चेपाङहरूको बासस्थान चितवनको कान्दाले अहिले रूपरङ फेरेको छ । भोग, रोग, अशिक्षा र अभावमा रुमल्लिएको कान्दाले यतिबेला भने केही राहत पाएको छ । तीन वर्षअघि जंगली विषाक्त च्याउ खाएर चेपाङहरूले ज्यान गुमाएपछि एकाएक कान्दा चर्चामा आएको हो । समस्याको चाङबाट टुलु–टुलु चियाहिरहेको कान्दामा यतिबेला स्कुल, छात्रावास मात्र होइन बस्ने घर पनि पाएका छन्, चेपाङहरूले । पारिवारिक दुर्घटनाबाट विछिप्त विष्णु गौतम र उनको परिवारले छोराहरूको स्मृतिमा सञ्चालन गरेको लक्ष्मी प्रतिष्ठानले कान्दाको मुहार फेर्दै छ । कान्दामा भएको पछिल्लो कामबारे प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमसँग सौर्य दैनिकले गरेको संवाद–
तीन वर्षपहिले कान्दा पुगेँ । पाँच वर्षपहिला दुई जवान छोरा गुमाएको पीडाले विछिप्त भएको मन थामिएको थिएन, कान्दा पुग्दा । खान नपाएर विषाक्त जंगली च्याउ खाएर कान्दाका चेपाङले ज्यान गुमाएको समाचारले तानेको थियो, कान्दाले मलाई । एकै परिवारका सातजना मरेर एक वृद्ध र एक बालकको बिचल्ली भएको सुनेको थिएँ । म बेसाहरा भएका वृद्ध र बालकको उद्धार गर्न त्यहाँ गएको थिएँ । कान्दा सोचेको र सुनेको भन्दा धेरै गुणा फरक पाएँ । त्यति विकराल होला भनेर सोचेको पनि थिइनँ । कल्पना नै नगरेको कान्दा देखेँ मैले । मेरो देशको कुनै भूगोल यस्तो होला भनेर मैले कल्पना पनि गरेको थिइनँ ।
कान्दाले मलाई धेरै कुरा दियो । पाउनु भनेको भौतिक वस्तुमात्र होइन । आत्मबल त्योभन्दा धेरै ठूलो कुरा हो । यतिबेला मैले कान्दामा के दिएँ भनेर सम्झिएकै छैन । कान्दाका चेपाङको जीवनशैली हेरेर दुःखमा पनि कसरी बाँच्न सकिन्छ भन्ने कुरा मैले सिकेँ । हप्ताँै खान नपाएर भोकले थर–थर कामेका चेपाङले ‘खान पाइनँ मलाई खान लेऊ’ भनेको सुनिनँ । भोकले चाउरिएका पेट र लगलग कामेका ओठमा पनि मुस्कान छर्थे उनीहरू । उनीहरूको दैनिकीले नतमस्तक भएँ म । झट्ट उनीहरूलाई हेर्दा लाग्थ्यो, कान्दाका चेपाङसँग कुनै समस्या नै छैन । सुख र वैभवको जीवन बाँच्दैछन् उनीहरू भन्ने भ्रम पथ्र्यो, उनीहरूको अनुहार हेरेर । मागेर भरिपेट खानुभन्दा श्रम गरेर आधा पेट खान खुसी देखिन्थे, चेपाङहरू ।
कान्दा चेपाङका छाप्रो ! छाप्रो पनि के भन्न,ु न घाम थेग्थ्यो न पानी । उनीहरू नाममात्रको छाप्रे घरमा बस्थे । गाउँमा सरकारले सबैका लागि शिक्षा भनेर खोलेको नाममात्रको स्कुल थियो । कुनै चेपाङका छोराछोरी पढ्न जाँदैन थिए । न घरमा खान थियो न त आङ ढाक्ने कपाड चेपाङको घरमा । स्कुल जान कपडा, किताब, कपी, कलम केही थिएन, कसरी जाऊन् स्कुल ? खाली पेटले घन्टाँै हिँडेर स्कुल कसरी पुगून उनीहरू ? कान्दामा समस्या चाङमाथि चाङ थियो । सम्हालिसक्नु थिएन कान्दाका बस्तीमा छरिएका समस्या । उनीहरूको अवस्था हेरेर मन भारी भयो, आखिर मान्छे कस्तो अवस्थामा पनि बाँच्दो रहेछ भनेर । रुने र आँसु झार्ने क्षमता मसँग थिएन । दुई जवान छोरो गुमाउँदा पनि झरेन मेरो आँसु ।
