देश–विदेशका स्वनामधन्य १८ स्रस्टाको अभिमत समेटिई सम्पादन गरिएको उपर्युक्त शीर्षक हालै मात्रको पुस्तक बजारमा देखापरेको छ । पुस्तकमा सम्पादकीय र प्रकाशकीय विचारसँगै सम्बद्ध विषयमा उक्त १८ स्रस्टाका मौलिक चिन्तन समेटिएको यो रचना आफ्नो नवीन विचारबारे पवन चामलिङका बोल्दै–लेख्दै आएका सन्दर्भमा त्यसलाई थप खार्ने ध्येयतर्पm समर्पित देखिन्छ । तल यथास्थान उक्त विषयवस्तुबारे यथेष्ट समीक्षा हुने नै छ । अतः यहाँचाहिँ नेपाल–सिक्किम सम्बन्धको ऐतिहासिक पृष्ठभूमिमाथि एकाध शब्द खर्चनु पाठक वर्गको जिज्ञासाविपरीत हुने छैन । सिक्किममा ७० प्रतिशत विभिन्न जातजातिका नेपाली बसोबास गर्छन् । भोटे, लेप्चा र नेपाली भाषीहरूले बसोबास गरेको झन्डै सात लाख जनसंख्या भएको यो हिमाली राज्यसँग नेपालको प्राचीन कालदेखि नै आदान–प्रदान, आवागमन र राम्रो सम्बन्ध रहिआएको थियो । वस्तुतः यहाँका आदिवासी भोटे, लेप्चाहरूलाई बालीनाली र सिकर्मी, डकर्मीलगायतका सीपजन्य काममा प्रवृत्त गराउने र सिकाइ तुल्याई गर्ने नै नेपाली थिए ।
यसका अतिरिक्त हाम्रा दुई देशबीच खटपट र झगडा पनि त्यति नै हुने गरे, जसले गर्दा नेपालको सिमाना सिक्किमको राजधानी ग्यान्तोक र सिक्किमको सिमाना नेपालको इलाम र ताप्लेजुङको तमोर नदीसम्म हुत्तिएर आउने अनि खुम्चने दुवै गरेको देखिन्छ । त्यसैले नेपालको भविष्यमा सिक्किममाथि यस प्रकारको हस्तक्षेप र असमझदारी नबढोस् भन्ने हेतुले सुगौली सन्धिको धारा ६ मा उसले सिक्किममाथि यस प्रकारको हस्तक्षेप गर्न नपाउने र कदाचित दुई देशबीच यस प्रकारका मनोमालिन्य उत्पन्न भए कम्पनी सरकारको पैmसला अन्तिम हुने व्यवस्था गरिएको पाइन्छ ।
यही समयमा नेपालको ब्रिटिस–भारतसँग पनि बारम्बार जसो जद्दोजेहाद र लडाइँ–झगडा परिरहने पृष्ठभूमि देखिन्छ । अन्ततः ई. १८१४–१६ सम्म नेपाल र ब्रिटिस भारत सरकारबीच भयंकर युद्ध हुन पुग्दा नेपालले असमान र अपमानजनक सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य हुनुपर्यो जसले गर्दा नेपालको सैनिक आकांक्षा विराम लाग्यो भने सिक्किम पनि ब्रिटिस–भारत हुँदै आज आफ्नो सम्पूर्ण स्वतन्त्रता गुमाई भारतको २२ औँ राज्य हुन पुगको अवस्था छ । यसरी बाईसौँ राज्यका लगातार पाँचौँपटक सिक्किमको मुख्य मन्त्री पद जित्न सफल पवन चामलिङले प्रस्ताव गरेको ‘नवीन विचार’– पवित्र क्रान्तिबारे देश विदेशका विभिन्न १८ स्रस्टाले विचरण गरेको ग्रन्थमाथि समीक्षा गर्ने ध्येय हो प्रस्तुत लेखनको । अब लागौँ विषयवस्तु र आफ्नो अभिष्टतर्फ ।
