काठमाडौं । नेपाली समाजमा एउटा भनाई नै छ, घोडा चढ्ने मान्छे नै लड्ने गर्छ । त्यसैअनुरूप हरेक काममा पनि जोखिम हुने गर्छ, जसले गर्दा मानिस सफल वा विफल जे पनि हुन सक्छन् । सफलता हात पार्नु जित हो तर त्यही अनुरूप पराजयलाई स्वीकार्दै अगी बढ्नू नै सच्चा योद्धा कहलिने गर्छ ।
तर, विश्व खेलकुदमा पराजयको भयले विभिन्न खेलाडीले ज्यान नै जोखिममा पार्ने र गलत बाटो अपनाउने गरेको पाइन्छ । समान्यतया खेलमा हार र जित हुनु स्वभाविक हो । तर, खेलाडीहरू जहिले पनि जित्न नै चाहन्छन् । त्यसैले होला केही खेलाडी जितका लागि गलत बाटो अपनाउनसमेत पछि पर्दैनन् । यस्तै एउटा गलत बाटो हो, डोपिङ । आखिरी के हो त डोपिङ ?
कतिपय खेलाडीले खेलमा उत्कृष्ट नतिजा निकाल्न शक्ति बढाउने औषधिको प्रयोग गर्ने गर्छन्, जसलाई डोपिङ भनिन्छ । यस खालको औषधिको प्रयोगले खेलाडीलाई लामो समयसम्म थकाइ लाग्न नदिई फुर्तिलो बनाइ राख्छ । यसैकारण, खेलाडीहरूको शक्तिवद्र्धक औषधिप्रति मोह बढ्दो छ । तथापि, डोपिङलाई प्रतियोगितामा अवैध मानिन्छ । विश्वका १० प्रतिशत खेलाडीले प्रतिबन्धित शक्तिवद्र्धक औषधि प्रयोग गर्ने गरेको एक अध्ययनले देखाएको छ ।
विश्व एन्टी डोपिङ एजेन्सी वाडाका प्रमुख डेभिड हाउम्यानले झन्डै १० प्रतिशत व्यावसायिक खेलाडीले विश्व खेलकुदका निकायलाई छलेर डोपिङमा संलग्न भइरहेको बताएका छन् । यसरी डोपिङमा संलग्न हुन पाँच मध्ये चार खेलाडी डोपिङ परिबन्धबाट उम्कने गरेको पनि उनले बताए । कुनै पनि खेलाडीको शरीरमा रहेको रगत वा पिसाबबाट डोपिङ परीक्षण गरिन्छ । अहिले संसारका उत्कृष्ट एथलेटिक्स खेलाडीहरू मध्ये तीन भागमा एक भागले यसको प्रयोग गरेको सन्डे टाइम्सले जनाएको छ ।
युवा तथा जुनियर खेलाडीमा समेत डोपिङको मोह बढ्दै गएको छ । छिट्टै व्यावसायिक खेलाडी बन्ने महत्वाकांक्षाकाले जुनियर खेलाडीहरू पनि शक्तिवर्धक औषधि सेवनको कुलतमा फस्ने गरेका छन । युवा खेलाडीहरूमा बढ्दो डोपिङ मोह विश्व खेलकुदकै लागि चुनौति भएको वाडा प्रमुख डेभिडको भनाइ छ ।
बेसबल, साईक्लिङ रेसहरूका खेलाडीले खेलमा प्रतिबन्ध गरिएका औषधि बढी मात्रामा सेवन गर्ने गरेको पाइएको छ । त्यसैले प्रतियोगितालाई निष्पक्ष बनाउन खेलअघि खेलाडीहरूको डोपिङ टेस्टसमेत गर्ने गरिएको छ । कुनै खेलाडीमाथि डोपिङको शंका लागेमा र परीक्षणमा फेल भएको अवस्थामा उनले पाएको पदकसमेत खोस्ने गरिएको छ । यसअघि पनि यी घटनाहरू भइसकेका छन् । केही समयअगाडि मात्र डोपिङको आरोपमा दुई दर्जन भन्दाबढी धावकलाई कारबाही गरिएको थियो ।
डोपिङको आरोपमा अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ(आइएएएफ) ले २८ खेलाडीमाथि कारबाही गरेको घटना विश्व खेलकुदमा सेलाएकै छैन । तीमध्ये अधिकांशले खेल जीवनबाट संन्यास लिइसकेका छन् । केही खेलाडी भने अभैm पनि सक्रिय रहेका छन् । तथापि, डोपिङमा परेका ती खेलाडीहरू सन् २००१ देखि २०१२ मा भएको ओलम्पिक र अन्तर्राष्ट्रिय खेलमा पदक विजेता तथा सन् २००५ देखि २००७ सम्मको विश्व च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरू रहेका थिए ।
कारबाहीमा परेका ती कतिपय सक्रिय खेलाडलाई बेइजिङमा हुने विश्व च्याम्पियनसिपमा समेत प्रतिबन्ध लगाइएको थियो । उनीहरूले अपनाएको त्यो गलत बाटोसँगै ती खेलाडीले भविष्यमाथि नै ठूलो बज्रपात गरे । विश्वप्रसिद्ध केही मनोवैज्ञानिकहरूका अनुसार खेलाडीहरूलाई शारीरिक तालिमसँगै मानसिक तालिम दिए यो घटनामा कमी आउने बताउँछन् ।
मनोवैज्ञानिकहरू भन्छन् पराजयको भयले खेलाडीहरूले गलत बाटो अपनाएका हुन्, त्यसैले उनीहरूलाई मानसिक रूपमा पराजयको भयबाट मुक्त गराउन सके उनीहरू सही बाटोमा आउनेछन् ।
प्रतिक्रिया