कान्दा पुगेर त्यहाँको अवस्था हेरेपछि लाग्यो, यहाँको समस्या यी वृद्धा र बालकको मात्र होइन । अनगिन्ती समस्या छन् र मैले केही गर्नुपर्छ । समस्या पहिचान गरेँ, अब ‘कान्दा रूपान्तरण अभियानमा’ लाग्नुपर्छ भनेर । स्कुलमात्र थियो, पढ्ने वातावरण थिएन । खोरिया र पाखो थियो उब्जनी थिएन, चारैतिर पानीको मुहान थियो । तर, उचित खानेपानी थिएन । नेपाली भएर पनि राज्यको पहुँच नपुगे जस्तै थियो, कान्दा । मलाई लाग्यो, छात्रावास भयो र पढ्नका लागि आवश्यक सामान भयो भने यी कलिला केटाकेटीले पक्कै पढ्नेछन् । पखेरामा धुलो माटोसँग पांैठेजोरी खेल्ने यिनको भविष्य बनाउन केही गर्ने दृढता एकाएक मनमा आयो । कान्दा र कान्दाका चेपाङको जीवनमा परिवर्तन गर्ने अठोट लिएँ । चेतना र शिक्षा पाए भने यी चेपाङले पनि राष्ट्रका लागि केही गर्लान् भन्ने ठानेँ । उनीहरूको अनुहारमा आशैआश देखेँ । अवसर नपाए उही बाबुबाजेको जस्तैगरी बित्छ यिनीहरूको जीवन भन्ने लाग्यो ।
जंगलको बीचमा बस्ने ती जनताको दैनिकी र अनुहारले मलाई कान्दाप्रति तान्दै थियो । मान्छेले जीवनमा पाउनुपर्ने आधारभूत आवश्यकता तीनलाई के थाहा । जसले बुझेको थियो, बुझाउने प्रयास गरेको थिएन । म उनीहरूसँग पहिलो भेटमै भावनात्मक रूपमा नजिकिएको थिएँ । कान्दा मेरो जिम्मेवारी हो भन्ने बोध भयो मलाई । समस्याको फेहरिस्त निकालेँ, छात्रावास, स्वास्थ्य चौकी, खानेपानी, बाटो, जस्ता कुराका मेरो ध्यान गयो । कान्दा रूपान्तरणमा लाग्दा मसँग मनमात्र थियो हातमा धन थिएन । मन र भावनाले मात्र मान्छेको जीवनमा परिवर्तन ल्याउन सकिँदैन भन्ने बुझेको थिएँ । मान्छेको जीवनमा आवश्यकता पूरा गर्न धन चाहिन्थ्यो । मसँग कुनै स्रोत थिएन ।
कान्दामा छात्रावास बनाउने योजना बनाएँ । आफूसँग करिव चार लाख रुपैयाँ थियो । भवन बनाउने, विद्यार्थीलाई राख्ने र खुवाउने केले ? मनले आँट गरेपछि जे होला–होला भनेर योजना बनाएँ । देश विदेशमा बस्ने साथीहरूलाई सहयोगका लागि आग्रह गरेँ । आफ्नो योजना र कान्दाको वास्तविकता सुनाएँ । जब योजना सफल हुने अवस्थामा पुग्यो, त्यतिबेला सोचेँ, मान्छेले आफ्नो र परिवारको पेट पाल्नका लागि मात्र श्रम गर्दो रहेनछ । लक्ष्मी प्रतिष्ठानको नाममा सहयोग गर्नेहरू खाँडीको धुपमा कठीन श्रम गर्नेहरू पनि छन् । मन नभएका धनले केही हुँदो रहेनछ । मसँग कान्दाका लागि केही गर्ने आँट थियो । त्यो आँटमा इँटा थपेर सहयोग धेरैले गरे । यो काम दस वर्षपहिला भए निकै समस्यामा पर्ने थियो । आज मेरो अभियानमा ठूलो सहयोगी सञ्चारमाध्यम र इन्टरनेट भएको छ । इन्टरनेटमार्फत धेरै सहयोग प्राप्त हुने गरेको छ । कति सहयोगीलाई व्यक्तिगत रूपमा म चिन्दिनँ । तर, पनि सहयोग जारी छ । कान्दा रूपान्तरणमा मुख्य सहयोगी सञ्चारमाध्यम हो ।
मैले पाँच वर्षपहिला दुई जवान छोरा गुमाएँ । आज मसँग विभिन्न जात, समुदाय र भाषा बोल्ने हजाराँै छोरा छन् । छोराहरूको स्मृतिमा ‘कुमार बलराम’ छात्रावास खोलेँ । कान्दाका एक सय ६ जना छोराछोरी होस्टलमा बसेर पढ्छन् । मेरो उद्देश्य सबैले शिक्षा र स्वास्थ्यको सुविधा पाउनुपर्छ भन्ने हो । उनीहरूका लागि चाहिने सबै आवश्यकता पूरा गरेका छौँ । हिजो हप्तौँ खान नपाएकाहरू आज दुई छाक खाएर पढ्न पाएका छन् । कान्दा मेरो कर्मथलो बनेको छ यतिबेला । सुरुका दिनमा कान्दाले दुःखाएको थियो