चितवनको विकट गाउँ, जसलार्ई चारैतिरबाट जंगलले घेरेको छ । त्यही जंगलबीचको वस्ती कान्दाको चेपाङ परिवारमा २२ वर्षपहिला जन्मेकी सन्तमाया चेपाङ यतिबेला समाजको उदाहरणीय छोरी बनेकी छन् । कान्दामा सन्तमायाले जति पढेको अरू कोही छैनन् । अनेक संघर्ष गरेर उनले आठ कक्षासम्म पढ्ने अवसर पाइन् । सन्तमाया अहिले कमाएर परिवार धान्ने भएकी छन् । आफ्नै गाउँमा सञ्चालित छात्रवासमा रोजगार पाएकी छन्, सन्तमायाले । आफ्नो समाज, भोगाइ र आउने दिनका उद्देश्यबारे सन्तमायाको विचार–
कान्दाको पखेरोमा ढिँडो, खोले खाएर हुर्केकी सन्तमाया यतिबेला सबैको आँखाको नानी बनेकी छन् । सन्तमाया चेपाङ उनको समुदाय र गाउँकै पढेलेखेकीमा पर्छिन् । चितवनको कान्दा बस्ने चेपाङ समुदायमा सन्तमायाको परिवार अलि बुझेको परिवारमा पर्छ । त्यही बुझाइले सन्तमायाले गाउँमा पाँच कक्षासम्म पढिन् । पाँच कक्षाभन्दा अगाडि पढ्न गाउँमा स्कुल थिएन । परिवारको सहयोगमा भण्डारा आएर अरूको घरमा काम सघाउँदै सात कक्षा पास गरिन् । आठकक्षामा उनको पढाइको ब्रेक लाग्यो । स्कुल र पढाइको अन्त्य आठ फेलसँगै भोगिन् सन्तमायाले ।
चेपाङ समुदायमा परिवार नियोजन गर्नु वा कम सन्तान जन्माउनुपर्छ भन्ने चेतना थिएन । सानो परिवारको महत्व नबुझेरभन्दा पनि चेपाङ समुदायको संस्कार जस्तै उनको परिवारमा बुबाआमाले सात सन्तान भित्र्याए । उसैले कान्दा त्यसमा ठूलो परिवारको समस्या अनगिन्ती थिए । खोरियामा उब्जेको अन्नले उनीहरूको परिवार पाल्न गाह्रो थियो । मीठोमसिनो खानु नौलो कुरा हुन्थे । खोले, फाँडो र गिठ्ठाभ्याकुरले कैयाँै छाक टारे सन्तमायाको परिवारले । यो कान्दा जस्ता अन्य चेपाङ समुदाय बस्ने गाउँको साझा समस्या हो ।
दुई वर्षपहिला घरेलुकाम गर्न काठमाडौं भित्रिइन् सन्तमाया । परिवार आफन्तको सहयोगमा काठमाडौं आएकी उनले यहाँको नौला र आनौठा धेरै चिज देखिन । आफू जन्मेको ठाउँबाट आठघन्टा हिँडेर बल्ल गाडी देख्थिन् उनले । यहाँको समाज जीवनशैली नजिकबाट हेरिन्, कैयौँ कुरा बुभ्mने कोसिस पनि गरिन् । यहाँका मान्छे र जीवनशैली हेर्दा आफ्नो पढाइ र अनुभव शून्य लाग्यो सन्तमायालाई । तर, उनको समाजमा र गाउँमा उनी नै हुन् सबैभन्दा धेरै पढ्ने । जीवन के हो र समाज कसरी चलेको छ भन्ने कुरा उनले काठमाडौं आएपछि बुझिन् । चेपाङको छोरी भए पनि उनले काम गर्ने घरमा कहिल्यै हेपिनुपरेन । ‘साहु, साहुनीले राम्रो व्यवहार गर्थे, भान्सामा जानु हँुदैन भन्ने थिएन । खान म आफैँ बनाउँथेँ,’ उनले भनिन् । काम गर्न बसेको घर र परिवारबाट उनले धेरै कुरा सिक्ने अवसर पाइन् । कैयौँ उपल्ला जाति भन्नेहरूले अहिले पनि यदाकदा चेपाङहरूलाई तल्लो जातिको रूपमा हेर्छन् । उनको बाबुबाजेले त्यस्तो तीतो भोगाइ धेरै भोगे ।
सान्तमायाले एक वर्षपहिला कान्दा जाँदा लक्ष्मी प्रतिष्ठानका अध्यक्षसँग भेट्ने अवसर पाइन् । तीन वर्षदेखि कान्दाको विकासमा सक्रिय उक्त प्रतिष्ठानले सन्तमायालाई संस्थामा काम दियो । उनी यतिबेला प्रतिष्ठानले कान्दामा सञ्चालन गरेको छात्रावासमा काम गर्छिन् । ‘मैले कहिल्यै सोचेको थिइनँ, यति थोरै पढेको मान्छेले जागिर पाउला भनेर, होस्टेलमा बस्छु, खानबस्न समस्या छैन । मासिक आठ हजार रुपैयाँ दिएको छ,’ उनले भनिन् । सन्तमायाको लागि मात्र होइन, सिंगो कान्दाका लागि त्यो ठूलो कुरा हो, जुन सन्तमायाले पाएकी छन् । यतिबेला सन्तमाया मात्र होइन, उनको गाउँका धेरैले रोजगारी पाएका छन् । प्रतिष्ठानले सञ्चालन गरेको छात्रवास र उनीहरूको तरकारीबारीमा । कान्दाका चेपाङहरू अहिले खान नपाएको कारण मर्नुपर्ने अवस्थामा छैनन् । जे–जस्तो भए पनि उनीहरूले दुई छाक खान पाएका छन् ।
