जाँगरिलालाई सर्बत्र अवसर

honey copyकुनै समय तोरीको तेल र राम्रो कृषि उब्जनीका लागि परिचित चितवन पछिल्लो समय मौरीपालन व्यावसायमा पनि अग्रणी रहँदै आएको छ । यहाँका थुप्रै कृषकको जिवीकोर्पाजनको प्रमुख श्रोत नै बनेको छ, मौरी पालन व्यवसाय । मौरीपालन व्यवसाय गरेर नै जीवनस्तरमा कायापलट भएका कृषकहरु अहिले निकै उत्साहित छन् । उनीहरु अन्य सबैलाई यो व्यवसायले दिलाएको उपलब्धी सुनाउन आतुर पनि छन् ।

व्यवसायी देव मानन्धर भन्छन्, ‘व्यवसाय सानो होस् या ठूलो । मेहनत गरे सोचे अनुसार आम्दानी भइ नै हाल्छ ।’ मानन्धर परिवार बि.स ०५२ देखि मौरीपालन व्यबसायमा ब्यस्त छन् । दुई दसकमा यसै व्यवसायले राम्रो उपलब्धी पनि दिलायो । जिल्ला कृषि विकास कार्यालयको अनुदानमा मानन्धर परिवारले मिलीफेरा जातको मौरी पाल्दै व्यवसाय सुरु गरेको हो । अहिले सो परिवारले एक सयवटा मौरीको घार राखेको छ । हरेक व्यवसायमा झैं यो व्यवसायमा पनि सामान्य समस्या त आउने नै भयो । तर, पछिल्ला दिनमा भने तराई बन्दका कारण मौरी चराउने र मह बजारसम्म पु-याउन पनि उनीहरुले समस्या झेल्दै आएका छन् ।

रोजगारीको लागि थुप्रै युवा विदेशिए पनि आफू भने परिवारको साथका कारण यसै व्यवसायमा रमाउन पुगेको उनी बताउँछन् । ‘मिहेनत गरे आफ्नै देशमा काम गरेर परिवार पाल्न सकिन्छ भने किन विदेश जानु प-यो ?’ उनी देशमै सन्तुष्ट रहेको बताउँदै भन्छन् ।

मौरी पालनको लागि सरकारी तथा गैर सरकारी निकायबाट विभिन्न तालीमहरु प्रदान गरीदै आइको छ । यसै तालीमलाई उपयोग गर्दै आफैँले व्यवसाय गर्न सक्ने र समृद्धीतर्फ लम्कन सक्ने उनको अनुभव छ ।

अत्यन्त उपयोगी जिव मौरीका उत्पादन शारिरिक रुपले अत्यन्त उपयोगी मानीन्छ । यसले उत्पादन गरेका पदार्थ अति नै पोषिलो र गुणकारी पनि हुन्छन् । शरीरका धेरैजसो रोगहरुको निदान समेत महले गर्ने बताइन्छ । यसैकारण बजारमा महको माग पनि बढ्दो छ । कर्मी मौरीहरुले सुरुमा फूलको रस संकलन गरी त्येसको प्रशोधन गर्ने गर्छन् । त्यसपछि चाकामा भण्डारण गर्ने गरेको सुगन्धित र गुलियो चिपचिपे तरल पदार्थलाई नै हामीले मह भन्ने गर्दछौँ। यसको रस संकलनको लागि कर्मी मौरीहरु फूलमा बसी आफ्नो सुडको सहायताले फूलको रस चुसी मह संकलन थैलीमा जम्मा गर्ने गर्दछन् र ती कर्मी मौरीहरुले सो रसलाई घारमा पु¥याउँछन् ।

यी सबै प्रक्रिया पूरा गरेपछि चाकामा शुद्ध मह तयार हुन्छ । महलाई कुनै किसिमको प्रशोधन गर्नुपर्ने आवश्यकता पर्दैन । मौरीले आफैं महलाई प्रशोधन गरी भण्डार गरेको हुन्छ । यस्तो महको सेवनबाट हाम्रो शरीरका थुप्रै रोगहरु नाश हुने गर्दछन् ।

