गौरमा सुझाव सङ्कलन कार्य सम्पन्न

Madhav Nepalरौतहट, ४ साउन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानको मस्यौदामाथि सुझाव सङ्कलन गर्न सदरमुकाम गौरमा आयोजित कार्यक्रममा भएको ढुङ्गामुढा तथा तोडफोडको निन्दा गरेका छन् ।

चन्द्रनिगाहपुरमा सङ्क्षिप्त कुरा गर्दै नेता नेपालले कार्यक्रम बिथोल्ने र तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय भएको बताए ।

राष्ट्रिय गानबाट कार्यक्रमको सुरुवात आफूले गर्दै गरेका बखत सकारात्मक सोच नराख्नेहरूले एक्कासि ढुङ्गामुढा प्रहार गरेर कार्यक्रममा बाधा अवरोध गर्न खोजेको जानकारी दिँदै उहाँले नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न समुदायका प्रतिनिधिको सहभागितामा सौहार्दपूर्ण वातावरणमा संविधानको मस्यौदामाथि सुझाव सङ्कलन कार्य सम्पन्न भएको बताए ।

रौतहट क्षेत्र नं १ अन्तर्गत गौर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सहभागी हुन पाउनुपर्ने माग राख्दै सङ्घीय सद्भावना पार्टीलगायत मधेसवादी दलले विरोध प्रदर्शन तथा ढुङ्गामुढा गर्दा एमाले नेता नेपाल चढ्नुभएको बा१३च १४५१ नंको जिप तथा सुरक्षा निकायका सवारीमा समेत क्षति पुगेको छ ।

अहिले गौर नगरपालिका वरपरको वातावरण शान्त रहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

उनले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि राय सुझाव सङ्कलन गर्ने कार्यमा हुन सक्ने सम्भावित घटनालाई लक्ष्य गरी अन्य स्थानमा आयोजना हुने कार्यक्रममा कडा सुरक्षा व्यवस्था मिलाइएको बताए ।

प्रतिक्रिया