विद्यालयमा सहकारी शिक्षा

Untitled-1 copyकालीकोट । सहकारी शिक्षा सहकार्य र स्वावलम्बनको प्रमुख माध्यम बन्न सक्छ भन्ने मान्यता जनतामा विकसित हुँदै आएको छ । राज्यले पनि यसमा जोड दिँदै आएको देखिन्छ । यसै विषयलाई मनन गर्दै राज्यले सहकारी शिक्षाका लागि अनिवार्य नगरे पनि ग्रामीण क्षेत्रमा एक सहकारी संस्था र विद्यालयको संयुक्त पहलमा विद्यालयमा सहकारी शिक्षासम्बन्धी कक्षा सञ्चालन हुने भएको छ ।

जिल्लाको स्युना गाविसमा रहेको कालासिल्ला मावि गोर्खाली गाउँमा कक्षा ९ र १० का विद्यार्थीलाई सहकारी शिक्षा दिन लागिएको हो । विद्यालयका प्रधानाध्यापक सन्तराज शाही र हिमचुली कृषि सहकारी संस्थाका प्रतिनिधि रूपेन्द्र ऐडी र विद्यालयका शिक्षकसँगको बैठकमा पहिलो चरणमा महिनामा एक दिन र सो समयलाई बढाएर दुईदेखि पाँच दिनसम्म सहकारी शिक्षासम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी भएको बताइएको छ ।
पछिल्लो समयमा तीनखम्बे अर्थनीतिका कारण राज्यले सहकारीलाई प्राथमिकता दिन थालेपछि ग्रामीण क्षेत्रमा यसको प्रभावकारिता बढ्दै गएकाले विद्यालयमा सहकारीसम्बन्धी शिक्षा दिनु सकारात्मक भएको प्रधानाध्यापक सन्तराज शाहीले बताए ।

कक्षा ११ र १२ मा ऐच्छिकरूपमा पढाइ हुने गरे पनि कालीकोटमा भने सहकारीसम्बन्धी विषय लिएर कसैले अध्ययन गरेका छैनन् । सुरुवातको चरणमा मासिक एक दिन सहकारीसम्बन्धी शिक्षा दिने र विद्यार्थीमा हाजिरी जवाफ, देउडा, सडक नाटक, श्रव्य दृश्यलगायत माध्यमबाट समेत चेतना अभिवृद्धि गर्न लागेको हिमचुली कृषि सहकारी संस्थाले जनाएको छ ।

संस्थाले तीन वर्षअघि स्थानीयस्तरमा मावि तथा उमाविमा सहकारी शिक्षा दिने योजना बनाए पनि कार्यान्वयन नभएको अवस्थामा यस वर्षबाट सहकारीसम्बन्धी शिक्षाको तयारी भइरहेको बताइएको छ ।

कालीकोट जिल्लामा एक सय बढी सहकारी संस्था स्थापना भएर विभिन्न कार्य गरे पनि सहकारीसम्बन्धी शिक्षाका लागि चेतना अभिवृद्धि हुन नसक्दा सहकारी संस्थाप्रतिको जनविश्वास घटेको बताइएको छ । सहकारीमा पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको बताइएको छ । सहकारी शिक्षालाई ग्रामीण स्तरबाट यसरी प्रवद्र्धन गर्ने हो भने यसको सकारात्मक असर स्वरोजगारीमा पर्न गई पक्कै नेपालीहरुको आर्थिक गतिविधिमा वृद्धि हुने छ ।

प्रतिक्रिया