विश्व राजनीतिका चर्चित महिला

महिलाहरू राजनीतिमा आउनु होइन, बरु नआउनु आश्चर्य र विस्मात्को कुरा हो । दुर्भाग्यवश, युगयुगान्तरदेखि समाजमा जरा गाड्दै आएको पितृसत्तात्मक व्यवस्था र सोचले गर्दा विस्मात्को अनुभव धेरै गर्नुपरेको छ । यसो भए तापनि बदलिँदो समय, सोच र मान्यताले गर्दा महिलाहरू निरन्तर बढ्दोस्तरमा जीवनका हरेक क्षेत्रमा प्रवेश गरिरहेका मात्र होइनन्, आप्mनो सशक्त छाप पनि छोड्न सफल भएका देखिएका छन् । साहित्य, विज्ञान, संस्कृति, अर्थतन्त्र र राजनीति कुनै पनि क्षेत्र महिलाको पहुँचभन्दा टाढा छैन ।
इतिहासमा ग्रीसेली महारानी क्लियोपेट्रा आफ्नो अप्रतिम सुन्दरताका लागि प्रख्यात थिइन् । बेलायती महारानी भिक्टोरिया साम्राज्यवादकालीन बेलायतको ‘कहिल्यै नअस्ताउने सूर्य’ को विस्तारका लागि चिनिइन् । भारतकी रानी लक्ष्मीबाई आफ्नो अद्भूत वीरताका लागि स्मरण हुन्छिन् । भारतमै रहेर श्रीमती एनी बेसेन्ट, कमला नेहरू, कित्तुर रानी चेन्नमालगायत अनेक महिला इतिहासमा एक वा अर्को कारणबाट चर्चित भएका छन् । वर्तमान भारतमै पनि सुष्मा स्वराज, ममता बनर्जी, जयललिता आदि प्रवृत्तिको महिला नेता छन् तर उनीहरू वा अन्य महिलाले कहिले राजनीतिक उच्चतहको भ¥याङ चढ्ने हुन् भन्नेबारे यसै भन्न सकिँदैन ।
नेपालकै कुरा गर्दा मंगलादेवी सिंह, सहाना प्रधान वा शैलजा आचार्यको हाराहारी पुग्न सक्ने अर्को महिला नेता हाल देखापर्न सकिरहेको छैन । उनीहरू तीनैजना स्वर्गीय भइसके । प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानीको योगदान र महत्ता केवल सामान्य ज्ञानका पानामा सीमित छ । त्यसो त अहिले पनि विद्या भण्डारी, राधा ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुप्रभा घिमिरे, उर्मिला अर्याल, हिसिला यमी, चित्रलेखा यादव, सावित्रा भुसाल, शशी श्रेष्ठ, पम्फा भुसाल, सुजाता कोइराला, बिन्दा पाण्डे, कमला पन्त, अम्बिका बस्नेत, रामकुमारी झाँक्री, सरिता गिरी प्रवृत्तिका महिला राजनीतिमा सक्रिय भए पनि राजनीतिको उपल्लो तह अथवा ‘कोर डिसाइसिभ पोजिसन’ मा मेहिला नेतृत्व प्रायः कमै छ । राष्ट्रपति वा प्रधानमन्त्री बन्न सक्ने यी सबै महिलामा पर्याप्त क्षमता र खुवी छ तर के पुरुषप्रधान राजनीति हावी रहेको नेपालमा कुनै महिला नेताले देश हाँक्ने अवसर पाउन सक्लान् ? अहिलेलार्ई यो प्रश्न समयको गर्भमै छ ।
उसो त राजनीति त्यसै पनि सबै नीतिको माउ नीति हो । अर्थात्, अन्य सबै नीतिलार्ई निर्देशन र नियन्त्रण गर्ने मूल नीति हो । यसमा सदियौँदेखि पुरुषहरूकै वर्चश्व र हालीमुहाली रहँदै आएको छ । समय क्रममा विश्व राजनीतिले इन्दिरा गान्धी, गोल्डामायर र मार्गरेट थ्याचरजस्ता महिला राजनीतिज्ञ देख्यो । अनि मात्र ‘वुमन पावर’ को झ–झल्को सारा पुरुषप्रधान जगतले पायो । भारतकी इन्दिरा, इजरायलकी गोल्डामायर र बेलायतकी थ्याचरलार्ई युगले आ–आफ्नो देशका ‘आइरन लेडी’ भन्यो । उनीहरूले नितान्त आफ्नो सोचअनुरूप देशको राजनीतिलार्ई डो¥याए, हाँके र महिला पनि अवसर मिल्दा पुरुषले भन्दा बीसमा उन्नाईस काम गर्दैनन् भनेर प्रमाणित गरिदिए । उनीहरू तीनजना ‘आइरन लेडी’ मात्र होइन, विश्वकै प्रथम महिला प्रधानमन्त्री श्रीलंकाकी सिरिमाओ बन्दारानायके, कट्टर इस्लामिक मुलुक पाकिस्तानकी प्रथम महिला प्रधानमन्त्री बेनजीर भुट्टो, टर्कीकी प्रथम महिला प्रधानमन्त्री टान्सु शिलर, सिरिमाओकी छोरी तथा श्रीलंकाकी प्रथम महिला राष्ट्रपति चन्द्रिका कुमारातुंगा, फिलिपिन्सकी प्रथम राष्ट्रपति कोराजोन अक्विनो आदिसमेत अनेक महिला राजनीतिक परिदृश्यमा आए र गए । सबैले आ–आफ्नो समय र युगअनुसार केही न केही छाप पनि छोडेर गए । लोकतन्त्रमा विश्वास गर्ने समाजमा उही व्यक्ति कहिल्यै पनि लामो समय वा धेरै वर्ष एउटै पदमा बसिरहन सक्दैन । त्यसकारण पुरानाले छोड्ने र नयाँ आउने क्रम चलिरहन्छ । यसै क्रममा पछिल्ला केही वर्षदेखि विश्व राजनीतिमा उदाएका र चर्चामा रहेका केही प्रमुख महिला नेताहरूको संक्षिप्त चर्चा यहाँ प्रस्तुत छ ।

