आन्दोलित संस्कृत विश्वविद्यालय

professiorकाठमाडौं, ४ साउन । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले आठबुँदे मागअघि सार्दै माग पूरा नभए आन्दोलनको चेतावनी दिएका छन् ।

दुई संगठनले आइतबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरेर पदावधि सकिन २० दिन बाँकी रहँदा विश्वविद्यालयलाई भार पर्ने गरी गर्न लागेको कार्य बन्द गर्नुपर्ने, तलब खुवाउन नसकेको अवस्थामा नयाँ शिक्षक नियुक्त र बढुवा गर्ने कार्य बन्द गर्नुपर्ने, आयुर्वेद अध्ययन संस्थानको डिनमा वरिष्ठ प्राध्यापकबाट नियुक्त गर्नुपर्ने, असार मसान्तसम्मको तलब भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, वार्ताबाट विश्वविद्यालयमा लगाएको ताल खोली कार्यालय सूचारु गर्नुपर्ने, दीक्षान्त समारोह र परीक्षा कार्यक्रम नियमित गर्नुपर्ने, आन्तरिक विशेष स्थायी विज्ञापनको प्रक्रिया सुचारु गर्नुपर्ने र भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने माग सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्राध्यापक संघका अध्यक्ष नवराज कट्टेलले विश्वविद्यालयका पदाधिकारीले आफ्नो पदावधि सकिन लाग्दा नयाँनयाँ नियुक्त गर्नेलगायत निर्णय गर्दा त्यसले विश्वविद्यालयको अस्तित्वमा नै संकट उत्पन्न गर्ने भएकाले आपूहरू आन्दोलनमा उत्रन बाध्य हुनुपरेको दाबी गरे । उनले आपूहरूले अघि सारेका माग तत्काल सुनवाइ नगरे आन्दोलनमा जानुपर्ने बाध्यता आउने स्पष्ट पारे । कर्मचारी संघका उपाध्यक्ष रमेशप्रसाद जोशी अन्तिम समयमा पदाधिकारीले विश्वविद्यालयलाई निजी सम्पत्ति जस्तो बनाएकाले त्यो कार्य तत्काल रोक्नुपर्ने माग गरे ।

प्रतिक्रिया