“झोला” मेरा लागि अग्निपरीक्षा थियो

Garima-Panta-Sexy-Lady-In-N
नेपाली सिने जगत्मा पछिल्लो पुस्तामा राम्रो छवि बनाएकी गरिमा पन्तको गरिमा ‘झोला’ सिनेमा प्रदर्शन भएपछि अझ बढेर गएको सबैले एकमतले स्वीकार गर्छन् । आफूलाई फरक रूपमा प्रस्तुत गर्न मन पराउने उनी चुनौतीपूर्ण भूमिकामा अभिनय गर्न रुचाउँछिन् । कहालीलाग्दो सती प्रथामा अधारित भएर बनेको ‘झोला’ सिनेमाले उनको उचाइ धेरैमाथि पुर्‍यायो । अभिनय गर्नु भनेको कला देखाउनु हो शरीर देखाउनु होइन भन्ने मान्यता राख्ने पन्त आफ्नो अडानमा सधैँ अडिग रहने बताउँछिन् । कथा, अभिनय र सिनेमामा प्रयोग गर्ने भेषभूषामा प्रस्ट नहुँदासम्म सिनेमामा हस्ताक्षर गर्दिनन् उनी । वर्तमान पुस्ताका लागि एकादेशको कथा जस्तै लाग्ने सती प्रथा र त्यसमा आधारित सिनेमाको सन्दर्भमा सौर्य दैनिकसँग भएको गरिमा पन्तसितको संवाद–

एक दिन निर्देशक यादव ढकालले फोन गरेर भन्नुभयो– ‘गरिमा ! कृष्ण धारावासीको कथामा ‘झोला’ सिनेमा बनाउन लागेका छौँ । तिम्लाई नायिकाको रूपमा लिने विचार छ । एकपटक त्यो किताब किनेर पढ ।’

उहाँले फोन गर्दा ‘झोला’ मैले तीनपटक पढिसकेको थिएँ । आफूले झोला पढेको बारे उहाँलाई जानकारी गराएँ । उहाँले बाँकी कुरा पछि बसेर सल्लाह गर्ने भन्नुभयो । सुरुमा उहाँका कुरा सुन्दा अचम्म लाग्यो ! झोला पढ्दा लागेको थियो, यति राम्रो कथामा सिनेमा बने कति राम्रो हुन्थ्यो होला । अझ त्यसको मुख्य पात्रमा आफैँले अभिनय गर्न पाए ! निर्देशक ढकालको फोन आएपछि ममा एक तरंग र उत्साह जाग्यो, साच्चै मेरो मनको कुरा पूरा हुने भयो भनेर । यति कठोर कथावस्तुमा आधारित सिनेमा खेल्न पाउने भएँ भनेर खुसी भएँ ।

सानो छँदा हजुरआमाले कथा सुनाउनुहुन्थ्यो । कहिलेकाहीँ आफ्ना पालाका सामाजिक जनजीवनका कुरा सुनाउनु हुन्थ्यो । सतीप्रथाबारे हजुरआमाबाट सुनेको थिएँ । उहाँले त्यो क्रुरता सुनाउँदा मेरो आङ सिरिंग हुन्थ्यो । हजुरआमाको समाज कति निर्दयी र क्रुरर रहेछ भन्ने लाग्थ्यो । कहिलेकाहीँ सम्झन्थेँ, धन्न त्यो समयमा जन्मेनछु, नत्र जिउँदै जल्नुपर्ने रहेछ भन्ने लाग्थ्यो ।

जब झोला किताब बजारमा आयो, किन्न र पढन हतार भयो । दोहोराइ तेहराइ पढेँ । किताब पढ्दा धेरैपटक भक्कानिएकी थिएँ । उतिबेलाका महिलाको दर्दनाक जीवन भोगाइ पढेर धेरै रोएँ । ‘जयकला’ को जीवन सम्झँदै कहालिलाग्दो लाग्यो किताब पढ्दा । सिनेमा खेल्ने भएपछि लाग्यो । अभिनयमा नै भए पनि उतिबेलाको भोगाइ भोग्ने भएँ ।

