खोकनाको सिकाली नाच र जात्रा

silali 4 copyखोकनाको सिकाली नाच प्रसिद्ध नाच हो । सिकाली भनिने देवी सिद्धीकाली हुन् । उनी शिवशक्ति भएकी रुद्रायणी पनि हुन् । बौद्ध र हिन्दूहरुले उत्तिकै मान्ने सिकालीमाताले हिन्दू र बौद्धका बीच समन्वय कायम गरिराखेको पाइन्छ ।

खोकनाको विषयमा सुन्नमा आएको एक किंवदन्ती अनुसार एकपटक पचली भैरवका पुजारी ज्यापु विषम ज्वरले थला पर्दा त्यहाँका आफन्त सबैले मरेको ठानी दाहसंस्कार गर्न पचलीको चिहानमा लगेछन् । पुजारी ज्यापुलाई चितामा राखी दागवत्ती दिन लाग्दा अचानक हावा हुरीसहित घनघोर वर्षा भएकोले चितामा राखेका पुजारीलाई दिएको आगो पनि निभेछ । तत्कालै खोलामा बाढी आई त्यस ज्यापु पुजारीको लाश पनि बगाएर लग्यो । मलामी गएका गुठियारहरु पनि आत्तिएर भागे । अचेत भइरहेका ज्यापुको शरीरलाई खोलाले बगाउँदै लगेर निकै पर खोलाको किनारामा फालेछ । एकछिनपछि त्यस ज्यापुलाई होस् आउँदा आफूलाई धागोले बेरी राखेको देखेर ज्यादै डराएर ध्यानाचो माजुलाई पुका¥यो । ध्यानाचो माजु एउटी गाईको रुप लिएर आई र उसलाई दर्शन दिइन् । ज्वरोले भर्खरै छोडेको र भोक लागेका भक्त ज्यापुलाई ध्यानाचो माजुले गाईको रुप धारण गरेर आफ्नो दुध खुवाएर बचाइन् । अनि गाईको रुप धारण गरेकी देवीले त्यस ज्यापुलाई आफ्नो सक्कली रुप दर्शन दिँदै भनिन् –“म अरु कोही होइन, ध्यानाचो माजु हुँ । तिम्रै लागि म यहाँ आएकी हुँ । तिम्रो मर्ने समय नभएकोले तिमीलाई चितामा राखिसकेको भए पनि बचाएकी हुँ । चितामा राखी सकेको हुँदा अब तिमी आफ्नो घरमा फर्कि जान हुँदैन । यहीं नै एउटा नयाँ वस्ती बनाई बस्नु । तिम्रो कल्याण हुनेछ । हेर म सम्प्रदाय अनुसार बौद्ध देवी भनेर बसेता पनि म शिवशक्तिको अंश भएकी रुद्रायणी पनि हुँ । ” यति भनी देवीले आफ्नो रुद्रायणी रुप देखाइन्. । सेतो वर्ण चार हात भएकी देवीको माथिल्लो दाहिने हातमा डमरु, देव्रे हातमा त्रिशुल त्यस्तै तल्लो हातहरुमा कपाल पात्र र भाव मुद्रा छन् । सेतो वस्त्र पहिरिएर विभिन्न थरीका अमूल्य आभूषण पहिरिएकी र साढे चढेकी अलौकिक देवीलाई देखेर त्यस ज्यापु देवीको पाउमा पर्छन् । त्यसपछि देवी त्यहीँ अन्तध्र्यान हुन्छिन् ।

त्येस ज्यापुलाई देवीले दर्शन दिएको स्थान सिकाली ख्यः पुारनो खोकना हो । यो स्थान हालको खोकनाबाट अलिकता तला खोला पारी पर्छ । देवीसित भएको ढुंगा भनी देखाइने एउटा घः ल्वहं ठूलो ढुंगा पनि अझसम्म त्यहाँ रहेको छ । खोकनाका ज्यापुहरुले कुलदेवता पूजा पनि यहीं गर्छन् । उनीहरुको कुलदेवता रुद्रायणी रुपी सिकाली अर्थात् सिद्धिकालीको पहेलो देवीस्थल यहीँ भएकोले यो स्थानको नाम नै सिकाली ख्यः भएको हो । खोकनाका ज्यापुहरुको भनाइअनुसार पचली भैरवका पुजारी ज्यापुले ख्ययाः ख्ययाः अर्थात् रोई रोई आफ्नो कुरा बताएर देवीको अनुग्रहबाट यहाँ वस्ती बसालेकोले यसको नाम खोना अर्थात् खोकना हुन गएको हो भनिन्छ ।

