नेवारी संस्कृतिमा तिहार

gai pujaनेवारहरूको आफ्नै मौलिक संस्कृति र परम्परा रही आएको छ । यो नेवारहरूको पहिचान पनि हो । परापूर्वकालदेखि नै नेवारहरूको आफ्नै भाषा, धर्म र संस्कृति चल्दै आइरहेको छ । नेवारी चाडवाड, विभिन्न देवदेवीका जात्रा पर्व र मेलाले गर्दा नै नेवारहरू संस्कृतिका धनी भएका हुन् । नेवारी संस्कृति नै आज आएर राष्ट्रकै संस्कृति र सम्पादको रूपमा उल्लेखनीय बन्न पुगिसकेको छ । कतिपय नेवारी संस्कृति र सम्पदाहरू विश्व सम्पदाको सूचीमा परिसकेका छन् ।

नेवारहरूकै मात्र देश भइरहेको बेलादेखि मनाउँदै आएका विभिन्न चाडवाड, जात्रा पर्व र मेलामध्ये एउटा अत्यन्तै रमाइलो चाड हो स्वन्ति नखः तिहार । नेवार समुयदाले कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयसम्म पाँच दिन देशभर स्वन्ति नखः तिहारमा कागपूजा, कुकुर पूजा, लक्ष्मीपूजा, म्हपूजा र भाइटीका गरी मनाउँछन् । नेवारहरूले गोवद्र्धन पूजा भने गर्दैैनन् । काग तिहारदेखि भाइटीकासम्म पाँच दिन मानिने तिहारलाई यमपञ्चक पनि भनिन्छ । पाँच दिनसम्म यमराज मत्र्यमण्डलमा बस्ने मान्यता भएकाले यमपञ्चम भनिने हो ।

काग पूजा
तिहारको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीका दिन नेवारहरूले कागलाई “जङति क्वः” यमदूत मानेर पूजा गर्दछन् । कागले धेरै गुण भएकलो पनि पूजा गर्ने चलन चलेको हो । मानिसलाई विभिन किसिमले सहयोग गर्दै आइरहेको कागले समय–समयमा सूचना दिन आउँछ भन्ने पुरानो धारणा पाइन्छ । घरको कौसीमा वा छतमा काग आएर करायो भने सबोल सुबोल भन्ने चलन अझै पनि छ । कागसँग कुने पनि काम पूरा नभएसम्म लागिरहने गुण भएकलो ‘कागचेष्टा’ पनि भन्ने गरिन्छ । हामी मानिसहरूले पनि ‘कागचेष्टा’लाई कहिल्यै बिर्सनु हुँदैन । कागले झैं हामीले पनि गरिरहेको काममा लागिरहनु पर्छ भन्ने ज्ञान लिनुपर्छ । नेवारहरूले पशुपन्छीलाई खुवाउनुपर्छ भन्ने पुरानो चलन अनुसार अहिलेसम्म पनि परेवा, भंगेरा र कागलाई चामल, भातको भाग राखेर खुवाउने चलन छ । कागतिहारका दिन कागलाई फूलटीकासहित घरमै पकाएको दालभात, तरकारी पातमा राखेर कागलाई चढाएर पूजा गर्ने चलन छ ।

कुकुर पूजा
तिहारको दोस्रो दिन कार्तिक चर्तुदशीमा कुकुरलाई पूजा गरिन्छ । यस दिनलाई नरक चर्तुदशी पनि भनिन्छ । कुकुरलाई पनि यमका दूतका रूपमा मान्ने गरिन्छ । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । कुकुरले मानिसलाई अनेक प्रकारले सेवा सुरक्षा गर्दे आइरहेको पाइन्छ । घरघरमा चोरले चोर्न नसकोस् र टोलैपिच्छे कुने पनि खराब मानिसहरूबाट हानिनोक्सानी नपु¥याओस् भनी कुकुरले सुरक्षा दिइरहेको हुन्छ । यसरी सुरक्षा गर्दै आइरहेको कुकुरको धेरै गुण छ । हाल आएर त तलिम प्राप्त कुकुरले विभिन्न किसिमका अपराधी पत्ता लगाउने काम समेत गर्न थालिसकेको छ ।  दैवी विपत्तिमा घटनाको सूचना पनि कुकुरले पहिला नै दिएर मानिसहरूलाई सचेत र होसियारी पनि गराउँछ । यस प्रकार विभिन्न गुण भएका कुकुरलाई तिहारमा फूल, टीका र माला लगाइएदिएर रोटी खुवाएर पूजा गरिन्छ ।

