भनि त्यसबेलाका सरकराले पशुबलि दिने कार्य बन्द गरेर पशुहरुको उद्धार गरेकाले पशुका पति भनी ग्वल महादेवलाई पशुपति भनिएको हो । तर, यसरी पशुबलि दिने कार्य एकैचोटी बन्द गर्नु हुँदैन, पशुपतिका दक्षिण मुख उग्र भैरव भएकोले बलि त दिनु नै पर्छ भनी पूर्णिमामा मात्र बलि दिँदै आएको हो ।
पशुपति क्षेत्रका बासिन्दा समाजसेवी शंकर पौडेलका भनाइ अनुसार पशुपतिको दक्षिण मुख उग्र भैरव भएकाले यहाँ अनेक किसिमका विध्वंस हुन सक्ने भएकोले त्यसलाई रोक्न प्रत्येक पूर्णिमाका दिन राँगो, बोका, हाँस, कुखुरा र भेंडाको पञ्चबलि दिँदै आएको हो । यसरी पञ्चवलि दिँदा पशुपतिको दक्षिणतर्फ रहेको कीर्तिमुख भैरवलाई दिइने हो । झा बाहुनहरुले त्यस दिनमा ७–८ मुरी भात पकाएर पशुपतिको दक्षिण मुखलाई भोग लगाउन त्यही भूइँमा रहेको तामाको पातामा भातको रास राखिन्छ । पूर्णिमाकै दिन एउटा साँडेलाई सानो त्रिशुल तताई दामेर छाड्ने गरिन्छ । प्रत्येक वर्षमा १३ वटा साँडे (एकपटक दुई वटा समेत गरी) लाई जिउमा त्रिशुलले दामेर छाड्ने चलन रही आएको छ ।
मुख अष्टमीका दिन पशुपतिलाई पञ्चबुद्धको मुखौटो किन पहि¥याउनु प¥यो भन्ने सन्दर्भमा एउटा किंवदन्ती यस्तो छ । परापूर्वकालमा यहाँ जंगलैजंगल र कतै कतै मात्र वस्ती भएको गाउँहरु रहेछन् । एउटा गाउँबाट अर्को गाउँमा जान टाढा पर्दोरहेछ । त्यस समयमा एउटा गाउँमा बस्ने दम्पत्तिको छोरो जन्मेछ । बाबुले मुख हेर्न नहुने मूल्याहा छोरा जन्मेको थाहा पाई भर्खरै जन्मेको छोरा र स्वास्नीलाई छाडेर बाबु चाहिँ जोगी भएर गएछ । आमा चाहिँ पनि केही दिन पछि त्यो बच्चालाई अरुलाई दिएर आफू पनि जोगिनी भएर गइछे ।
जब त्यो अरुले पालिराखेको बच्चा ठूलो हुन्छ, उसले आफूलाई त धर्मपुत्र बनाएर यो पालेको रहेछ अनि आफ्ना आमा बाुब दुवै जोगी भएर गएको कुरा थाहा पाई ऊ आफू पनि जोगी भएर गएछ । विभिन्न स्थानमा घुम्दै फिर्दै जाँदा त्यो युवा जोगी एकदिन एउटा गाँउँमा बास बस्न पुग्छ । ऊ बास बसेको कुटीमा एउटी जोगिनी मात्र रहिछ । दुवैले कुराकानी गर्दै खानपीन गर्छन् । उनीहरु दुवै जोगी जोगिनी कुराकानी गर्दै सुत्ने क्रममा संसर्ग हुन पुग्छ । भोलिपल्ट विहान सबेरै उठेर आआफ्ना विषयमा सोधि खोजी गर्दा उनीहरु दुवै त आमा छोरा हुन् भन्ने कुरा थाहा पाउँछन् । ओहो यो कस्तो ठूलो अपराध गर्न पुगेछु म बाँचिरहनु त धिक्कार छ भनी जोगिनी भइरहेकी आमा खोलामा हाम्फालेर मर्छिन् । छोरा जोगी पनि मरेर जान्छु भनी खोलामा फाल हाल्न लाग्दा अर्को जोगीले देखेर बचाउँछन् । युवा जोगीका सबै कुरा सुनेर त्यस जोगीले महादेवको तपस्या १२ वर्षसम्म गर्नु पापबाट मुक्ति हुन्छ भनेछ । अनि उसले तपस्या गरेको १२ वर्ष पुगेपछि पशुपति महादेवले दर्शन दिई वरदान मागभन्दा त्यो जोगीले आफूले गरेको पाप मोचन होस् भनी मागेछ । महादेवले “ओहो यो त अत्यन्तै ठूलो पाप हुन गएछ यस्तो पाबाट मुक्त हुन गाह्रो छ । यदि तिमीले ठूलो कराइमा तताइराखेको सिसा पिउन सक्यौ भने मात्र यो पापबाट मुक्त हुन सकिन्छ” भनेछ ।