सानैदेखि अभिनयमा सोख थियो । बुझ्दै जाँदा अलि फरक रूपमा आफूलाई प्रस्तुत गर्न मन लाग्यो । म हरेक कुरा नयाँ र चुनौतिपूर्ण गर्न मन पराउथेँ । झोला पनि मेरा लागि एक प्रकारको च्यालेन्ज नै थियो । झोलाअघि करिब डेढ दर्जन सिनेमामा अभिनय गरिसकेकी थिएँ । कति यो माया, प्रेम, सुखशैलका कुरामा अभिनय गर्नु भन्ने लाग्थ्यो बेलाबेला ।

झोलाको अफर एक प्रकारले मेरा लागि अवसर थियो । प्रस्ताव आएपछि घरमा सुनाएँ, आमाले असहमति जनाउनुभयो । ‘साह्रै दुःख हुन्छ । भो, नगर अरू सिनेमा खेले हुन्छ । त्यति गाह्रो रोल के गरी गर्छेस् ?’ भन्नुभयो । मैले परिवारलाई सम्झाएँ । उहाँहरूले सहमति दिनुभयो । म निकै खुसी भएँ । आफूले पढेको सुनेको कुरा भोग्नु थियो झोलामा मैले ।

पढेर र सुने जस्तो सजह भोगाइ हुँदैन भन्ने बुझेको थिए मैले । यो युगमा सती जाँदाको कष्टकर जीवन भोगेँ झोलामा मैले । अभिनय गर्दा त मलाई त्यति सकस भयो, उतिबेला वास्तविक जीवन भोग्ने हजुरआमाहरूलाई कति कष्ट भयो होला भन्ने लाग्यो अभिनय गर्दा ।

झोलाले म भित्र भएको कला राम्रोसँग पोख्ने अवसर दियो । मेरो अभिनयको जीवनमा त्यो मेरा लागि ठूलो अवसर थियो । सुरुमा डर पनि लागेको थियो, अभिनय राम्रो हुने वा होइन भनेर । यदि, झोलामा फेल भए भने मेरो अभिनयको क्यारियर समाप्त हुन्छ भन्ने थाहा थियो मलाई । बेलाबेला मनले भन्थ्यो, गरिमा तेरो लागि झोला अग्निपरीक्षा हो ! साच्चै मेरा लागि झोला अग्निपरीक्षा नै थियो ।

म आफूलाई बिर्सिएर पूर्णरूपमा ‘जयकला’ बन्दै थिएँ । यो अधुनिक समाजबाट आफूलाई धेरै पछाडि धकेल्नु थियो । बोली, भाषा, लवाइ र शैलीमा । घरिघरि डरलाग्थ्यो, कतै फेल त हुन्न भन्ने । सचेत थिएँ, मलाई झोलामा सफल हुनुथियो । आफू एक्लैले राम्रो गर्छु भनेर केही हुँदैन । कथा राम्रो हुनुपर्छ, त्यसलाई प्रस्तुत गर्ने सबैले कुशलतापूर्वक काम गर्नुपर्छ । झोला सबै कुराको राम्रो संयोजन र प्रस्तुति थियो, त्यसैले सफल भयो ।
०००
Garima-Pant-1सिनेमामा साइन गर्नुअघि म सधैँ कथा र डे«सको बारेमा प्रष्ट हुन चाहन्छु । कुनै पनि सिनेमाको कथाले यति इन्च छोटो लुगा लगाउनु भनेको हुँदैन । झोलामा पनि सती जाने बेला कस्तो लुगा लगाउने भनेर निकै बहस भयो । म नांगिएर सिनेमा खेल्न चाहन्नँ । कला भनेको अभिनय हो, राम्रो कथावस्तुमा राम्रो निर्देशन र अभिनय भयो भने सिनेमा चल्छ भन्नेमा म विश्वस्त छु ।