एन्जेला डोरोथिया मर्केल

– पछिल्ला झन्डै पच्चीस वर्षदेखि राजनीतिमा सक्रिय उनी जर्मनीकी प्रथम महिला चान्सलर हुन् भने वर्तमान समयमा विश्वकै सबैभन्दा प्रभावशाली एवं सर्वाधिक शक्तिशाली महिला राजनीतिज्ञ पनि । पूर्वचान्सलर हेल्मुट कोलको मन्त्रिमण्डलमा काम गरिसकेकी उनी तत्कालीन पूर्वजर्मनीमा जन्मेहुर्केकी हुन् । ‘रिजर्भ’ स्वभाव भएकी मर्केल फिजिक्स विषयमा विद्यावारिधि हुन् । दुईपटक बिहे गरेर पनि निःसन्तान रहेकी उनी जर्मनीको सबैभन्दा ठूलो पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियनकी निर्वाचित अध्यक्षसमेत हुन् । सन् २००७ मा उनी युरोपियन काउन्सिलकी अध्यक्ष थिइन् भने अर्को वर्ष २००८ मा जी–८ समूहको अध्यक्षता गर्नेमा उनी मार्गरेट थ्याचरपछि दोस्रो महिला बनेकी थिइन् । स्वास्थ्य र इन्धन विकासका समस्यासित जुझ्न परिरहेकी उनी भन्ने गर्छिन्, ‘महत्वाकांक्षी बन्नुमा कुनै खराबी छैन ।’

सोनिया गान्धी

– पैँसट्ठी वर्षपहिले इटालीमा जन्मेर ‘एन्टोनिया एड्भिज अल्बिना मायानो’ भन्ने न्वारान पाएकी यी महिला भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीसित प्रेमविवाह गरेर सोनिया गान्धी बनेकी हुन् । उनी भारतमा मोदी सरकारभन्दा पहिलेको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो घटक कंग्रेस (आई) की शक्तिशाली अध्यक्ष हुन् । सन् १९९१ मा पति राजीव गान्धीको हत्या भएपछि उनलार्ई पार्टीको नेतृत्व सम्हाल्नका लागि निकै आग्रह भएका थिए । तर, त्योबेला उनी आप्mनी छोरी प्रियंका र छोरा राहुललार्ई साथ लिई सार्वजनिक जीवनबाट अलग बसिन् । पछि पटक–पटकको आग्रहपछि सन् १९९७ मा उनी राजनीतिमा प्रवेश गरिन् र त्यसको अर्को वर्ष १९९८ मा भारतीय राष्ट्रिय कंग्रेस पार्टीकी अध्यक्ष निर्वाचित भइन् । सन् २०१० मा चौथोपटक पनि निर्वाचित भएपछि उनले कंग्रेस पार्टीको एक सय २५ वर्ष लामो इतिहासमा सबैभन्दा लामो समयसम्म पार्टीअध्यक्ष भइरहने कीर्तिमान कायम गरेकी छन् । अटलबिहारी बाजपेयी प्रधानमन्त्री रहेको भाजपा सरकारको समयमा उनी प्रमुख प्रतिपक्षी नेता थिइन् । विदेशी मूलको भएको, अर्थात् भारतमा नजन्मेको हुनाले सोनियाले भारतको प्रधानमन्त्री हुन पाइरहेकी छैनन् ।

