‘धर्तीमा नारीभन्दा सुन्दर कोही छैन । हाम्रो सुन्दरताकै कारण त पुरुषहरू मरिमेटेर हाम्रो पछि लाग्छन् ।’ रक्षा नेपाल नामक गैरसरकारी संस्थाले भूकम्पपीडित महिलालार्ई राहत वितरण गरेको एक कार्यक्रममा गायिका कोमल ओलीले नारी सुन्दरताको बयान यसरी नै गरिन् ।
कार्यक्रममा पीडित/प्रभावित महिलालाई भूकम्पको त्रासबाट केही बाहिर ल्याउन मनोरञ्जन प्रदान गर्ने गीत गाउन आएकी ओलीले गीतमा भन्दा धेरै समय नारी सुन्दरताको बयानमा खर्चिन् । ‘लाज नमान्नुस्, हामी सबैभन्दा सुन्दर छौँ । दुनियाका बलवान, धनवान, शक्तिवान सबै पुरुष नारीको कोखबाट आएका हुन् र ती सबै हाम्रो सुन्दरतामा लठ्ठ पर्छन् । उनीहरूलाई नारी नभई हुँदैन ।’
गायिका ओलीले राजनीतिक पार्टी र नेताहरूलाई कटाक्ष गर्नसमेत भ्याइन् । कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बाहिरिइसकेका थिए । भट्टराईको लामो भाषण सुनेर बसेकी ओलीले भनिन्– देशमा प्रजातन्त्र आयो, लोकतान्त्रिक गणतन्त्र आयो, हामी महिलाले केही पाएनौँ । यी नेताहरू आउँछन्, यो गर्छु, ऊ गर्छु भनेर भाषण गरेर जान्छन् । हाम्रो अवस्था जस्ताको तस्तै रहन्छ ।’ कोमल ओलीले भाषण गरिरहँदा कार्यक्रममा आएका महिलाले जोडले ताली पिटेका थिए । मानौँ महिलालाई नेता भट्टराईको भन्दा ओलीको भाषण राम्रो लाग्दै थियो ।
कोमल ओलीको गीत सुन्न आतुर महिला उनका भाषणमा उत्तिकै जोसिँदै थिए । पूरा हल उनको भाषणमा गुञ्जायमान हुँदै थियो । राहत लिन आएका भूकम्पपीडित महिलालाई हौस्याउँदै ओलीले भनिन्, ‘बाटोमा सुन्दर महिला देखे ‘वाह !’ भन्ने कति हुन्छन्, हुन्छन् । तर, जतिसुकै राम्रो पुरुष भए पनि महिलाले ‘वाह’ भन्दैनन् ।’ ‘पृथ्वीमा सर्वश्रेष्ठ हामी महिला हौँ । महिलाले अनेक हिंसा सहेर बसेका छन् । पुरुषका चाहनाअनुसार जे भन्यो त्यही गरे ठीक, नत्र बेठीक भन्ने पुरुष धेरै छन् । यो पनि महिला हिंसाको रूप हो,’ उनले भनिन् ।
‘महिलाको कोखबाट जन्मने अनि हामीलाई नगन्नेहरूलाई हामीले किन गन्ने ?’ उनले प्रश्न गरिन् । हामी महिलाले पुरुषले गर्ने सबै काम गर्न सक्छौँ । तर, पुरुषले महिलाले गर्ने सबै काम गर्न सक्दैनन् । हामी बच्चा जन्माउन सक्छौँ, पुरुषले सक्छन् ?’ ओलीले नारी सुन्दरता र महिला हिंसाका बारेमा करिब पाँच मिनेट भाषण गरिन् ।
संविधानको मस्यौदामाथि गम्भीर भएर अध्ययन गर्न बाबुरामले भनिरहँदा उँघेका महिला ओलीको सुन्दरताको बखानमा जोसिएका थिए । महिलाको सवालमा आफू गम्भीर भएको र कानुनी रूपमा महिलाको अधिकार सुरक्षित हुनुपर्ने बाबुरामको गहन भाषणलार्ई कता–कता फिक्का पार्ने कोसिस ओलीले गरिन् । ‘पार्टीका कुरा नसुन्नुस् भनेको होइन, तर उनीहरू आफूले भनेको कुरा पूरा गर्दैनन् । हामीले आफैँ गरेर देखाउनुपर्छ हामी कोहीभन्दा कम छैनौँ । आफूसँग जस्तो सीप, क्षमता र हैसियत छ, त्यसैअनुसार काम गरे बाँच्न कठीन हुँदैन,’ ओलीले भनिन् ।
पुरुषका बारेमा बोलेर मिडियामा छाइरहने ओलीले भनिन्, ‘म बिहान उठ्छु । तनक्क जिउ तन्काउँछु । छेउको ऐनामा आफूलाई तलदेखि माथिसम्म पूरा हेर्छु । ऐनाले भन्छ– वाह, कोमल ओली ! तिमी क्या राम्री छौ !’
