अब शिक्षकको पनि सरुवा !

educatation Ministryकाठमाडौं, ३१ असार । सरकारले अब शिक्षकको पनि सरुवाको व्यवस्था गर्ने भएको छ । चाँडै कार्यविधि बनाई जिल्लान्तर रूपमा शिक्षकहरूको सरुवा गरिने भएको हो ।

शिक्षा मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीले शिक्षकहरूलाई जिल्लान्तर सरुवा गर्ने कार्यविधि तयार पारिएको बताए । उनले शिक्षकहरूको दरबन्दी मिलाउन जिल्लागत रूपमा सरुवा गर्न थालेको पनि बताए । ‘जिल्लामा विद्यार्थी र विद्यार्थीको अनुपात मिलेको छैन,’ उनले भने, ‘त्यसैले जिल्लागत रूपमा सरुवा गर्दा अनुपात मिलाइन्छ ।’

अवस्थीले राजनीतिक पूर्वाग्रह नराखेर शिक्षकहरूको सरुवा गरिने जानकारी गराए । उनले शिक्षकको व्यावसायिक दक्षताका आधारमा सरुवा गरिने बताए । यसअघि एक जिल्लाबाट अर्को जिल्लामा सरुवाको व्यवस्था थिएन ।

अवस्थीका अनुसार माध्यमिक र निम्नमाध्यमिकभन्दा बढी प्राथमिक तहका शिक्षक रहेका छन् ।

‘जुन जिल्लामा शिक्षक छैनन्, त्यहाँ शिक्षक पठाउने र बढी शिक्षक भएका विद्यालयबाट झिक्ने तयारी गरेका छौँ’, उनले भने, ‘एकवटा शिक्षक बराबर ८० जना विद्यार्थी पनि छन् कतै ९ जना विद्यार्थी बराबर एक शिक्षक छन् ।’ उनले शिक्षकको अनुपात मिलाउँदा शैक्षिक गुणस्तर आउने दाबी गरे ।

‘शिक्षक नभएर प्राविका शिक्षकले माविसम्म पढाएका छन्’, उनले भने, ‘अनि, धेरै विद्यार्थी मुख्य विषयमा फेल हुने गरेका छन् । त्यसैले सबै ठाउँमा विषयगत शिक्षक पुर्‍याउन सरुवाको व्यवस्थापन गर्न थालेका हौँ ।’

मन्त्रालयले प्रावि तहका शिक्षकलाई पनि दरबन्दी मिलानका क्रममा निमावि र माविसम्म लैजाने योजना ल्याएको छ । कतिपय शिक्षकहरू निमावि र माविसम्म पढाउने योग्यता भए पनि प्राविमा रहेकाले दरबन्दी मिलानको नयाँ व्यवस्था गर्न थालिएको अवस्थीले जानकारी गराए ।

प्रतिक्रिया