आङ सान सुकी

– सत्तरी वर्षीय उनलार्ई विगतमा लामो समयदेखि निरकुंश सैनिक शासनमुनि पिल्ँिसदै आएको बर्मा (हाल, म्यानमार) मा लोकतन्त्रकी पर्यायको रूपमा लिइने गरिन्छ । नोबेल शान्ति पुरस्कार विजेता सूकी सैनिक सरकारको प्रमुख विपक्षी दल ‘नेशनल लिग फर डेमोक्रेसी’ की नेता हुन् । उनले वैचारिक स्वतन्त्रताका लागि दिइने दुई पुरस्कार ‘-याप्तो र सखारोभ प्राइज’, अन्तर्राष्ट्रिय समझदारीका लागि दिइने जवाहरलाल नेहरू पुरस्कार, अन्तर्राष्ट्रिय साइमन बोलिभर पुरस्कार र पछिल्लोपटक २०११ मा ‘वालेनबर्ग मेडल’ पुरस्कार पाएकी छन् । उनलार्ई क्यानाडाले मानार्थ नागरिकता प्रदान गरेको छ, जुन सम्मान हालसम्म केवल पाँचजनाले मात्र पाउन सकेका छन् । उनले पन्ध्र वर्ष त सैनिक गृहनजरबन्दीमा मात्रै बिताएकी हुन् ।

हेल थोर्निङ स्मेड

– केवल पैँतालीस वर्षको उमेर छँदै अक्टोबर २०११ मा डेनमार्ककी प्रथम महिला प्रधानमन्त्री बन्न सफल भएकी हेल स्मेड विगत अप्रिल २००५ देखि सोसल डेमोक्रेटिक पार्टीकी नेता पनि हुन् । डेनिस संसद्मा निर्वाचित हुनुअघि सन् २००४ सम्म उनी युरोपेली संसद्की सदस्य थिइन् । चुनावी अभियानको क्रममा उनले अनुदारवादी बाटो नअपनाउने, धनीमाथि नयाँ कर लगाउने र सार्वजनिक व्यय भार बढाएर अर्थतन्त्र उकास्ने वाचा गरेकी थिइन् । तर, दुई सन्तानकी आमा अनि राजनीति शास्त्रकी स्नातकोत्तर हेल स्मेडले आफूभन्दा पहिले सत्तामा रहेकाहरूले इस्लामविरोधी दल डेनिस पिपल्स पार्टीसित मिलेर अगाडि बढाएको आप्रवासीविरोधी नीतिहरूभन्दा अलग बाटो भएर हिँड्न निकै कठिन चुनौती सामना गर्नुपर्नेछ । मे–जुन २०१५ मा भएको निर्वाचनमा आफ्नो पार्टीले पराजय भोग्नुपरेपछि उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिइन् ।

Yingluck-Shinawatraयिङलक सिनावात्रा

– अपदस्थ प्रधानमन्त्री थाक्सिन सिनावात्राकी बहिनी यिङलक ४४ वर्षको उमेर हुँदा अगस्ट २०११ मा थाइल्यान्डकी प्रथम महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । केन्टुकी स्टेट युनिभर्सिटीबाट जनप्रशासन विषय पढेर पारिवारिक ‘प्रपर्टी बिजनेस’ सम्हाल्दै आएकी यिङलकका सामु राष्ट्रिय अर्थतन्त्रमा कुनै प्रभाव नपर्ने गरी न्यूनतम ज्याला वृद्धि गर्ने, सार्वजनिक क्षेत्रमा निःशुल्क वाइफाइ सुविधा उपलब्ध गराउने र हरेक विद्यालयमा एउटा–एउटा ट्याब्लेट पिसी वितरण गर्ने ठूलो चुनौती छ । क्यामबोडियासितको संवेदनशील सम्बन्ध सुधार्ने हाँक एकातिर छ भने दाइ थाक्सिन समर्थक ‘रेड शर्ट’ र दाइको सरकार ढलाउन ठूलो सहयोग पु¥याएका सरकारविरोधी ‘यल्लो शर्ट’ हरूबीच समन्वय स्थापित गनुपर्ने अर्को चुनौती थियो । राजनीति र बिजनेस दुवैमा सक्रिय उनी २०१४ सम्म थाई प्रधानमन्त्री थिइन् ।

