ताला लागेपछि मालिकहरूले विरोध सुरु गरे

Pabsonकाठमाडौं, १३ साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले आफ्ना केन्द्रीय कार्यालयमा पूर्वजानकारीबिना तालाबन्दी गराएको भन्दै निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन) ले चिन्ता व्यक्त गरेका छन् ।

क्रान्तिकारीले निजी विद्यालयको शुल्कवृद्धि फिर्ता र भूकम्पपछिको बिदा अवधिको १५ दिनको शुल्क मिनाहासम्बन्धी सहमति कार्यान्वयन नभएकोलगायत माग राखी मङ्गलबार प्याब्सनको केन्द्रीय कार्यालय डिल्लीबजार र एन–प्याब्सनको केन्द्रीय कार्यालय पुल्चोकमा अध्यक्ष र महासचिवको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

प्याब्सन केन्द्रीय सचिवालयले पूर्वजानकारीबिना हठात् तालाबन्दी हुनु आपत्तिजनक भएको जनाएको छ ।

एन–प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले गत वैशाख ६ गते शिक्षा मन्त्रालयमा भएको सहमति कार्यान्वयनका लागि प्राविधिक समिति गठन भई चरणबद्ध कार्यान्वयनमा भइएको बताउँदै एकाएक तालाबन्दी हुनु दुःखद भएको बताए ।

उनले तालाबन्दीका विषयमा सरकारसँग कुरा गर्ने जनाए । सङ्गठनले उच्च माध्यमिक विद्यालय संघ (हिसान) को केन्द्रीय कार्यालयमा पनि तालाबन्दी गरेको छ ।

सङ्गठनले मङ्गलबार सानोठिमीस्थित शिक्षा विभाग र उमावि शिक्षा परिषद्का कार्यालय प्रमुखको कार्यकक्षमा गरिएको तालाबन्दी भने प्रहरीको सहयोगमा तोडिएको छ ।

क्रान्तिकारीका अध्यक्ष शरद् रसाइलीले भने पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सहमति कार्यान्वयन नभएकाले आन्दोलन अघि बढाइएको बताए । उनले सहमति कार्यान्वयन भएको भन्ने कुरा देखावटी मात्र भएको दाबी गरे ।

प्रतिक्रिया