अव त्यो जोगीले के गर्ने ? यो त सरासर आत्महत्या गर्ने काम भयो भन्ने पीर मान्दै पश्चिमतर्फ लाग्छ । जाँदाजाँदा ऊ स्वयमभू भगवान कहाँ पुग्छ । जंगलको बीच डाँडाको चुच्चोमा रहेका स्वयमभू भगवानलाई वन्दना गरेर त्यहीँ तपस्या गरेर बस्छ । १२ वर्ष पुगेपछि बुद्ध भगवानले दर्शन दिएर वरदान माग भन्छ । अनि उसले आफूले गरेको पापबाट मुक्त हुने वरदान माग्छ । बुद्ध भगवानले उसलाई एउटा फलामको जप माला दिएर “यो जपमाला जप्दै तपस्या गर्नु जति जति खिइँदै जान्छ उति उति नै तिम्रो पाप पनि कम हुँदै जान्छ” भन्नुभयो ।
भगवान्को यस्तो कृपा पाउने वित्तिकै त्यो जोगीले सन्तोषको सास फेरेर माला जप्दै तपस्या गर्न गर्न थाल्छ । १२ वर्ष तपस्या गरेपछि फलामको माला कति खिइयो भनी हेर्दा अलिकता पनि खिइएको देख्दैन । अनि दिक्क भएर खोलाको किनारमा गई हेरेर बस्छ । त्यहाँ एउटा भंगेराले खोलाको पानी आफ्नो चुच्चोमा राखेर लान्छ अनि अर्को स्थानमा एउटा फराकिलो अग्लो सुख्खा स्थानमा खन्याउँछ । भंगेराले गरेको यस्तो काम हेर्दा हेर्दै त्यो जोगीले “यस्तो सानो भंगेराले त खोलाको पानी लगेर पोखरी बनाउने प्रयास गरिरहेछ भने मैले मात्र किन नगर्ने भनी फेरि अर्को १२ वर्षसम्म तपस्या गर्छ । १२ वर्षपछि त्यो माला हेर्दा अलिकता खिइएको देख्छ । अनि त्यो भंगेराले के गरिरहेको होला भनी हेर्न जाँदा त्यो भंगेराले पनि लगातार चुच्चोमा खोलाको पानी लगिरहेको देख्छ । अनि भंगेराले पोखरी बनाइराखेको सुख्खा स्थानमा पनि हो कि होइन भने जस्तो अलिकता भिजेजस्तो देख्छ ।
यस्तो फिस्टे भंगेराले त यति धेरै साहस गरेर पोखरी बनाउन कोशिस गरिरहेको छ भने मैले मात्र किन नसक्नु फलामको माला खिइने गरी तपस्या गर्छु भन्दै फर्केर गई फेरि तपस्या गर्न थाल्छ । १२ वर्ष भएपछि हेर्दा त माला अलि अलि खिइएको देख्छ । त्यस्तै भंगोराको पोखरीमा पनि अलि अलि पानी भरिएको देखिन्छ । यसरी तपस्या गर्दा गर्दा जब त्यो फलामको माला आधा जति खिइन्छ उसको शरीरमा एक प्रकारको दैवी शक्ति भरिएर आउँछ । त्यसै समयमा भगवान बुद्धले ज्योति स्वरुपको दर्शन दिँदै त्यो जोगीलाई सम्पूर्ण पापबाट मुक्त भएको घोषणा गर्दै आशिर्वाद दिनु हुन्छ । भगवनको दर्शन र आशिवार्द पाउने वित्तिकै त्यो जोगी झन् बढी शक्ति प्राप्त भई शक्तिशाली हुन पुग्छ । उसको शरीरभित्र पनि भगवानको दिव्यज्योति भरिएर आउँछ ।
यसरी शक्तिशाली भएका त्यस जोगीले आफूलाई सिसा पगालेर पिउ भन्ने पशुपति महादेवसँग अत्यन्तै रिसाएर स्वयम्भुदेखि पशुपति जाने बाटोमा जति पनि शिवलिङ्ग देखिन्छ ती सबै शिवलिङ्गलाई लात्तीले हान्दै हान्दै जान्छ । यसरी स्वयम्भुदेखि पशुपतिसम्मा शिवलिङ्गलाई त्यस जोगीले लात्ती हानेकाले अहिलेसम्म त्यहाँ भएका शिवलिङ्ग सबै ढलकेको देखिन्छ । किरातेश्वर महादेवको शिवलिङ्ग पनि लात्तीले हानी राखेकोले ढल्केको हो भनिन्छ । पशुपति परिसरमा भएका सबै शिवलिङ्गलाई लात्ती हानी सकेपछि जब त्यो जोगी पशुपतिको मूर्तिको अगाडि पुग्छ अनि पशुपतिलाई नै लात्ती हान्न खुट्टा उचाल्दा लौ वित्यास प¥यो भन्दै भगवान् बुद्ध उत्तिनैखेरै शपुतिको शिरमाथि विराजमान भई दिन्छन् । पशुपतिको शिरमा भगवान बुद्ध देख्ने वित्तिकै त्यो जोगीले भगवान्सँग क्षमा मागी वागमती नदीको किनारमा गई सिद्ध भएका हुन् भनिन्छ । यसरी सिद्ध भएर बसेका त्यही जोगीलाई विरुपाक्ष भनी मान्दै आएको हो । भक्तजनहरुले विरुपाक्षलाई कलिका देवता पनि भन्ने गर्छन् र कलिका रुप भनी बागमतीबाट जल ल्याएर चढाउने गर्छन् । धर्मशास्त्र अनुसार विरुपाक्ष महादेवकै रुप हुन् ।
प्रतिक्रिया