sikali danceदेवमाला वंशावली अनुसार ने.सं. ६३३ मा राजा अमर मल्लले रुद्रायणी अष्टमातृका पीठलाई मुख्य बनाई स्थापना गरेको खोकना देशमा दसैं चाड मनाइँदैन । नेपालभर दससैं मनाइरहेको बेलामा खोकनामा भने दसैंको आश्विन शुक्ल तृतीयादेखि षष्टीसम्म सिकाली गण जात्रा मनाइन्छ । त्यसैले खोकनालाई दसैं नभएको देश पनि भनिन्छ । सिकली जात्राको समयमा पञ्चमीका दिन पचली भैरवको जात्रा काठमाडौंमा सकिएपछि खोकनामा पनि पचली भैरव आउँछन् भन्ने जनविश्वास छ । जात्राको चार दिन अघि ताः गुथि, सलांगुठि र जाः गुठिका तीनदेवीका जात्रा गर्न पालो बस्ने गरिन्छ । आश्विन शुक्ल तृतीयाका दिन राती देश रथका लागि स्थापना गरिराखेका सिकाली अजिमा पीठलाई कुनै पनि घाउ चोट नलागेको राँगो बलि दिइन्छ । आश्विन शुक्ल चौथिका दिन देवीको प्रसादको रुपमा राँगोको छ्वयला बनाई छव्यला भू र भोज खाने गर्छन् । यो दिन कसैले पनि भात खान हुँदैन भन्ने चलन भएकोले सबैले भोज मात्रै खान्छन् ।

आश्विन शुक्ल पञ्चमीका दिन जात्रा मनाइन्छ । काठमाडौंमा पचली भैरवको घ्याम्पो जात्रा भइरहँदा यहाँ सिकली अजिमालाई मन्दिरबाट तल ल्याएर खटमा राखिन्छ भने घ्याम्पो भैरव देवताको पनि जात्रा गरिन्छ । महाकाल र वीरभद्रलाई बलि दिइन्छ । मध्यरातमा सिकाली ख्यः मा नौ वटा भैरव गणलाई जगाई जात्रा गरिन्छ । देवता नाच खलःका सम्पूर्ण गुठियारहरु सिकाली ख्यः पुारनो खोकनामा भेला हुन्छन् । त्यहाँ तान्त्रिक विधिपूर्वक यज्ञ गरिन्छ । यो यज्ञलाई अश्वमेघ यज्ञ पनि भनिन्छ । यसमा बोकाको टाउको होम गर्ने चलन छ । यो रात्री पूजामा गाउँका प्रतिनिधिको रुपमा टोलपिच्छे एक एक जना मानिस आएर देवगण र गुठियारहरुलाई भोज खुवाउने चलन छ । सिकालीमा गरिने अश्वमेघ यज्ञलाई दक्ष प्रजापतिले महादेवलाई गरेको अपमान सहन नसकी सतिदेवीले होममा हाम्फालेको भयंकर स्थिति अनुरुप यस जात्राको यज्ञलाई लिइन्छ ।

नेवारी समाजमा सिकाली प्याखंको नामले प्रसिद्ध खोकनाको रुद्रायणी नाचको आफ्नै किसिमको तान्त्रिक परम्परा र प्रभाव रही आएको छ । हेर्दा अत्यन्तै पुरानो र आश्चर्यलाग्दो यो परम्परागत नाचमा बौद्ध र हिन्दू दुवै धर्मको छाप परेको देखिन्छ ।

खोकनाको यो सिकाली नाच ने.सं. ६३३ मा राजा अमर मल्लले गुठी राखी सुरु गरेका हुन् भनिन्छ । खोकनाको मुख्य देवताको रुपमा मान्दै आएको रुद्रायणी अजिमाको यो नाच वर्षमा दुइपटक नचाउने चलन छ । पहिलोपटक आश्विन, शुक्ल तृतीयादेखि अष्टमीसम्म नचाइन्छ भने दोस्रोपटक कार्तिक पूर्णिमाको दिन नचाइन्छ । १२ वर्षमा एकपटक यो सिकाली गण नाच काठमाडौंको हनुमानढोका, पशुपति र पाटनको बुंगमतिमा नचाइन्छ ।