उक्त पृष्ठभूमिको सिक्मिममा विगत पाँच कार्यकालदेखि त्यहाँका लोकप्रिय नेता पवन चामलिङले दीनहीन, कठिनाइ, अप्ठ्यारो र हेपायत एवं लाखापाखा पारिएका सानाठूला नेपाली मूल र अन्य मूल सिक्किमेहरूलाई राज्यको ढाडस र जीवन बाँच्ने त्राण दिने गरी जसरी त्यस हिमाली राज्यमा एउटा ‘स्टेट्सम्यानसीप’ र वैचारिक नेतृत्वको अनुपम दृष्टान्त प्रस्तुत गरी राजनीति केवल सत्ताको फोहोरी खेल र आफ्ना आसेपासे एवं भाइभतिजाहरूलाई सत्ताको चास्नी र स्वाद मात्र चखाउने यन्त्र मात्र नभई तिनलाई एउटा परम् कर्तव्य र उद्देश्यतर्फ डोर्याउने वैचारिक अभियानसमेत हो भन्ने एकदमै अपत्यारिलो दृष्टान्त दिन खोज्नु आमनेपाली जनता र बौद्धिकवर्गका लागि एउटा अनुपम दृष्टान्त बन्न पुगको छ ।
यस्ता सफल प्रशासक, नेता एवं चिन्तकमार्फत सिक्किमले एउटा होनहार प्रयोक्ता पाएको छ भने बाँकी विश्व, खासगरी हामीजस्ता नश्ल र भाषिक एवं सामाजिक सादृश्यता भएका छिमेकीहरूले सोमाथि गौरव गर्ने अवसरसमेत पाएका छौँ । सबैलाई थाहा छ, सिक्किम वा दार्जिलिङ र नागाल्यान्ड–मणिपुरका मात्र होइन स्वयं दक्षिण भारत, मध्यप्रदेश वा विहार र बंगालका भारतीयसमेतलाई त्यहाँको मूलप्रवाहको राज्य र समाजले वाञ्छित स्थान, महत्व, मर्यादा र मान्यता दिन सकिरहेको अनुभूति तत्–तत् भारतीयहरूले गर्न सकिरहेको स्थिति छैन । तिनका विचारमा अभैmप नि दिल्लीवादी र उत्तरप्रदेशीहरूको हालिमुहाली छ भारतीय राजनीति र संस्कृतिमा । त्यो हालिमुहाली नै यस्तो कारण हो जसले गर्दा महाराष्ट्र र गुजरात जस्ता राज्यमा अहिले पनि हिन्दी भाषा र दिल्लीवादले उस्तो गरिमा पाएको छैन । जसको प्रतिक्रियास्वरूप यदाकदा त्यस क्षेत्रका विशिष्ट स्थानमा उक्त वर्चश्वविरुद्ध कडा प्रतिक्रिया व्यक्त हुने गर्छन् । अहिले धेरै वर्ष अर्थात् एक दशक पनि पूरा नभएको होला त्यहाँको एउटा कार्यक्रमको प्रतिस्पर्धा जितेर विजयी बनेका भारतीय प्रहरीमा स्थायी पदमा कार्यरत दार्जिलिङका प्रशान्त तामाङले प्राप्त गरेको ‘इन्डियन आइडल’ को विजयलाई बंगालको सञ्चार जगत्ले सहज रूपमा लिन सकेन र भन्यो, ‘अगर गुर्खे लोग ‘इन्डियन आइडिल’ वन्ते है तो देशमे चौकिदारी कौन करेगा ?’ यस भनाइले भारतीयहरू त्यहाँका गैरहिन्दीवासीप्रति कस्तो व्यवहार गर्दा रहेछन् भन्ने एउटा कुरूप दृष्टान्तलाई नांगो ढंगले प्रस्तुत गर्दछ । दुर्भाग्य, के भने हाम्रो देशका सीके राउत वा लालहरू यसतर्फ किमार्थ दृष्टि दिन चाहँदैनन् । फलस्वरूप समाजको सौहार्द्रता र सद्भावमा ठूलो दरार उत्पन्न हुन पुग्छ ।
