चौतारा, ७ साउन । भूकम्पका कारण पहिरोको उच्च जोखिममा परेका सिन्धुपाल्चोकका ४ गाविसका ३२४ घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
पहिरोको उच्च जोखिममा परेका गुम्बा गाविसको तापगाउँ, बाह्रबिसे–७ को रुम्टी टोल, हेलम्बु गाविसको तिम्बुफाँट र दोजुङ खर्चुङ तथा चोकटी गाविसको वडा नं ९ सहित ७१६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए ।
यसअघि, अति उच्च जोखिममा परेका विभिन्न गाविसका विभिन्न वडाका ४२२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको छ ।
सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा कतिपयले आफ्नो थातथलो छाड्न नचाही जोखिम मोलेरै बसेका छन् ।
तातोपानी, फुलपिङकट्टी, लिस्तीलगायतका गाविसका अधिकांश बासिन्दा राजधानीका विभिन्न स्थानमा गएर बसेकाले बस्ती प्रायः शून्य रहेका छन् ।
पहिरोको अति उच्च जोखिममा परेका तातोपानी मार्मिङ, फुलपिङकट्टी, गुम्बा, गोल्चे, पाङ्ताङ, बराम्ची, जलवीरे, भोताङ, बरुवा र हेलम्बुसहित ११ गाविसका एक हजार ६६३ घरपरिवारका पाँच हजार १७५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने कार्यक्रम रहेको गिरीले बताए ।
प्रतिक्रिया