नेताहरूले झुटो मुद्दामा फसाए : श्यामसुन्दर

shayam-sundar-ghuptaसुनधारास्थित केन्द्रीय कारागारको मुलढोकाअगाडि शनिबार बिहान ठिक १० बजेको थियो । सधैँको भन्दा केही फरक दृश्य देखिन थाल्यो । नेवारी पोसाकमा रहेका केही महिलासहितको समूह हातमा पूलमाला लिएर कोही विशिष्ट व्यक्तिको आगमनमा स्वागतको लागि बसेकोे जस्तो अनुभूति हुन्थ्यो ।

केही समय नबित्दै फेरि रत्नपार्कबाट सद्भावना पार्टी युनाइटेड गोरखा जिल्ला समिति लेखिएको ब्यानरसहितको गाडी केही युवाहरू लिएर केन्द्रीय कारागारको ढोकाअगाडि ढ्याक्क रोक्कियो । त्योसँगै कारमा आएका केही युवा कारागारको मुलगेटबाट भित्र छिरे । केही समय नबित्दै मुलगेटबाट अबिर र मालासहित एक व्यक्ति निस्किए । ती व्यक्तिको स्वागतमा झन्डै सयको संख्यामा जम्मा भएका युवाले माला लगाइदिएर चुनाव जितेको नेतालाई जस्तै स्वागत गरेका थिए । त्यो अवसर थियो– व्यापारी पवन संघाईको अपहरण गरेको अभियोगमा सद्भावना पार्टीका नेता तथा पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ता तीन वर्ष जेल बसेर निस्केका रहेछन् । गुप्तालाई स्वागत गर्न पार्टीका कार्यकर्ता, शुभेच्छुक, आफन्तलगायतको ठुलै भिड लागेको थियो । गुप्तालाई सोही क्रममा केहीले खुट्टामा ढोगेका समेत थिए ।
उनलाई भैरहवामा छोराको विवाहको तयारी गरिरहेका बेला पक्राउ गरिएको थियो । गुप्ता सभासद् रहेकै बेला ०६८ माघ २ गते व्यापारी अपहरण अभियोगमा पक्राउ परेका थिए । ०६२÷६३ को जनआन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा गुप्ता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए । भैरहवा निवासी पूर्वसभासद् एवं पूर्व आपूर्तिमन्त्री गुप्ता व्यापारी पवन संघाईको अपहरण अभियोगमा जेल परेका हुन् । अपहरणको मुद्दामा सात वर्ष जेल बस्नुपर्ने प्रावधान रहे पनि उनलाई सजाय घटाएर ३ वर्ष ६ महिना सजाय तोकिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीमाथि १७ वर्षको सजाय माग दाबी गरेको थियो ।
संघाईलाई अपहरण गरी काभ्रेमा २० दिनसम्म लुकाएर ८५ लाख रुपैयाँ असुलेको गुप्तामाथि आरोप लागेको थियो । संघाई ०६८ साल पुसमा काठमाडौंको कमलादीबाट अपहरणमा परेका थिए । सुन्धारास्थित कारागारमा रहेका गुप्ता शनिबार मुक्त भएसँगै उनले पूर्ण सफाइका लागि पुनरावेदन जाने बताए । ‘मैले न्याय पाएको छु, त्यसमा मलाई चित्त बुझेको छैन,’ गुप्ताले भने, ‘तत्कालीन नेताहरूले मलाई झुठो मुद्दामा फसाएका हुन् ।’ फौजदारी अभियोगमा जेल बसेर निस्केका गुप्ताले आफ्नो राजनीतिक यात्रा सुरु गर्ने बताएका छन् । आफू अहिले पनि पार्टी अध्यक्ष भएको दाबी गर्दै उनले भने, ‘देशमा शान्ति र अमनचयन कायम होस्, चाँडो संविधान बनोस् ।’ व्यापारी पवन संघाईको अपहरण गरेको अभियोगमा २०६८ साल माघमा पक्राउ परेका पूर्वमन्त्री तथा नेपाल सद्भावना पार्टी आनन्ददेवीका अध्यक्ष गुप्तालाई पार्टीले समेत कुनै कारबाही गरेको थिएन ।
काठमाडौं जिल्ला अदालतले उनीमाथि न्यायिक प्रक्रिया चलिरहेको बेला गुप्तासँगै अन्य पाँच अभियुक्तलाई पनि थुनामा पठाउने आदेश दिएको थियो । ०६८ साल पुसमा कमलादीबाट अपहरणमा परेका संघाईको अपहरणमा संलग्न रहेको भनिएकी आरजु सुब्बालाई भने २ लाख धरौटीमा छाडिएको थियो । जेलमुक्त हुँदा पनि गुप्ताले आफूलाई झुठा मुद्दामा फसाइएको दाबी गरे । जेलचलान हुँदा निकै हतास देखिएका गुप्ता जेलमुक्त हुँदा प्रसन्न देखिएका थिए ।