गाउँले भन्छन्, ‘छोरी हुनु त सन्तमाया जस्तो ।’ वास्तवमा सन्तमाया यतिबेला सिंगो कान्दाका लागि उदाहरणीय बनेकी छन् । चेपाङ समुदायमा पन्ध्र वर्ष नपुग्दै छोरीको बिहे गर्ने चलन छ । सन्तमायाले २२ काट्दासम्म स्वतन्त्र रूपमा चाहेको काम गर्न पाएकी छन् । उनका दौतरीका काख दुई÷चार सन्तानले झेलेका छन् र पारिवारिक झमेलामा परेका छन् । कहिलेकाहीँ उनलाई आफ्नो जीवन र समाजमा अरूले भोगेको भोगाइ देख्दा आफू भाग्यमानी भए जस्तै लाग्छ । सानोमा पढ्ने राम्रो अवसर पाएको भए अझ धेरै गर्न सकिने रहेछ भन्ने लाग्छ उनलाई । तर, उनले बिताएको विगत उनीसँग फर्केर आउँदैन । पढ्ने लेख्नेले मात्र समाजमा केही गर्न सक्दो रहेछ भन्ने उनले बुझ्दा निकै ढिला भइसकेको थियो । सन्तमाया जन्मेहुर्केको समाजमा उनी धेरै पढेको गनिए पनि सिंगो समाजलाई चित्रण गर्दा उनको पढाइ सामान्य लाग्छ, उनी आफँैलाई ।
सन्तमायाप्रति समाजले गरेको प्रशंसाले उनको छाती चौडा हुन्छ । परिवार र समाजले आदर्श छोरीको रूपमा हेरेको छ उनलाई । उनको परिवारमा कमाउने कोही छैन । खोरीयामा उब्जेको अन्नबालीले केही महिना थेग्छ । अहिले सन्तमायाको कमाइ परिवारका लागि ठूलो भरोसा बनेको छ । कान्दा जहाँ जंगली च्याउ खाएर परिवार नै समाप्त हुन्थे । अहिले चेतना बढेको छ, के खाने के नखाने भनेर विचार गर्छन् । आज सोच फेरिएको छ, चिन्तन फेरिएको छ । विस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने भावना भएका मान्छेको संख्या बढ्दै छ । सन्तमायालाई खुसी लागेको छ, समाजमा छोरीप्रति मान्छेको सकारात्मक सोच बढेकोमा । ‘चेपाङका छोरीहरूले अब आठ÷नौ पढेर दंग पर्नुपर्ने छैन, भोलिका दिनमा हाम्रो समाजमा उच्चशिक्षा हासिल गरेका धेरै छोरी हुनेछन् । अज्ञानता र अशिक्षाले हाम्रो समाजलाई छोडेर जानेछ भन्नेमा मलाई पूर्ण रूपमा विश्वास छ,’ उनले भनिन् ।
उच्चशिक्षा हासील गरेका धेरै महिला देखेकी छन् सन्तमायाले । ‘अरूको अगाडि मेरो पढाइ भन्न पनि लाज लाग्छ, कतिलाई लाग्छ जाबो आठ पढ्नेले पनि किन फूर्ति लगाएको होला ? तर, म जुन समाज र परिवारमा जन्मँेहुर्कें त्यहाँका लागि मैले पाएको शिक्षा कम होइन । धन्न मेरो बुबाआमाले यतिसम्म पढाउनुभयो । मेरा दौतरीले जस्तै सानैमा म पारिवारिक बन्धनमा बाँधिइनँ । आज परिवार र आफ्ना लागि केही गर्न पाएको छु । यसमा म दंग पनि छु । मेरो परिवारको सकारात्मक सोचको कारण यतिबेला केही गर्ने अवसर पाएको छु,’ उनी भन्छिन् ।
लक्ष्मी प्रतिष्ठानले सन्तमायाको जीवनमा नयाँ मोड ल्याएको छ । खोरीया खनेरमात्र जीवन चल्दैन । जीवन चलाउन सीप, जाँगर र मन चाहिन्छ भन्ने उनले बुझेकी छन् । सिलाई कटाइको समेत ज्ञान भएकी सन्तमायालाई नयाँ काम गर्ने सोच छ । चितवनको विकट एवं पिछडिएको कान्दालाई फेर्न लागिपरेको प्रतिष्ठानसँग मिलेर आफ्नो गाउँलाई फेर्ने रहर छ, उनलाई । ‘म आफूले जानेको र बुझेको कुरा गाउँलेलाई सिकाउन चाहन्छु, गाउँले मप्रति गर्व गर्छन् भने यो गाउँका लागि केही गर्नु मेरो पनि कर्तव्य हो,’ उनी थप्छिन् । कान्दा छोडेर कतै नजाने सन्तमायाले बताइन् । उनी भन्छिन्, ‘आफू जन्मे हुर्केको ठाउँको लागि केही गर्नुपर्छ भन्ने भावना दिनदिनै बढेको छ उनमा । भोलिका दिनमा चेपाङहरू खान नपाएर वा दूषित खान खाएर मरे भन्ने सुन्न नपरोस् भनेर सचेत छु । गाउँलेलाई सचेत बनाउने र राम्रोसंग जिवन चलाउने बारे चेतना जगाउने चाहन्छु ।’ सन्तमायालाई समाजले गरेको गर्वको ऋण तिर्नुपर्छ भन्ने लागेको छ ।
प्रतिक्रिया