लक्ष्मीपूजा
तिहारको तेस्रो दिन कार्तिक कृष्ण औंसीमा लक्ष्मीपूजा गर्ने भन्दै विहान गाईलाई लक्ष्मीमाता मानेर पूजा गर्छन् भने बेलुका लक्ष्मीदेवीको मूर्ति वा तस्वीरमा पूजा गर्छन् । कुनै पनि धार्मिक कार्य वा संस्कार गर्दा गोबरले भुइँ लिपेर गोमूत्र छर्केर चोखो पार्नुपर्छ । ठूला–ठूला धार्मिक कार्य गर्नु अघि गौदान गर्ने पनि चलन छ । कुने पनि धार्मिक कार्यमा गाईको दूध, दही, घ्यु, गोवर र गोमूत्र नभई हुन्न ।

जनैपूर्णिमाका दिन हातमा बाँधिराखेको रक्षा सूत्रलाई लक्ष्मीपूजाका दिन गाईको पुच्छरमा बाँधी दिए मरिसकेपछि स्वर्गमा जाने बाटोमा पर्ने वैतरणी नदी गाईले तारिदिन्छे भन्ने धार्मिक मान्यता रही आएको छ । गाईलाई गौमाताको रूपमा मान्यता दिइराखेको छ । गौ हत्या महापाप हो भनी हाम्रो देशमा गौहत्यालाई मानिसकै हत्या बराबर मानेर कानूनी व्यवस्था रही आएको छ । यसरी विभिन्न महत्व भएकी गाईलाई लक्ष्मीपूजाका दिन विहान सबेरै टीका र फूलको माला लगाई दिएर रोटी, साग, फूलफूल खुवाएर पूजा गरिन्छ ।

लक्ष्मी पूजाका दिन विहान घरभरि सरसफाई गरेर चोखोनितो गरी पवित्र पारेपछि लक्ष्मीपूजाको तयारी गरिन्छ । बेलुका पूजा गरिने लक्ष्मी देवीलाई धनधान्यकी देवी र ऐश्वर्यका प्रतिकका रूपमा लिइन्छ । औंसीका दिन पुजा गर्नुपर्ने लक्ष्मीदेवीलाई पूजाकोठासम्म भित्र्याउने गरिन्छ ।

नेवारहरूले पूजा गर्ने लक्ष्मी नेवारी संस्कृति अनुसार आफ्नैपनको छ । नेवारहरूले लक्ष्मीको मुर्तिमा पूजा नगरी पुंहरूले (नेवार चित्रकार) लेखिराखेको लक्ष्मी देवीको चित्रमा पूजा गर्छन् । चार हात भएकी अर्धपद्मासनमा बसी खुट्टाले कछुवाको जिउमा टेकेकी, दाहिने हातमा ज्वला न्हयाय्कं)परम्परागत ऐना) र देव्रे हातमा सिन्हः मू(परम्परागत सिं)दूरको वट्टा) लिएकी हुन्छिन् भने अरू दुई हातमा अभय र वरमुद्रो भएकी लक्ष्मी देवीलाई नै पूजा गरिने हो । लक्ष्मीदेवीको दायाँवायाँ कुवेर र ख्याक हुन्छन् । नेवारहरूले पूजा गर्ने यस्ती लक्ष्मीदेवी रातो वर्णकी हुन्छिन् । रातो भन्नु नै अग्नि र शक्तिको प्रतिक हो । लक्ष्मी देवीको पाउमुनि बस्ने कछुवालाई सहनशीलताको प्रतीकको रूपमा लिइन्छ । त्यस्तै धनको पोको कुम्ल्याएर बोकिरहेका कुवेरलाई धनसम्पत्तिका मालिकको रूपमा लिइएको छ भने ख्याकलाई ढुकुटीको पाले र रक्षको रूपमा लिइएको छ । लक्ष्मीदेवीको गणका रूपमा बसिरहेका कुवेर र ख्याक भएका लक्ष्मीदेवीलाई नै लक्ष्मीपूजाका दिन नेवारहरूले आफ्नै मौलिक रितले पूजा गर्ने चलन छ ।