यो नाचको आफ्नै गुठि छ । यसमा १४ जना नाच्ने मानिसको साथै वाजा बजाउनेहरु गीत गाउनेहरु र नाच सिकाउने गुरुहरुका साथै ४६ जना गुठियारहरु छन् । यस गुठिमा महिलाहरु भने हुँदैनन् । यस नृत्य गुठिका गुठियारहरु सबै ज्यापु हुन् । खोकनाको यो सिकाली नाचसँग सम्बन्धित एउटा रमाइलो चलन पनि छ । त्यो के हो भने यो नाच १२ वर्षमा एकपटक खोकनाबाट बाहिर लाने समय आयो कि खोकनामा यो नाच नचाउने दिनदेखि १२ वर्ष नाचको विशेष कार्यक्रम नसकुन्जेल गाउँका मानिसहरुले अन्य कुनै पनि चाडवाड मान्नु हुँदैन । नृत्यटोली देवगणहरु गाउँबाट बाहिरिनु अघि सबैलाई नाचमा सफलता मिलोस् विघ्न वाधा नआओस् भनी शुभकामना दिँदै सगुन दिने चलन छ । यो नाचका मूल गुरु बू वहालका तान्त्रिक गुभाजुलाई मानि राखेकोले पनि यो नाच तान्त्रिक चरित्रको हुन आएको हो ।

१२ वर्षमा एकपटक यो नाचको परम्परा अनुसार पाटनको विभिन्न १२ स्थानमा नचाइन्छ । नाच नचाउने त्यस स्थानहरु पाटनको प्राचीन दरवारको स्वर्णद्वाराभिको चोक, मूलचोक, भिमसेन अगाडिको डवली, च्यासल टोको डवली, गाः वहालको डवली, नक वहालको डवली, क्वः वहालको डवली, सुन्धारको डवली, सौगल टोलको डबली, मंगलबजारको ठूलो घण्टा पछाडिको डबली, इखालखु टोकलो डवली र तः वहाल हो । यसै क्रममा यो नाच काठमाडौंका हनुमानढोकाको नासलचोक, दाख चोक, लगनको डबली, सिंहसत्तलको डवली, इन्द्रचोकको डवलीमा पनि नचाउने गरिन्छ ।

यसै सन्दर्भमा एउटा रमाइलो कुरा के छ भने नृत्यगण पाटनबाट काठमाडौंमा राती आउँदा हातमा चिराग बालेर काठमाडौंमा भित्रिन्छन् । स्थानीय श्रद्धालु भक्तजनहरुले देव नृत्यगणलाई देवता सवारी भएको भन्दै अत्यन्तै हर्षोल्लासपूर्वक स्वागत गर्छन् । यो चलन पाटनमा भने छैन । यहाँ रुद्रायणी देवी र भैरवको भेट गर्ने यो समयलाई विशेष रुपमा मान्ने गरिन्छ । रुद्रायणीलाई पचली भैरवको शक्ति मान्ने परम्परा पनि छ । रुद्रायणीका साथै सबै गणलाई पूजा गरिन्छ । त्यसपछि मात्र नृत्य गणले वस्त्र र मुकुट लगाएर आआफ्ना अस्त्रशस्त्र धारण गरी काठमाडौंको नगरतर्फ अघि बढ्छन् । यो नाचमा नृत्य गर्ने १४ जना देवदेवी गण यस प्रकार छन् – रुद्रायणी(पार्वतीको रुपमा पनि) , महादेव, गणेश, कुमार, इन्द्रायणी, महालक्ष्मी, हनुमान, सन्तकुमार, सिंहिनी, व्याध्रिनी, ध्वं३ः, खिचा, दः, म्हय्रवा सुर दैत्य( महषिसुर) र लाखे गणे ।

श्रृष्द्धि, स्थिति र संहारका मूख्य मानिएकी महामाया देवी रुद्रायणीको महिमा र महत्व प्रदर्शन गरिने यो शास्त्रीय नृत्यमा मुख्य कथानक देवीदेवता, साधु, सन्त र मानिसहरुका महाशत्रु दैत्य राजा महिषासुरको संहार देवीको हातबाट भएको देखाइन्छ ।

यस नाचमा सबै गणहरुले जीवनभर जुंगा दाह्री र कपाल पाल्नुपर्ने, नृत्य चलुञ्जेल सेतो पगरी, जामा र भोटो मात्र लगाई राख्नुपर्ने अनि जुत्ता पनि लगाउन नहुने चलन अझैसम्म रहेको छ । पहिला पहिला समाजमा यी देवगणहरुलाई अत्यन्तै धेरै सम्मान दिई मान्ने गरिन्थ्यो भने हाल पनि देवगणलाई श्रद्धालु भक्तजनहरुले देवता मानी पूजा गर्ने गर्दछन् ।

देवमाला वंशावलीअनुसार ने.सं. ६३३ मा राजा अमर मल्ललाई सपनामा देववाणी भएकोले राजाले ७०० वटा घर भएको खोकना देश बनाई त्यहाँ रुद्रायणी देवीको मन्दिर बनाएको र गणनाचका साथै देवी नृत्य पनि नचाउने चलन चलाएका हुन् ।

प्रतिक्रिया