सीमा समस्या समाधान गर्न भारत तयार : दाहाल

Puspakamal-Dahal-Kukur-Dankकाठमाडौं, ४ साउन । भारत सरकारले नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान गर्न तयार रहेको विश्वास दिलाएको छ ।

साताव्यापी भारत भ्रमणमा गएका प्रमुख बिपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराजले सो विश्वास दिलाएका हुन् ।

भारत भ्रमणबाट स्वदेश फर्केपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरागर्दै अध्यक्ष दाहालले कालापानी, सुस्ता, लिपुलेकलगायतका स्थानमा देखिएको सीमा समस्या समाधान गर्ने वचन भारतीय सरकारले दिएको जानकारी दिए ।

अध्यक्ष दाहालले भने, ‘नेपाल र नेपाली जनताको भावनालाई सन्दर्भसहित मैले प्रस्तुत गर्दा भारतीय सरकारका तर्फबाट विशेष चासो व्यक्त भएको छ । दुई मुलुकका बीचमा सीमालगायतका समस्या रहेका छन् । त्यो समाधान गर्नुपर्छ भनेर आग्रह गरे । उहाँहरुले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समस्याको समाधान गर्ने वचन दिनुभएको छ ।’

भारतका प्रधानमन्त्रीले केही समय पहिले गर्नुभएको चीन भ्रमणका बेला भारत र चीनबीच भएको सहमतिमा लिपुलेकबाट व्यापारिक नाका खोल्ने सहमति भएको थियो ।

अध्यक्ष दाहालले विदेशमन्त्री स्वराजसँग सीमा समस्याको विषयमा नै केन्द्रित रहेर छलफल भएको बताए ।

प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको क्रममा व्यवस्थापिका–संसदमा व्यक्त गरेको धारणालाई स्मरण गराउँदै दहालले आफूले सीमा समस्या, बढ्दो व्यापार घाटा कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको सञ्चारकर्मीलाई जानकारी गराए ।

यस्तै भारतमा रहेका नेपालीले भोग्नुपरेका विभिन्न समस्या, बैंक खाता खोल्दा भोग्नुपरेको अप्ठ्यारो, भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने महँगो शुल्क, भारतमा क्रियाशील अखिल भारतीय एकता समाजमाथि लागेको प्रतिबन्ध हटाउनसमेत आफूले भारत सरकारका पदाधिकारीसँग छलफल गरेको उनले उल्लेख गरे ।

‘सबै समस्यालाई जिम्मेवार भएर हल गर्ने वचन भारत सरकारले दिएको छ । नेपाल र नेपाली जनताको भावनालाई आत्मसात् गर्नु छिमेकीको दायित्व पनि हो भन्ने मैले स्मरण गराएको छु’, अध्यक्ष दाहालले भने ।

संविधान लेखनमा भारतको साथ

प्रमुख चार राजनीतिक दलको सहमतिमा संविधान लेखन प्रक्रियाले गति लिएको भन्दै भारतीय राष्ट्रपति, भारत सरकार, राजनीतिक दल तथा बुद्धिजीवीले आफूलाई बधाई दिएको अध्यक्ष दाहालले बताए ।

भारतीय प्रधानमन्त्रीले सबै पक्षलाई मिलाएर लैजान सुझाव दिनुभएको र अन्य नेताहरुको समेत सोही आशय रहेको आफूले पाएको उनले उल्लेख गरे । गत असार २९ गते अध्यक्ष दाहाल भारत भ्रमणमा जानुभएको थियो ।

प्रतिक्रिया