व्यापारी अपहरण मुद्दामा जेल सजाय पूरा गरी शनिबार मुक्त भएका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताले पुनरावेदन अदालतबाट अपराधी ठहर भएमा राजनीति नगर्ने बताएका छन् । जेलमुक्त भएपछि शनिबार गुप्ताले आफूलाई सुनियोजित रूपमा फसाइएको दाबी गरे । पूर्ण सफाइका लागि आफू पुनरावेदन जाने र पुनरावेदनबाट आफू अपराधी ठहर भएमा राजनीति नगर्ने स्पष्ट गरे । सर्वोच्चबाटै अपराधी ठहर गरिएका व्यक्तिले मात्रै ६ महिना सक्रिय राजनीति गर्न नपाउने कानुनमा उल्लेख भएकाले आफूले राजनीति गर्न पाउने उनको जिकिर छ । ‘तत्कालीन सरकारका मतियारले मलाई सुनियोजित रूपमा फसाएका हुन्,’ गुप्ताले भने, ‘मधेस र मधेसी जनताप्रति गरिने विभेदको शिकार म भएको छु ।’ उनले आफूलाई प्रहरीले पक्राउ पुर्जीसमेत नदिएर पक्राउ गरेको आरोप लगाए । ‘मेरो जेठो छोराको विवाहभन्दा दुई दिनअघि मलाई हनुमान ढोका ल्याइयो तर पक्राउ पुर्जीसमेत दिइएन,’ उनले भने, ‘बबनसिंह पक्राउ गर्दा लिखित पक्राउ पुर्जी दिइएको थियो ।’
आफूले ८० लाख रुपैयाँका लागि कसैलाई अपहरण गर्नुपर्ने अवस्था नभएको दाबी गरे । आफ्नो एउटा छोरा डाक्टर र अर्को छोरा इन्जिनियर रहेको उल्लेख गर्दै गुप्ताले आफू मन्त्री भएको बेला करोडौँ रुपैयाँको अफर आउँदासमेत नलिएको दाबी गरे । आफ्नो नाममा एक धुर जग्गासमेत नभएको बरु इन्भेस्टमेन्ट बैंकमा ६५ लाखको लोन रहेको पनि उल्लेख गरे । मिडियाले समेत एकतर्फी रूपमा व्यापारी अपहरण गरेको समाचार संप्रेषण गरेको गुप्ताले गुनासो गरेका थिए । गुप्तालाई अपहरण तथा शरीर बन्धक मुद्दामा काठमाडौं जिल्ला अदालतले ३ वर्षको कैद र १ लाख जरिवानाको फैसला गरेको थियो ।
सद्भावना (आनन्दी देवी) तर्फबाट मन्त्री बनेका गुप्ता जेलमै रहेका बेला उनी अध्यक्ष रहने गरी नेपाल सद्भावना पार्टी (युनाइटेड) गठन भएको थियो । गुप्ताले नयाँ ऊर्जा र विश्वासका साथ नेपाल सद्भावना पार्टी (युनाइटेड) को अध्यक्षका रूपमा देश र मधेसीको समानतासहितको आन्दोलनलाई नयाँ उचाइमा पु¥याएर राजनीतिको माध्यमबाट जनताको सेवा गरिरहने प्रतिबद्धता समेत जाहेर गरेका हुन् । गुप्ताले शनिबार हिरासतमुक्त भएपछि आयाजना गरेको पत्रकार सम्मेलनमा आफूलाई तत्कालीन सरकारका मन्त्रीहरूले सुनियोजित रूपमा फसाई झुठा मुद्दामा आफूलाई जेल पठाइएको गुनासो पटकपटक गरिरहे । गुप्ताले न्यायालयमाथि आस्था र विश्वास रहेकाले आफूले न्याय पाउने धारणा राखे । मधेश र मधेशीका लागि सक्रिय राजनीतिक दलको रूपमा रहेको नेपाल सद्भावना पार्टीका टुक्राहरूलाई जोड्ने प्रयास गरिरहँदा आफूमाथि विभेदपूर्ण नीतिको कठोर प्रहार भएको गुप्ताले बताएका छन् । सदभावनाका टुक्राहरूलाई एकीकृत गर्न नेपाल सद्भावना पार्टी (युनाइटेड) निर्माण गर्ने योजना बनाइरहँदा आफूलाई परम्परागत नेपाली राज्यसत्ताका विभिन्न आवरणमा लुकेर बसेका उत्तराधिकारी समूहले सुनियोजित योजनाअन्तर्गत अपहरण तथा शरीर बन्धक मुद्दामा हिरासतमा पठाएको पत्रकार सम्मेलनमा उनले बताए ।
गुप्ताले भने, ‘मेरो अदालतप्रतिको निष्ठा, कानुनप्रतिको सम्मान आज पनि कायम छ ।’ गत १७ जेठमा जिल्ला अदालत काठमाडौंले उनीमाथि लागेको अपहरण तथा शरीर बन्धक मुद्दामा साढे ३ वर्षको कैद र १ लाख जरिवानाको फैसला गरेको थियो ।
उक्त फैसलाविरुद्ध पुनरावेदन जाने र पुनरावेदनबाट आफूलाई न्याय मिल्ने कुरामा आफू विश्वस्त रहेको उनले बताएका छन् । उनले नेपाली राजनीतिकर्मीहरूले देशकेन्द्रित राजनीति नगरेर सिंगो मुलुकलाई थप द्वन्द्वको चपेटामा पार्दै लगेको आरोप लगाएका छन् । जनताको चाहना र भावनाविपरीत सिन्डिकेट बनाएर राजनीति गर्नेहरूले संविधान मस्यौदामार्फत जनतालाई धोका दिएको र नेपाली–नेपालीबीच दूरी बढाएको आरोप लगाउन पनि उनी पछि परेनन् ।
०००
– सञ्जीव दाहाल

प्रतिक्रिया