क्रिस्टिना फर्नान्डिज डे कर्चनर

– अर्जेन्टिनामा नोभेम्बर २००७ मा भएको निर्वाचन जितेर उनी मुलुकको प्रथम निर्वाचित महिला राष्ट्रपति बनेकी हुन् । उनीभन्दा पहिले उनका पति नेस्टर कर्चनर नै राष्ट्रपति थिए र उनी थिइन् ‘फस्र्ट लेडी’ । संसदीय निर्वाचनमा लामो अनुभव सँगाल्दै र पटक–पटक सांसद हुँदै विभिन्न मन्त्रालयसमेत सम्हालिसकेकी क्रिस्टिना पछिल्लोपटक अक्टुबर २०११ मा भएको निर्वाचनमा निकटतम प्रतिद्वन्दीभन्दा ३७ दशमलव ३ प्रतिशत धेरै मत ल्याई दोस्रोपटक पनि राष्ट्रपति निर्वाचित भएकी छन् । आप्नो व्यक्तित्व र फेसनबीच उच्च सन्तुलन मिलाउन खप्पिस भएकीले उनलार्ई धेरैले ‘फेसन आइकन’ पनि मान्दछन् । तर, उनी मानवअधिकार, गरिबीविरुद्ध सचेतनता र स्वास्थ्य सुधारसम्बन्धी अभियानहरूका लागि बढी सम्मानित छन् ।

डिल्मा राउसेफ

– उनी विश्वको चौथो ठूलो लोकतन्त्र मानिने ल्याटिन अमेरिकी मुलुक ब्राजिलकी प्रथम महिला राष्ट्रपति हुन् । अक्टोबर २०१० मा भएको निर्वाचन जितेर १ जनवरी २०११ देखि राष्ट्रपति पद सम्हाल्दै आइरहेकी पूर्वछापामार लडाकू डिल्माले पूर्ववर्ती राष्ट्रपति तथा आप्mना ‘मेन्टर’ समाजवादी राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाका लोकप्रिय नीतिहरूलार्ई नै निरन्तरता दिने घोषणा गरेकी छन् ।

जुलिया गिलार्ड

– उनी ४६ वर्षको उमेरमा २४ जुन २०१० मा अस्टे«लियाकी प्रथम महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । २००७–२०१० सम्म उपप्रधानमन्त्री र २०१०–२०१३ सम्म प्रधानमन्त्री रहेकी गिलार्ड तत्कालीन प्रधानमन्त्री केभिन रुड सरकारविरुद्ध लेबर पार्टी विद्रोहको नेतृत्व गर्दै उनी सत्ताको भ-याङ चढेकी हुन् । उनको नीति, भाषण र क्रिकेटप्रेम उत्तिकै चर्चित छन् ।

एलन जोन्सन सर्लिफ

– उनी लाइबेरियाकी र समग्रमा अफ्रिकी महादेशकै प्रथम महिला राष्ट्रपति हुन् । हार्वर्ड र विस्कन्सिन विश्वविद्यालयहरूबाट उच्चशिक्षा हासिल गरेकी सर्लिफ सन् १९७० को दशक अन्तिमतिर लाइबेरियाकी अर्थमन्त्री थिइन् । तर, सन् १९८० को सैनिक विद्रोहमा राष्ट्रपति र अनेक क्याबिनेट मन्त्रीहरू मारिएको अवस्थामा सर्लिफ छिमेकी देश केन्या पलायन भइन् र त्यहाँ सिटी बैंकमा निर्देशकको रूपमा काम गर्न थालिन् । सन् १९९६ मा उनी स्वदेश फर्किन् र राष्ट्रपति चुनाव लडिन् तर लोकप्रिय प्रतिद्वन्द्वी चाल्र्स टेलरद्वारा पराजित भइन् । सन् २००५ मा भने उनले निर्वाचन जितिन् र अफ्रिकामै प्रथम महिला राष्ट्रपति बनिन् । पछि उनी लगातार दोस्रो कार्यकालका लागि पनि निर्वाचित भइन् भने अन्य दुई महिलासँगै शान्तिका लागि नोबेल पुरस्कार जितेर उनी अझ चर्चामा आइन् ।