‘वास्तवमा हामी सुन्दर छौँ, किन लाज मान्ने ? मलाई ‘आइ लभ यू, कोमल’ भन्नेहरू धेरै छन् । मजस्तै तपाईंहरू पनि सुन्दर हुनुहुन्छ । लाज मान्नु पर्दैन । शरीरको बनावट जस्तो भए पनि हामी सबै राम्रा छौँ । शृंगारले मात्र मान्छे राम्रो हुँदैन । प्रकृतिले नै हामीलाई सुन्दर बनाएको छ । कसैले रीस राग गर्नुपर्ने केही कारण छैन,’ कार्यक्रममा आफ्नै सन्दरताको समेत खेलेर बयान गर्दै कोमलले भनिन् ।
कार्यक्रममा ओलीको गीतले भन्दा भाषणले वाहवाही पाएको थियो । भूकम्पपछि निकै व्यस्त उनी उपत्यकाबाहिर पनि उत्तिकै जान्छिन् । ‘महिलालार्ई कसैले बाँध्ने प्रयास गर्नु हुँदैन । आ–आफ्नो स्वतन्त्रता हो– बिहे गर्नु नगर्नु, श्रीमान्सँगै बस्नु वा श्रीमान् छोड्नु । कसैले श्रीमती छोडेका छन् । कसैले श्रीमान् छोडेका छन् । ‘लिभिङ टुगेदर’ बस्नेहरूको पनि कमी छैन । आफ्नो रुचिअनुसार बस्ने अधिकार सबैलाई छ । यदि आफ्नो स्वतन्त्रता र चाहनामा अंकुश लागाइन्छ भने त्यो पनि महिला हिंसा हो,’ आफूलाई खुला विचारकी भन्न रुचाउने अविवाहित ओली माया प्रेमका बारेमा खुलेरै कुरा गर्न मन पराउँछिन् । कसले के भन्छ ? कसरी हेर्छ ? भन्नेसँग ओलीलार्ई चिन्ता छैन ।
कोमल ओलीका अभिव्यक्ति र गीत प्रायः जीवनसाथी नपाएको वा जीवनसाथीको खोजीमा रहेको शब्दमा आधारित हुन्छन् । श्रीमान् नपाएकोमा बेला–बेला उनी भगवान् शिवसंग गुनासो गर्न भ्याउँछिन् । आफ्ना गीतमा लाने, ल्याउने र गोजीमा गाँठ भएकालार्ई खुला आह्वान गर्ने उनलाई समाजको प्रवाह छैन ।
कार्यक्रममा ओलीले ‘सिमसिमे पानीमा ज्यानले बेमान गर्छ कि जिन्दगानीमा’ भन्ने बोलको गीतमा सबैलार्ई नचाइन् ।
– चमिना भट्टराई
प्रतिक्रिया