काठमाडौं, १० भदौ । अफगानिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल उन्नाइस वर्षमुनि (यु–१९) को पहिलो साफ पुरुष फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (बिहीबार) भएको सेमिफाइनल खेलमा नेपाललाई जित दिलाउन अञ्जन विष्टले दुई गोल गरे । अञ्जनले ३४ र ३९आँै मिनेटमा गोल गर्दै नेपाललाई मध्यान्तरअघि नै २–० को अग्रता दिलाएका थिए । तर, मध्यान्तरपछिको लगत्तै ५० औँ मिनेटमा नेपालका अनन्त तामाङबाट आत्मघाती गोल भएपछि अफगानिस्तानले खेलमा फर्कने संकेत देखायो ।
सुनिल बलले ५२औँ मिनेटमा गोल थपेपछि नेपालले ३–१ ले अग्रता लियो । पुनः दुई गोलले पछि परेपछि पनि खेलमा फर्कने प्रयास गरेको अफगानिस्तानका लागि मेहबिरेजायीले ७२औँ मिनेटमा गोल गरे पनि जितका लागि पर्याप्त भएन । नेपालले अधिकांश समय खेल नियन्त्रणमा लिएको थियो ।
खेलपछि पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उपाधि जितेमा प्रत्येक खेलाडीलाई जनही रु एक लाखको दरले नगद पुरस्कार दिने घोषणा गरेका छन् । उनले भने खोलाडीको योगदानको कदर गर्न सरकार तयार रहेको बताए ।
नेपाली प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिए । उनले भने, ‘अबको हाम्रो लक्ष्य उपाधि जित्ने नै हो ।’ अफगानी प्रशिक्षक साहेव राजवले नेपाल बलियो टोली भएकाले जितेको प्रतिक्रिया दिए ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलअन्तर्गत अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलको विजेतासँग नेपालले शनिबार फाइनल खेल्नेछ ।
प्रतिक्रिया