समानान्तर गतिविधि

Uml-Jn-Khanal-Jhalloकाठमाडौं, २९ असार । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको विवाद चुलिएको छ । लामो समयदेखि संघका नाममा समानान्तर गतिविधि सञ्चालन भइरहेका छन् । उपाध्यक्ष निरु पाल संघको अध्यक्ष बनेपछि संघभित्रको विवाद चुलिएर समानान्तर गतिविधि चलेको हो ।

सोमबार दिउँसो राजधानीमा संघले छुट्टाछुट्टै स्थानमा कार्यक्रम ग¥यो । अध्यक्ष निरु पाल समूहले अल्फाबिटा हाउसमा र उपाध्यक्ष दिलु पन्त पक्षधरले हार्दिक होटल बागबजारमा समानान्तर कार्यक्रम गरेका हुन् । वागबजारस्थित होटलमा ‘लिपुलेक सम्झौता र हाम्रो राष्ट्रियता विषयक’ अन्तरक्रिया र नयाँ वानेश्वरस्थित अल्फा हाउसमा ‘भूकम्पपछि निजी क्षेत्रको भूमिका र आगामी बजेट’ विषयक अन्तरक्रिया भएको हो ।
बागबजारमा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका वरिष्ठ नेता झलनाथ खनाल थिए भने अल्फा हाउसमा भएको कार्यक्रमको प्रमुख अतिथि उद्योगमन्त्री महेश बस्नेत थिए । ‘हामीले पहिले नै राष्ट्रियतासँग जोडिएको लिपुलेकका विषयमा कार्यक्रम गरेका थियौँ’, उपाध्यक्ष पन्तले भनिन्, ‘कार्यक्रममा सहभागी हुन अनुरोध पनि गरेकी थिएँ । तर, आउनुभएन, उल्टो कार्यक्रम बिथोल्न अर्को कार्यक्रम गर्नुभएछ ।’
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर पन्तले आफूहरूको माग सुनुवाई नभएसम्म समानान्तर गतिविधि सञ्चालन हुने जानकारी दिइन् । पाललाई अध्यक्षबाट नहटाइएसम्म संस्थापन पक्षको कार्यक्रममा सहभागी नहुने उपाध्यक्ष पन्तले बताइन् ।
२१ माघमा पाल संघको अध्यक्ष बनाइएपछि उपाध्यक्ष पन्त पक्षधरले असन्तुुष्टि जनाउँदै आएका छन् । हार्दिक होटलमा भएको कार्यक्रममा नेपाल पक्षका विभिन्न जिल्लाबाट आएका जिल्ला कमिटी सदस्यलाई पनि आसन ग्रहण गराइएको थियो । युवा संघ इन्चार्ज शेरधन राईले दुवै पक्षलाई मिलाउने प्रयास गरे पनि सफल हुन सकेका छैनन् । माघदेखि समानान्तर गतिविधि गर्दै आएका असन्तुष्ट पक्षधरले राईलाई स्वागत गर्दा मध्यस्थकर्ताका रूपमा उपाध्यक्ष सूर्य ढकाल कार्यक्रमको अध्यक्ष बनेका थिए ।
युवा संघका प्रवक्ता प्रभातविक्रम कट्वालले विधानविपरीत संगठनका ब्यानरमा कार्यक्रम गर्न नपाइने बताए । ‘अल्फा हाउसमा संघको कार्यक्रम भएको हो’, उनले भने, ‘संघकै ब्यानरमा अर्को कार्यक्रम गर्न पाइन्न ।’ उनले अलग्गै कार्यक्रम गर्नेलाई स्पष्टीकरण मागिने बताए ।
बिथोल्न एउटै समय पारेको आरोप
नेपाल पक्षधरले संस्थापन पक्षले आफ्नो कार्यक्रम बिथोल्न एउटै समयमा सोमबार कार्यक्रम गरेको आरोप लगाएका छन् ।
उनीहरूले आफूहरूको कार्यक्रम १५ दिनअगाडि तय भए पनि संस्थापन पक्षले ‘इनकाउन्टर’ गर्न दुई दिनअघि एकै दिन कार्यक्रम पारेको बताए । असन्तुष्ट पक्षका सचिवालय सदस्य दीपक जिएमले आफूहरूको कार्यक्रम बिथोल्न आइतबार गर्ने भनिएको कार्यक्रम अर्को पक्षले सोमबार नै गरेर जुधाएको बताए । ‘हाम्रो कार्यक्रम १५ दिनअघि तय गरिएको थियो’, उनले भने, ‘तर संस्थापन पक्षले हाम्रो कार्यक्रम बिथोल्न आइतबार गर्ने भनिएको कार्यक्रम सोमबार गरे ।’
‘भारत र चीनद्वारा सार्वभौमसत्तामा आक्रमण’
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारत र चीनले नेपालको सार्वभौमसत्तामाथि धावा बोल्न नपाउने बताएका छन् ।
राजधानीमा युवा संघले गरेको कार्यक्रममा खनालले लिपुलेक नेपाली भूमि भएकाले भारत र चीनले गरेको सम्झौता सार्वभौमसत्तामाथिको आक्रमण भएको बताए । ‘लिपुलेकको सम्पूर्ण क्षेत्र नेपालकै हो, यसमा कसैले विवाद गर्नुहुँदैन’, उनले भने, ‘नेपालको भूमि एक इन्च पनि छाडिदैन ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले अहिले देखिएको लिपुलेकको समाधान राजनीतिक र कूटनीतिक तरिकाले समाधान गरिनुपर्ने बताए । उनले सरकारका तर्फबाट लिपुलेकबारे चीन र भारतले गरेको सम्झौतामा खबरदारीको पहलकदमी लिनुपर्ने बताए । ‘जुन प्रकारको सम्झौतापछि पहलकदमी लिनुपर्ने थियो, सरकारले लिएन’, उनले भने । खनालले नेपालको स्वाभिमान, राष्ट्रिय र अखण्डका निम्ति हुने कुनै किसिमको मोलमोलाई मान्य नहुने बताए । (सौस)

प्रतिक्रिया