गथांमुगः चःहे : घण्टाकर्ण चतुर्दशी

gathemangalनेवारी संस्कृतिमा गथांमुगः चःहे अर्थात् घण्टाकर्ण चतुर्दशीको आफ्नै किसिमको मौलिक महत्व रहिआएको छ । भूत, प्रेत, पिशाच, डाकिनी साकिनी, बोक्सी, चण्डाल, चण्डालीनीहरूबाट बच्न उनीहरूलार्ई मन्साएर पन्छाएर सबैको कल्याण होस् भनी मनाइने चाड हो– गथांमुगः चःहे । हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न टोलमा नेवारहरूले यो गथांमुगः चःहे मनाउँछन् ।
काठमाडौं उपत्यकाका किसानले गथांमुगः अघि नै सक्नुपर्छ भनी रातदिन मिहिनेत गरेर रोपाइँ गर्छन् । रोपाइँ सकेपछि पहिलोपटक आउने चाड भएकाले यो चाडलार्ई छोरा मान्छे चाड भनी मान्दै आएको पाइन्छ ।
गथांमुगः चःहेका दिन टोल–टोलका दोबाटो चौबाटोमा हाँगाबिँगापातसहिको नरकटको मुठ्ठालार्ई भुइँमा उभ्याएर खुट्टा झैँ टेकाएर गथांमुगः ठड्याएको हुन्छ । त्यस्तै दुईवटा हात पनि नरकटकै बनाइएको हुन्छ । नाङ्लोको मुख बनाएर त्यसमा डरलाग्दो मुख मुद्रा कोरिएको हुन्छ । कतै–कतै पुरुष गथांमुगः उभ्याएको हुन्छ भने कतै–कतै स्त्री गथामुंगः उभ्याएको हुन्छ । पुरुष महिला छुट्टिनेगरी मुहार नै राखिएको हुन्छ । पुरुष गथांमुगः मा पुरुषको चिह्न नरकटकै झुण्ड्याएको हुन्छ । गथांमुगःमा कपडाको पुतली, भोगटे झुण्ड्याइराख्यो भने त्यो महिला गथांमुग हुन्छ ।
धेरैजसो नेवार बस्ती भएको स्थानको दोबाटोमा गथांमुगः ठड्याइराखेको हुन्छ । नवग्रहबाट रक्षा गर्न पनि यो चाड मान्दै आएको देखिन्छ । जस्तो कि यो दिन फलामको औँठी गथांमुगःमा छुवाएर लगायो भने शनिग्रह शान्त हुनुका साथै वर्षभरि भूतप्रेतले छुँदैन भन्ने जनविश्वास छ । मिहलाहरूले गथांमुगःका दिन आफ्नो हातमा मेहेन्दी लगाउने गर्छन् । स–साना बालिकाहरूले आफूले खेल्ने गरेका कपडाका स–साना पुतली गथांमुगःमा छुवाएर घरमा लाने वा त्यहीँ झुण्ड्याएर राख्ने पनि गर्छन् ।
यो दिन बिहान सबेरै गथांमुगः बनाएर दोबाटोमा ठड्याएपछि केटाकेटीहरूले घण्टाकर्णको जमात भन्दै बटुवाहरूसँग चन्दा माग्ने गर्छन् । घण्टाकर्ण राक्षसको नाम हो । गथांमुगःलार्ई कानमा घन्टा झुण्ड्याइएकाले घण्टाकर्ण पनि भन्ने गरिन्छ । धेरैजसो सोही टोलका एकजना पोडेलार्ई कट्टुमात्र लगाउन लगाई नांगै राखेर शरीरभरि रंगीचंगी चित्र कोरेर हातमा दहीको रित्तो कतारो समाउन लगाएर ‘आजु जय’ भन्न लगाई त्यसका पछिपछि जोनहरूले ‘ हा…’ भन्दै घरैपिच्छे जगात माग्ने चलन छ । यसरी गथांमुगःको जगात माग्ने पोडेलार्ई शनिग्रहको प्रतीकको रूपमा लिइन्छ र घरैपिच्छेका मानिसले आफ्नो गच्छेअनुसार अन्न, पुराना लुगाफाटा र पैसा दान दिने चलन छ । यसरी दान दिँदा नवग्रह शान्ति भई दशा हटेर जान्छ भन्ने जनविश्वास रही आएको छ । त्यो पोडेले ‘ओम् शान्ति जय नेपाल’ पनि भन्दै जगात माग्ने गर्छ । यसरी जगात माग्नुको उद्देश्य नवग्रह शान्ति भई देशमा शान्ति होस्, शुभहोस् र लोकको कल्याण होस् भनी कामना गरिने हो । बेलुका गथांमुगः ठड्याइराखेको दोबोटोमा लगेर त्यो पोडेलार्ई दहीचिउरा खुवाउँछन् । त्यसपछि पोडेलार्ई हातमा एक मुठा छ्वाली बालेर समाउन लगाएर तीनपटक गथांमुगःमा परिक्रमा गराइन्छ । गथांमुगःमा रुखका हाँगाबिँगा ल्याएर राखी ठूलो मुठा बनाएर ढालपछि त्यसमा पोडेलार्ई बसाएर तानेर लान्छन् । यसरी त्यो पोडेलार्ई तानेर लाँदा बाटोभरि नाय्खिं बाजा पनि बजाउने चलन छ । गथांमुगःलार्ई टोलको बाहिर रहेको नदी, मसान वा टोलबाहिरकै दोबाटो वा छ्वासलमा विसर्जन गरिन्छ । यसरी गथांमुगःलार्ई विसर्जन गरिसकेपछि मानिसले आ–आफ्ना घरबाट माटोको भाँडोमा चिउरा, ढुटो, कट, फोक्सो, रगती, लसुन, छ्यापी, बौ फूल, एउटा काँचो अण्डा राखेर त्यसमाथि तिं मत (सिन्के बत्ती) बालेर दोबाटोमा भूत मन्छाउन लान्छन् । त्यसअघि त्यस बौलार्ई बीचमा राखी घरपरिवारका सबैजना वरिपरि बसेर समयवजी प्रसादको रूपमा खाएझैँ गरी बौ भागमा राख्ने गरिन्छ । बौ राखेर फर्की आएपछि घरको मूल ढोकामाथि त्रिखुट्टी भएको फलामको किला ठोक्ने गरिन्छ । यसरी किला ठोक्दा भूतप्रेत घरभित्र छिर्न सक्दैन भन्ने जनविश्वास छ ।
गथांमुगःलार्ई भूत, प्रेत, पिचास र समाजमा दुःख दिने राक्षसको रूपमा लिँदै आए पनि प्राचीनकालमा मानिसले भूतप्रेतबाटै आफूलार्ई आवश्यक काम गराउँदै आएको देखिन्छ । पहिला–पहिला काठमाडौं उपत्यकामा जनसंख्या अत्यन्तै कम भएकाले खेतीपातीको काम गर्न ज्यादै कठीन भइरहन्थ्यो । जग्गाजमीन भने आँखाले नभ्याउने गरी हुन्थ्यो भने काम गर्ने मानिस ज्यादै कम हुन्थे । यस प्रकार ठूलो समस्या परिरहने भएकाले त्यसबेलाका तान्त्रिक गुरुजुहरूले भूत, प्रेत, पिचासका नाइके महादेवको आराधना गरेर भूतप्रेतलार्ई ल्याई उपत्यकाका विभिन्न स्थानमा रोपाइँ गराइसकेपछि भूतप्रेतलार्ई बिदाइ गरी पठाउने कामअुनसार गथांमुगः चःहे घण्टाकर्ण चतुर्दशी चाड मनाउने गरिएको हो । त्यसैको प्रतीकका रूपमा हालसम्म पनि गथांमुगः चाड मनाउँदै आएको हो भन्ने संस्कृतिविद्हरूको भनाइ छ ।
गथांमुगःको सम्बन्धमा १४औँ शताब्दीमा लेखिराखेको गोपालराज वंशावलीमा उल्लेख गरिएकाले यो चाड त्यही समयदेखि मान्दै आएको भनी विश्वास गरिन्छ ।
गथांमुगः चःहेका दिन सिद्धी प्राप्त गरिने र तान्त्रिक सिक्नेहरूले पनि गुरुजुलार्ई गुरु थापना गरी तान्त्रिक साधना गर्ने दिनको रूपमा लिने गरिन्छ । यही दिन तान्त्रिकहरूले ठूला–ठूला सिद्धी प्राप्त गर्छन् भनिन्छ । तान्त्रिक गुरुजुहरूले बिरामीको स्वास्थ्योपचार गरी लोककल्याणका लागि आफ्नो विधाको प्रयोग गर्छन् भने कुविद्या सिक्नेहरूले दुःख दिने काम गर्छन् भन्ने भनाइ छ ।
नेवारी संस्कृतिमा मंसिर कृष्ण चतुदर्शीमा सत्विज छर्ने दिनका नाइके पनि महादेव नै हुन् । त्यसैगरी चैत्रकृष्ण चतुर्दशी (पिचास चतुदर्शी) का दिन पाहाँचहे घोडेजात्रा चाड मनाउँदै नेवारहरूले लुकेर बसेको महादेव लुकु माघः भनी भूत, प्रेत, पिचासका नाइके महादेवलार्ई समयवजी, खसी, जाँड राखी पूजा गर्दै आइरहेका छन् । त्यस्तै फाल्गुन कृष्ण चतुर्दशी शिवरात्रिका दिन पनि नेवारहरूले सिला चःहे भनी रातभर जाग्राम बसी महादेवलार्ई पूजा आराधना गर्दै आइरहेका छन् । त्यस्तै, श्रावण कृष्ण चतुर्दशीका दिन नेवारहरूले मनाउँदै आइरहेको घण्टाकर्ण चतुर्दशीलार्ई प्रेत चतुर्दशी पनि भन्ने गरिन्छ । यो पनि महादेवकै रूपले । किनभने भूत, प्रेत, पिचासका नाइके महादेवकै प्रतीकका रूपमा गथांमुगः बनाई दोबाटोमा ठड्याएर राखिने हो । गथांमुगःको आकृतिलार्ई शिवलिंगको रूपमा लिइएको छ । त्यस्तै, उन्मत्त भैरवजस्तै देखिनुले पनि गथांमुगःलार्ई महादेवको भैरवको रूपमा पनि मान्दै आएको देखिन्छ । गथांमुगःका दिन ‘आजु जय हा…’ भनी पोडेले जगात माग्दा पनि आजु जय भनी भैरवकै नाम लिएको हो भनिन्छ ।

प्रतिक्रिया