शेख हसिना वाजेद

– बंगलादेशकी प्रधानमन्त्री तथा मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल अवामी लिगकी नेता । सन् १९७५ मा भएको सैनिक विद्रोहमा छोरा, तीनजना दाजुभाइ, आमा र पिता पूर्वप्रधानमन्त्री शेख मजिबुर रहमानसमेत उनको परिवारका सत्रजना सदस्य मारिएका थिए । विदेशमा भएकीले उनी त्योबेला बाँचेकी थिइन् । अर्को एकपटक बीसजना अन्य व्यक्ति मारिएको ग्रीनेड आक्रमणमा पनि उनी बाँच्न सफल भइन् । सन् १९९६ मा उनी पहिलोपटक प्रधानमन्त्री निर्वाचित भइन्, तर ट्रान्सपरेन्सी इन्टरनेसनलले बंगलादेशलार्ई विश्वको सबैभन्दा भ्रष्टाचारी मुलुक ठहर गरेपछि उनले सन् २००१ को निर्वाचनमा नराम्ररी हारिन् । तर, सन् २००९ को निर्वाचनमा दुई सय ९९ सदस्यीय संसद्मा दुई सय ३० स्थान जितेर उनी फेरि एकपटक प्रधानमन्त्री बन्न सफल भइन् ।

जोहाना सिगरडार्टोटर

– आइसल्यान्डकी प्रथम महिला प्रधानमन्त्री जोहाना कुनैबेला विमान परिचारिका थिइन् । त्यो पेसा छोडेर राजनीतिमा प्रवेश गरेकी उनी सन् १९७८ देखि लगातार आठवटा संसदीय निर्वाचन जित्दै अक्टोबर २००८ मा मुलुककी प्रधानमन्त्री बनेकी हुन् । सरकार प्रमुखको पदीय दायित्व वहन गर्ने उनी विश्वकै प्रथम मुखर समलिंगी पनि हुन् ।

लाउरा चिन्चिला

– उनी सन् २०१० देखि कोस्टारिकाकी राष्ट्रपति छन् । त्यसअघि उनी नोबेल पुरस्कारविजेता ओस्कार आरियास सान्चेजको राष्ट्रपतित्वकालमा उपराष्ट्रपति थिइन् । समलिंगी विवाह र गर्भपतनको प्रखर विरोध अनि अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने र मुक्त व्यापारलार्ई विस्तार दिने नीतिहरूले गर्दा उनी चर्चामा रहँदै आएकी छन् ।

टेरा ह्यालोनिन

– राजधानी सहर हेलसिन्कीको एक श्रमिक परिवारमा जन्मेर टे«ड युनियन र गैरसरकारी संस्थाहरूसित गहिरो सम्बन्ध विकसित गर्दै सफल राजनीतिक जीवन बनाएकी टेरा फिनल्यान्डकी राष्ट्रपति हुन् । सन् २००० देखि २०१२ सम्म निरन्तर बाह्र वर्ष राष्ट्रपति रहेकी टेरा पौडी खेलेर र घरपालुवा दुईवटा बिरालाको हेरचाह गर्दै खाली समय बिताउँछिन् ।

डालिया ग्राइब्स्केइट

– स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन लडेर पनि ६८ प्रतिशत मत हासिल गरी राष्ट्रपति बन्न सफल भएकी डालिया ग्राइब्स्केइटलार्ई युरापेली पत्रकारहरू लिथुआनियाकी ‘आइरन लेडी’ भन्छन् । प्याक्ट्रीमा पार्टटाइम काम गरेर अर्थशास्त्र विषयमा पिएचडी गरेकी डालिया करातेकी ब्ल्याकबेल्ट खेलाडी पनि हुन् । सन् १९९९ मा उपअर्थमन्त्री बनेपछि उनले केही वर्ष युरोपियन कमिसनमा विभिन्न पदमा काम गरेकी थिइन् । जोडदार व्यक्तित्व र प्रखर वक्तृत्वले उनलार्ई चर्चामा ल्याइरह्यो ।

कमला प्रसाद–बिसेसार

– उनी सानो क्यारेबियन मुलुक ट्रिनिडाड एन्ड टोब्यागोकी प्रधानमन्त्री हुन् । उनले पाँचवटा राजनीतिक पार्टी मिलेर बनेको गठबन्धन ‘युनाइटेड नेशनल कंग्रेस’ को नेतृत्व गर्छिन् । कुनैबेला मुलुककी महान्यायाधिवक्ता रहिसकेकी कमलाले २६ मे २०१० मा सरकारप्रमुखको रूपमा शपथ लिएकी थिइन् । वर्ष २०११ मा उनी मुलुकमा बढ्दो अपराध दर कम गर्ने, पेन्सन रकम बढाउने र कुल जनसंख्याको पाँचौँ हिस्सा रहेको गरिबीमा उल्लेखनीय कमी ल्याउने कार्यक्रम घोषणा गरेर चर्चामा रहेकी थिइन् ।

हिलारी रोधम क्लिन्टन

– आगामी वर्ष हुन गइरहेको अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने तयारी गरिरहेकी हिलारी बाराक ओबामाको पहिलो राष्ट्रपतिकालमा संयुक्त राज्य अमेरिकाकी प्रभावशाली विदेशमन्त्री थिइन् । यो पद सम्हाल्नु अघिसम्म उनी सन् २००० देखि २००९ सम्म न्युयोर्क राज्यकी प्रथम महिला सिनेटर थिइन् । अझ त्यस अघिसम्म तत्कालीन राष्ट्रपति बिल क्लिन्टनकी पत्नीको रूपमा सन् १९९३ देखि १९९९ सम्म उनी अमेरिकाकी ‘फस्र्ट लेडी’ र त्यसअघि सन् १९७९–१९८१ र १९८३ देखि १९९२ सम्म अर्कान्सस राज्यकी ‘फस्र्ट लेडी’ (गर्भनर बिल क्लिन्टनकी पत्नी) थिइन् । फस्र्ट लेडी भएर पनि निर्वाचन लड्ने (र, जित्ने पनि) र विदेशमन्त्रीको पद सम्हाल्ने पनि उनी पहिलो ‘प्रथम महिला’ हुन् । सन् २००८ को अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीको उम्मेदवारी पाउने प्रतिस्पर्धामा उनी अन्तिम समयमा ओबामाबाट पराजित भएकी थिइन् ।

हिना रब्बानी खार

– केवल चौँतीस वर्षको उमेरमै पाकिस्तानको विदेशमन्त्री बन्न सफल हिना रब्बानी पाकिस्तानकी प्रथम महिला र सबैभन्दा कम उमेरमा विदेशमन्त्री बन्ने व्यक्ति पनि हुन् । सन् २००२ र २००८ मा दुवैपटक सांसद निर्वाचित हुन सफल हिना जुलार्ई २०११ मा विदेशमन्त्री हुनु अघिसम्म वाणिज्य तथा अर्थराज्यमन्त्री थिइन् । विदेशमन्त्री भएलगत्तै उनले पहिले भारतको र त्यसपछि चीनको अफिसियल भ्रमण गरेकी थिइन् । खासगरी भारत भ्रमणको बेला स्थानीय मिडियाले उनको सनग्लास, मोतीमाला, लेडिज ब्याग, अन्य पहिरनसमेत उनको फेसन सचेतताबारे निकै चर्चा गरेका थिए । मार्च २०१३ मा उनको विदेशमन्त्री पद गए पनि उनी पाकिस्तानी राजनीतिमा एक प्रमुख महिला हस्ती मानिन्छिन् ।
अन्त्यमा माथि उल्लिखित महिला त केवल सरकारप्रमुख वा राज्यप्रमुख वा सरकारको शक्तिशाली पदमा आसीन मात्र हुन् । अनेक महिला सांसद र मन्त्री पदमा कार्यरत छन् । जस्तो बंगलादेशमै बेगम खालेदा जिया प्रमुख विपक्षी नेता हुन् । खासगरी डेनमार्क, नर्वे र फिनल्यान्ड जस्ता देशमा महिला सांसदको प्रतिशत चालीसदेखि पचास प्रतिशतको बीचमा रहने गरेको छ । भविष्यमा अन्य देशमा पनि यो महिला–प्रतिनिधित्वको प्रतिशत बढ्ने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया