‘भारत सकारात्मक’

Puspakamal-Dahal-Kukurकाठमाडौं, ३ साउन । पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान निर्माणको प्रक्रियामा भारतको समर्थनसहितको सकारात्मक सन्देश रहेको बताएका छन् ।

शनिबार उनले नयाँदिल्लीमा भने, ‘भारत नेपालका सबै दलले अपनत्व महसुस गर्ने गरी संविधान जारी होस् भन्ने पक्षमा छ ।’
भारतमा महत्वपूर्ण राजनीतिक भेटवार्तापछि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै दलको अपनत्व हुने संविधान जारी गर्दा सबैको साथ रहने सुझाव दिएको खुलाए । उनले भने,‘सानातिना विवाद बाँकी रहे त्यसले फेरि नेपाललाई द्वन्द्वमा लान सक्नेतर्फ मोदीजीले सचेत गराउनुभएको छ ।’
सकेसम्म सीमांकन टुंग्याएर संघीयता होस् भन्नेतर्फ भारतको संकेत रहेको उनले बताए ।
प्रचण्डले आफूले भेटवार्तामा लिपुलेकको विषयमा खुलेर कुरा गरेको बताए । उनले भने,‘ मोदीजीले नेपाल र भारतबीचका सबै समस्या समाधान गर्न तयार आफू तयार र सीमा विवाद दीर्घकालीन रूपमा समाधान गर्न तयार रहेको बताउनुभयो ।’ प्रचण्डका अनुसार मोदीले नेपालको पुनर्निर्माणमा अरू पनि सहयोग गर्न भारत तयार रहेको बताएका थिए ।
मोदीले नेपालको आन्तरिक राजनीतिक घटना क्रममा आफूहरूको चासो नरहेको बरु नेपाललाई हरदम सहयोग मात्रै गर्न तयार रहेको भनेको दाहालले सुनाए ।
कुराकानीमा प्रचण्डले  भारतीय प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो खुलेर प्रशंसा गरेको उल्लेख गर्दै शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई टुंगोमा पुर्‍याउन अगाडि बढ्नका लागि पनि हौसाएको बताए । आफ्नो भ्रमणलाई फलदायी र दुई मुलुकबीचको सम्बन्धमा नयाँ आयाम थप्न सफल भन्दै सबैको नेपालप्रति सद्भाव रहेको आफू पाएको प्रचण्डले बताए ।

प्रतिक्रिया