नेवारहरूले यसरी पुजिँदै आएको लक्ष्मीदेवी महालक्ष्मीकै साक्षत् रूप हुन् । महालक्ष्मीको अर्को भयंकर रूप महिर्षमर्दिनीले महिषासुरलाई वध गर्दा रक्सी सेवन गरी मात्तिएकी देवी भएकीले नेवारहरूले लक्ष्मीको पूजा गर्दा राँगाको मासुको छवय्ला, अन्डालगायत समयवजी र जाँडरक्सी पनि चढाउने गर्छन् । ललितपुरको महालक्ष्मीस्थानमा पूजा गरिँदै आएको महालक्ष्मीको मूर्ति महर्षिमर्दिनीकै रहेको छ । त्यस्तै, काठमाडौंको न्युरोड विशालबजारस्थित महालक्ष्मीको मन्दिरमा पनि महर्षिमन्र्दिनीकै मूर्ति रहेको छ । यी महालक्ष्मी देवीलाई बलि दिने चलन छ ।
deusi
म्ह पूजा
तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदामा नेवारहरूले म्हपूजा र नेपाल सम्वतको नयाँ वर्ष मनउाने दिन हो । नेवारी संस्कृतिको मौलिकतालेृ भरिएको यस म्हपूजाका दिन नेवारहरूले आफ्नो शरीरलाई देवता मानेर म्ह पूजा (आत्मपूजा) गर्दा आफ्नो शरीरमा देवत्व प्राप्त होस्, शरीरमा भएका खराब नकारात्मक तत्वहरू निस्कियोस्, अन्य खराब तत्वहरू नभित्रियोस्, दिन दशा पनि शुभ होस्, कसैसँग ऋण सापटी पनि लिन नपरोस्, अनि आफूले गरेका काममा सफलता प्राप्त भई शान्तिपूर्वक जीवनयापन गर्न पाइयोस् भन्ने विभिन्न किसिमका आशीर्वाद थापेर सगुन लिएर टीका लगाई म्हपूजा गर्छन् ।

म्हपूजा गर्दा अपष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने गरी आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरेर सोही मण्डपमाथि भोज राखेर खुवाइन्छ । यही दिन राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३५ वर्ष अघि देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको नेपाल सम्वत पनि फेरिन्छ । नयाँ वर्ष लागेको उपलक्ष्यमा “न्हु देँवा भिन्तुना” भन्दै देशैभरि र बाहिर विदेशमा समेत भिन्तुना ¥याली र विभिन्न कार्यक्रमको आयोजना गरी नेवारहरूले भव्य रूपमा मनाउँछन् ।

भाइटीका
तिहारको पाँचौं दिन कार्तिक शुक्ल द्वितीयमा भाइटीका गरिन्छ । दिदिबहिनीहरूले आफ्ना दाजूभाइहरूलाई पूजा गर्छन् । भाइटीका गर्दा पनि म्हपूजामा जस्तै मण्डप बनाएर दिदीबहिनीले आफ्ना दजाुभाइलाई माया, ममताले भरिएको मनले आशिष दिँदै उसिनेको अन्डा र रक्सीको सगुन दिई फुलको माला, क्वखा(धागोको माला) लगाई दिएर थरीथरीका मिठाई रोटी र फलफूल पनि दिई भोज खुवाउने नेवारी परम्परा रही आएको । दाजुभाइले पनि दिदिबहिनीलाई आफ्नो गच्छेअनुसार उपहार वा पैसा दिने गर्छन् । यसरी गरिने भाइटीकामा दिदीबहिनी र दाजुभाइबीचको सुमुधर सम्बन्धका साथै दाजुभाइका सुख, समृद्धि र दिदिबहिनीका सौभाग्य दिगो हुने मान्यता रही आएको छ ।