मन, अहिले कान्दाले भूलाएको छ दुःख । कान्दाका जनताले पाएको दुःख र सास्तीको अगाडि हाम्रो दुःख फिक्का लाग्यो मलाई । प्रतिष्ठान खोल्दा यति अगाडि बढिएला भन्ने सोचेको थिइनँ । छोराहरूको सम्झनामा केही गरौँला भन्ने थियो । कान्दाले मलाई पूरै परिवर्तन गरिदियो । व्यवसाय छोडेँ, अब मेरो सबै थोक समाज सेवा हो । कान्दाको भोगाइ सुन्दा निकै दर्दनाक छ । त्यँहाका जनता तिहारको लक्ष्मी पूजाको दिनमात्र नून खान्थे । अन्य समय नूनसम्म खान पाउँदैन थिए । बीचमा आगो बालेर वरिपरि सुत्थे । आज घर पाएका छन् । बेला–बेला दाल चामल, नूनतेल लगेर दिने गरेका छौँ । त्यहाँका जनतासँगै भोक मार्न बारीको काँचो तोरीको साग खाएँ । उनीहरूको भोगाइको अगाडि सामान्य हो ।
कान्दामा छात्रवास र घर बनाउनु चुनौती थियो । नक्सा बनाएर कान्दा गएँ । बाटो थिएन, निर्माण सामग्री लानको लागि । जताततै पखेरो र भित्ताबाहेक केही थिएन । कहाँ लगेर टाँस्ने नक्सा, कुन पखेरोमा बनाउने छात्रवास ? गाउँलेलाई आफ्नो उद्देश्य र भौगोलिक समस्या सुनाएँ । ‘तिमी चिन्ता नलेऊ बाउ, हामी साबै ठीक पार्छ’ उनीहरूले जोसिएर भने । नभन्दै बीस दिनपछि जाँदा पखेरोसम्म बनाएका रहेछन् । त्यति ठूलो पखेरो खनेर सम्म पार्नु त्यो पनि विस दिनमा ! उनीहरूको मिहिनेत र उत्साहले मेरो उत्साह झनै बड्यो । यति ठूलो उत्साह भएका जनताको बिचमा काम गर्दा सफलता र सन्तुष्टि मिल्ने निधो गरेँ । काम त्यही तीव्र गतिमा अगाडि बढ्यो ।
बाहिरी दुनियाका लागि कान्दा समस्यामात्र हो । तर, मैले बुझेको कान्दामा धेरै अवसर छन् । हेर्ने, चिन्ने र बुझ्नेमा भर पर्छ । म कान्दामा अझ धेरै गर्न चाहन्छु । केही वर्षपछि कान्दा पर्यटकको गन्तव्य बन्नेछ । सहकारी खोल्ने, पशुपालन, तरकारीखेती, मौरीपालनजस्ता आयआर्जनका कामलाई व्यवस्थित पार्ने योजना छ । कान्दामा होम स्टे खोलेर पर्यटकलाई आजको कान्दा देखाउने उद्देश्य छ । हिजो आधा शरीर ढाक्ने लुगा लागाउने चेपाङ कान्दामा छैनन् । सभ्यता र संस्कृति बुझ्दैछन् उनीहरू । उनीहरूको सरलता र इमानदारीले मेरो मन खिचेको हो, कान्दामा । जे गरौँ भन्दा पनि ‘हस बाउ, हामी गर्छ’ भन्छन्, उनीहरू । म सबै कान्दालीको बाउ भएको छु । साना–साना केटाकेटीले सर भन्छन् । मेरो उमेर समूहमा सबैको म बाउ भएको छु ।
हिजो घाम पानि नछेक्ने छाप्रोमा बस्नेहरूलाई आज घर बनाएका छौँ । कान्दाका सबै चेपाङलाई घर दिने मेरो सपना पूरा हुँदै छ । ८५ घर परिवारलाई प्रतिष्ठानले घर दिँदै छ, केहीले पाइसके, केही बन्दै छ । अँध्यारोमा बत्ती नभएर दिउँसै ओछ्यान खोज्ने चोपाङको छानामा सोलार बल्न थालेको छ । मंसिर सम्ममा कान्दामा मोटर जाने बाटो बन्नेछ । तीन वर्षपहिलाको कान्दाले ठूलो फड्को मारेको छ । भोका र नांगा चेपाङ छैनन् । काम गर्नुपर्छ भन्ने भावना बढेको छ । अहिले पनि १६÷१७ जनालाई हामीले रोजगारी दिएका छाँै । कान्दाको पुरानो दिन अब संग्रहालयमा मात्र देखिनुपर्छ वास्तविक जीवनमा उनीहरू अगाडि बड्दै छन् । भौतिक रूपमा व्यवस्थित छात्रवासमा बसेर पढेका छन् । गाउँलेले घर पाएका छन् । भोको, नांगोपन र अशिक्षा हटाएका छौँ, कान्दाबाट ।
प्रतिक्रिया