‘झोला’मा मात्र होइन म हरेक सिनेमामा शरीर होइन कला देखाउन चाहन्छु । यही बहसमा मैले आफ्नो अडान छाडिनँ, म सिनेमा छोडन तयार थिएँ, अडान छोडन तयार थिइनँ । कथामा जयकला नांगै चितामा हाम फाल्नुपर्ने थियो । पढ्नु र अभिनय गर्नु फरक कुरा हो । म नांगै चितामा जान तयार नभएपछि त्यसै अनुसारको कपडा तयार गर्ने सहमति भयो, अनि मात्र म अभिनय गर्न तयार भएँ ।

कतिलाई लाग्न सक्छ, गरिमा घमण्डी छे भन्ने । बेलाबेला सुनेको छु । अरूको कुरा नमान्ने र आफ्नै घमण्डमा लागेको कारण गरिमा असफल हुन्छे भन्ने टिप्पणी । तर, मलाई आफ्नो स्वभिमानभन्दा पर केही पाएर खुसी हुनु छैन । आत्मस्वाभिमानले कमाएको पैसा मेरा लागि अमूल्य हुन्छ । त्यसमा कतै गुनासो हुँदैन मात्र सन्तुष्टी हुन्छ ।

कसले के चाहेको छ वा के भन्छ भन्दा म आफू के गर्दैछु भन्नेमा ख्याल गर्छु । आजसम्म मेरो यही अडान कायम छ । यो अहिलेसम्म गरेका सबै सिनेमामा भएको मेरो अडान हो । संख्या बढाउनका लागि र व्यस्त हुन सिनेमा खेलिन्न । व्यस्त हुन जे पनि काम गर्न सकिन्छ । मलाई यहीबाट दामभन्दा बढी नाम र सन्तुष्टि कमाउनु छ । यसमा गौरव गर्छु ।
झोला सुटिङ सुरु भएपछि कुनै काम गरिनँ । पूर्णरूपमा आफूलाई जयकला बनाउने प्रयास गरे । सुटिङमा बिहानदेखि साँझसम्म कपडा फेर्दैन थिएँ । आफ्नो रोल सकेर कपडा फेर्ने गरिएन । प्याक भएपछि मात्र फ्रेस भएर चेन्ज गर्थें ।

रुने सिनमा कहिले पनि ग्लिसरिन प्रयोग गर्नु परेन । रुवाइ पनि वास्तविक हुन्थे । आँसु झार्न समस्या थिएन, कथाले आफैँ वर्षाउथ्यो आँसु । सुटिङबाट निस्कन निकै कठिन भयो । गरिमा पूर्णरूपमा हराएकी थिइ, कतै थिइनँ, मात्र जयकला थिएँ । सुटिङ सकिएपछि चेन्च भएर बाहिर आउँदा मलाई देखेर सबै छक्क पर्थे । गरिमा नौलो भएकी थिई सबैका लागि ।

म नांगिएर सिनेमा खेल्न चाहन्न । कला भनेको अभिनय हो, राम्रो कथावस्तुमा राम्रो निर्देशन र अभिनय भयो भने सिनेमा चल्छ भन्नेमा म विश्वस्त छु । ‘झोला’मा मात्र होइन, म हरेक सिनेमामा शरीर होइन कला देखाउन चाहन्छु । यही बहसमा मैले आफ्नो अडान छाडिन । म सिनेमा छोड्न तयार थिए, अडान छोड्न तयार थिइन ।

सुटिङमा खाली खुट्टा जंगल हिड्नुपर्ने थियो । भान्सादेखि बेडरुमसम्म चप्पल लगाउने बानी परेको मेरा लागि त्यो सहज थिएन । बानी पार्नका लागि सुटिङमा छिरेदेखि घर नर्फकदासम्म खाली खुट्टा हिड्थ्यौँ । निकै गाह्रो थियो सुटिङ, म तनमनले सुटिङमा केन्द्रत थिएँ । जति पीडा सहेर पनि झोला उत्कृष्ट हुनुपर्नेमा मेरो सोचाइ थियो । मेरो जस्तै सोच युनिटका सबैको थियो । मेरा लागि मात्र होइन सबैको लागि च्यालेन्ज थियो ‘झोला’ ।