पञ्चरात्री मेला
नेवारी संस्कृति अनुसार दशैंमा नवरात्री मेला भर्ने सन्दर्भमा नौवटा तीर्थमा गई स्थान गरेर नौवटै शक्तिपीठमा गएर देवताको दर्शन गर्ने चलन छ । त्यस्तै, तिहारमा पनि पञ्चरात्री मेला भर्ने सन्दर्भमा पाँचवटा तीर्थमा गएर नुहाई पाँचवटै शक्तिपीठको पूजा गरेर पाँचवटा महादेवलाई अर्ध दिने चलन छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँचवटा तीर्थमा गएर स्थान गर्ने सन्दर्भमा क्रमैसँग निर्मल तीर्थ(भचाखुसी), चिन्तामणि तीर्थ(टेकु), महेन्द्र तीर्थ (हिजाखुसी), निधान तीर्थ(लखुतीर्थ) र कालमोचन तीर्थ(थापाथली)मा विहान सबेरै सांस्कृतिक बाजा बजाउँदै गएर मेला भर्ने गर्छन् ।

पञ्चरात्री मेला भर्ने सन्दर्भमा गर्नुपर्ने पूजाविधि र त्यसबाट प्राप्त हुने फल परम्परागत र धार्मिक मान्यता अनुसार क्रमैसँग यस प्रकार छन्  :–

१) कार्तिक कृष्ण त्रयोदशीका दिन निर्मल तीर्थ (मचाखुसी) इन्द्रायणी अजिमाको पीठमा गएर अजिमाको देव्रेतिर रहेको महादेवलाई अर्ध दिएर कलिहः नामक फूल चढाएर चाँदीको चक्की, गुल्पा दान गर्नुपर्छ । अनि इन्द्रायणी अजिमा र गणेशलाई भोज चढाउनु पर्छ । यसबाट सबैका रोग, व्याध निर्मूल भई धन प्राप्ति हुन्छ भन्ने धार्मिक जनविश्वास छ ।

२) कार्तिक कृष्ण चतुर्दशीका दिन चिन्तामणि तीर्थ(टेकु)मा श्रीकालिको पीठमा गई कुलेश्वर महादेवलाई अर्ध दिने सुकन्दर राज नामक फूल चढाएर नवरत्न दान गर्नुपर्छ । श्रीकाली र नासः घःलाई भोज चढाउनु पर्छ । यसबाट सबै धनधान्यपूर्ण भई अन्न प्राप्ति हुने जनविश्वास छ ।

३) कार्तिक कृष्णऔंसीका दिन महेन्द्रतीर्थ (हिजाखुसी)को मैती अजिमाको पीठमा गई मैतीदेवीसँगै रहेको महोदवलाई अर्ध दिई मिकुस्वाँ नामक फूल चढाएर द्रव्यदान गर्नुपर्छ । अनि मैती अजिमालाई भोज पनि चढाउनुपर्छ । यसबाट सबैको लक्ष्मीस्थिर हुन्छ भन्ने जनविश्वास छ ।

४) कार्तिक शुक्ल प्रतिपदाका दिन निधान तीर्थ (लखुतीर्थ) कंकेश्वरी अजिमास्थानमा जाने र मरुटोलका सन्तानेश्वर महादेवलाई अर्ध दिई अजुस्वाँ नामक फूल चढाएर सुन र धान दान गर्नुपर्छ । अनि कंकेश्वरी अजिमालाई भोज चढाउनु पर्छ । यसबाट सबैको दुःख, दरिद्र नास भई धनधान्यले सम्पन्न हुने जनविश्वास छ ।

५) कार्तिक शुक्ल द्वितीयाका दिन कालमोचन तीर्थ(थापाथली)मा दोलाय् अजिमाको पीठमा जानुपर्ने र जमलका महादेवलाई अर्ध दिई सर्वावधि नामक फूल चढाएर सिंहासन र छत्र दान गर्नुपर्छ । साथै दोलाय् अजिमालाई भोज पनि चढाउनुपर्छ । यसबाट अकाल मृत्यु नहुने र सबैको कल्याण हुने जनविश्वास छ ।
यसरी पञ्चरात्री मेलामा भाग लिने हजारौं भक्तजनले देशमा सुख, शान्ति होस् र सम्पूर्ण नेपालीहरूको सुख, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सबैको कल्याण होस् भनी प्रार्थना गर्छन् ।

प्रतिक्रिया