मह खाने बानी गर्दा स्वास्थ्यलाई धेरै नै फाइदा हुने गर्दछ । महको सेवनले शक्ति प्रदान गर्नुका साथै कब्जियत, छातीमा जमेको खकार र खोकीलाई धेरै फाइदा गर्ने गर्दछ । यदि कसैको शरीरको कुनै भागमा काटिएको छ भने रगत आउन रोकिएपछि त्यसमा मह लगाई पट्टी बाँधिदिने गरेमा काटेको घाउ चाँडै निको हुन्छ । खोकी लागेको समयमा आधा चम्चा मह र आधा चम्चा अदुवाको रस एकै ठाउँमा मिश्रण गरी खाने गरेमा धेरै नै आराम मिल्छ ।

महका गुण यत्तिमा मात्र सीमित छैन । महले आगोले पोलेको ठाउमा पनि महले धेरै नै राम्रो गर्दछ । फोका उठ्न पाउँदैन र चाँडै निको हुुन्छ । यदि घाउ दुखिरहेको छ भने एक चम्चा मह र एक चम्चा अदुवाको रस मिलाई मलम पट्टी गर्दा दुखाई कम हुँदै जान्छ ।

जिउ चिलाउने (स–साना बिमिराहरु आउने) रोग कसैमा छ भने सयपत्री फूल (हजारीफूल) को डाँठ र पातलाई पिसेर लेदो बनाउने र त्यसमा मह मिलाई जिउभरी लगाउने गर्दा चिलाउने रोगको नियन्त्रण हुन सक्ने जानकारहरु बताउँछन् ।

रुघाखोकी लागेमा असुरोको मुन्टाको १÷२ चम्चा रस निकाली त्यसमा मह राखेर चाट्ने गरे केही दिनमा रुघा निको हुने गर्दछ । स्त्रीहरुको रक्तप्रदरमा कुरिलोको २÷३ चम्चा रस निकाली त्यसमा मह मिलार्ई केही दिनसम्म खाने गरे रक्तप्रदर हुनेलाई धेरै फाइदा गर्दछ । मह सेवनाका अपनाउनु पर्ने सर्तकता पनि नभएका होइनन् । घिउसँग खाँदा बराबरी गरे हानीकारक मानीन्छ । मह र घिउ खानु परेमा एक भाग घिउ र तीन भाग मह मिलाएर खानुपर्दछ । महलाई तातो चिजसँग, तातो पारेर, तातो समयमा पनि खानुहुँदैन । तातो दूध, तातो पानी, तातै खानासँग पनि मह खानुहुँदैन । चिसो चिज र चिसो समयमा खानु फाइदाजनक हुन्छ । महलाई धेरै समयसम्म लगातार खानु हुँदैन, बीच–बीचमा १÷२ महिना छाडेर खाने गर्नु धेरै फाइदाजनक मानिन्छ । एउटा कुरा के याद गर्नु पर्दछ भने महसँगै गुड, तेल, पाकेको कटहर, माछा, अण्डा र मासु कदापि खानु हुँदैन । यसले हानी गर्दछ ।

यो व्यवसायबाट मानन्धरले ६ महिनामा दश कुन्टल मह उत्पादन गर्दै आइरहेको छ । उनले यहि व्यवसायवाट बार्षिक रुपमा तीन लाख आम्दानी गर्दै आईरहेका छन् । तराई बन्दका कारण भने मौरी चरणमा लान धेरै समस्या भएको उनको गुनासो छ । तराई बन्द भए पछि मौरीलाई चरनमा लाँदा दोब्बर गाडीभाडा तिर्नु परेको उनले बताए ।

मौरीलाई कृषकले ६ महिना चरनका लागि बाहीरी जिल्लामा लैजाने र ६ महिना घारमा नै राख्ने गरिन्छ । चरनमा लाँदा तोरीको फूलमा विषाधि प्रयोग गर्नाले मौरी मर्ने समस्या अझै सम्म पनि नहटेको मानन्धरको गुनासो छ । उनी भन्छन्, ‘मौरी चरणको लागि सडकको समस्या छ । सडकको व्यवस्था भए हामी व्यवसायीक रुपमा मौरी पालन व्यबसाय गर्ने कृषकहरुलाई अझ सहज हुने थियो । ’

काठमाडौँ, पोखरा, विराटनगर ,विरगञ्ज, बुटवन, भैरहव लगायतका क्षेत्रमा चितवनमा उत्पादित महको अत्याधिक प्रयोग हुन्छ ।

प्रतिक्रिया