आफू जन्मे हुर्केको समाजभन्दा धेरै पछाडि फर्केर लगाउनु, बोल्नु र कला देखाउनु थियो । कहिलेकाहीँ लाग्थ्यो साच्चै गरिमा हराइ भन्ने । जयकलाबाट फर्केर गरिमा हुन पनि मलाई सहज भएन । यो जीवन फेरि बिर्से जस्तै लाग्यो । झोलाको कथा, भोगाइ निकै पीडादायी थियो । सुटिङ पनि कम थिएन । सुटिङअवधि भरमा सबैभन्दा गाह्रो त्रिशूलीबाट फाल हाल्ने सिन भयो । माघको जाडो ।

शरीरमा थोरै कपडा र त्रिशूलीको सिरेटो सम्झदै आङसिरिङ्ग हुने खालको थियो । अझ बिहानको पाँच बजे सिन लिनु थियो । रातभरि त्रिशूलीको स्याँठले कठाङ्ग्रिएको थिएँ । त्यति बेला भने मलाइ दिक्क लाग्यो । कस्तो गाह्रो सिनेमा खेल्न आएछु भन्ने पनि लाग्यो । तर, त्यो दिग्दारी थोरै समयमा नै भंग भयो ।

०००

सानो छँदा सधैँ ठुल्ठूला कुराको कल्पना गर्थें । टिभी हेर्दा वा अरू समय । म पनि ठूलो मान्छे भए सबैले मान सम्मान गरे जस्ता कुरा मेरो मनमा खेलिरहन्थ्यो । कमन हुन मन थिएन, एक्स्ट्रा हुन चाहन्थेँ । नायिका भएपछि पनि म कमनभन्दा फरक हुन चाहन्थेँ । तर, मेरो चाहनाले मात्र हुँदैन । केही चाहना झोलाले पूरा गरेको छ ।

jholaफेरि अर्को ऐतिहासिक व्यक्तित्व विपी कोइरालाको जिवनीमा आधारित ‘तीन घुम्तीमा’ अभिनय गरेको छु । त्यो पनि मेरा लागि चुनौति हो । झोलाले मेरो अभिनयमा गरिमा बढाउने काम गरेको थियो । तीनघुम्तीले के गर्छ थाहा छैन । आशा गरेकी छु, यो पनि एक ऐतिहासिक सिनेमा बन्नेछ भन्ने ।

झोलाले देश विदेशमा सम्मान पायो । नेपालमा पुरस्कार नपाएकी मैले विदेशमा पुरस्कार पाएँ झोलाबाट । जीवनको पहिलो पुरस्कार अन्तर्राष्ट्रिय हो । खुसीको कुनै सीमा रहेन । झोलाको च्यारेटी सो हेर्न गएँ । सिनेमामा मेरो ध्यान थिएन ।

पूरै ध्यान दर्शक तिर थियो । झोला र मेरो कलाप्रति दर्शकको हेराइ कस्तो होला भन्ने मात्र सोचे । मुटु ढुकढुक गरेको थियो । तर, सिनेमा हेर्दाहेर्दै दर्शक रुन थाले । जब सिनेमा सकिन लागेको थियो दर्शकले ताली पिटे । त्यति बेला मैले सुटिङका सबै दुःख बिर्सिए ।

अझ ओस्कारमा नोमिनेट हुने बित्तिकै खुसीको सीमा रहेन । सिनेमाले त्यति ठूलो सफलता प्राप्त गर्ला भनेर सोचेको थिइनँ । झोलाको च्यारिटी सो हेर्न परिवार पनि गएको थियो । आमाले पूरै सिनेमा हेर्न सक्नु भएन । सिनेमामा मैले भोगेको दुःख देखेर रुँदै भन्नुभो, गरिमा म यहाँभन्दा बढी हेर्न सक्दिनँ । त्यतिबेला लाग्यो म सफल भएछु भन्ने ।

पुराना नायिकाहरूले राम्रो गरेछौ भने । खुसी लाग्यो । साँच्चै, सानोदेखिको एक्स्ट्रा हुने रहर केही पूरा भएको ठानेँ ।

चमिना भट्टराई

प्रतिक्रिया