यस सादृश्यमा सिक्किमका नेपाली मूलका भारतीयले जति नै होइन भने पनि त्यो अकाट्य सत्य हो तर छातिमाथि ढुंगा राखेरै भए पनि सिक्किम–दार्जिलिङका नेपाली सुरुबुरु जीवन बाँच्दैछन् मात्र होइन सुशासन र समृद्धिको मार्गतर्फ अग्रसर भई त्यतिका पीडाभित्रबाट पनि आफ्नो चिन्तनशीलता, नेतृत्वदायिता र जवाफदेहितालाई पनि त्यतिकै उठाउने हिम्मत जुटाउँदै छन् । त्यस्ता अभियन्ता भारतमा थुप्रैछन्, जसको पछिल्लो नायक बनेका छन् त्यहाँको सानो हिमाल राज्य सिक्किमका मुख्य मन्त्री माननीय पवन चाम्लिङ । युवावस्थामा हामीले पवनलाई एक प्रगतिशील कविका रूपमा चिनेका छौँ । उनका त्यस्ता विचारहरू सहन नसकी तत्कालीन सजातीय प्रशासनले उनीप्रति असहिष्णु हुँदै जीवन रक्षाका लागि नेपालसम्म भौतारिँदै आइपुगेकोलगायतका सुखदुःखका कहानी पनि सुनेकै छौँ । त्यसै गर्तभित्रबाट झन्डै २५ वर्षअघि पवनले जसरी सिक्किमको राजनीतिमै पाउ जमाउन पुगे त्यसपछि आजसम्म पनि उनले पछि फर्केर हेर्नुपरेको छैन । उनीप्रतिको लगातार बढ्दो जनसमर्थनले उनको जनपक्षीयतालाई पनि सँगसँगै प्रस्ट पारेको छ । महत्वपूर्ण पाटोचाहिँ के भने जनता, राज्य, सरकार र राष्ट्रप्रतिको त्यत्रो जवाफदेहिताभित्रबाट पनि पवनले आफ्नो साहित्यिक मर्म र सिर्जनाशीलतालाई कतै निचो हुन दिएका छैनन् भन्ने तथ्य यसबीचमा प्रकाशमा आएका उनका कतिपय कृति र विचारमूलक सिर्जनाहरूले नै सिद्ध गर्दछन् । तीमध्ये केहीबारे त स्वयं यस लेखकले पनि एकाध वर्षअघिका केही कार्यक्रममा टिप्पणी गर्ने मौका पाएको तथ्य पनि यतिबेला मेरो मानसपटलमा नाच्न आउँछन् । निश्चय नै हो– ती कृति पनि पवनको ‘पवित्र क्रान्ति’ सम्बद्ध सिर्जनाहरू थिए ।
अतः प्रस्तुत सन्दर्भमा पनि उनका तिनै ‘पवित्रक्रान्ति’ सम्बद्ध मूल्य अनि मान्यतामा सिक्किम र नेपालका चर्चित एवं लब्धप्रतिष्ठित विभिन्न १८ स्रस्टाद्वारा अभिव्यक्त चिन्तत र विचारद्वारा संग्रहित–पवन चाम्लिङकृत पवित्र क्रान्तिः मत–अभिमत’ नामक २०८ पृष्ठीय ग्रन्थबारे पनि आफ्नो अभिमत थप्ने अभिप्रायले प्रस्तुत आलेखको सिर्जना हुँदैछ पुस्तक समिक्षाका रूपमा यहाँ । यी १८ थुंगामा भीम दाहाल, टिएन शर्मा, कृष्ण खरेल, शिशुपाल वाग्ले, होमनाथ दवाडी र कृष्ण लेप्चा जस्ता सिक्किमेली स्रस्टा–चिन्तक र बुलुमुकारुङ, दामोदर पुडासैनी ‘किशोर’ राधेश्याम लेकाली, सत्यमोहन जोशी र मोदनाथ प्रश्रित जस्ता नेपालका सक्रिय एवं सिद्धहस्त लेखक–स्रस्टाहरूका चाम्लिङको ‘पवित्रक्रान्ति’ माथि विभिन्न कोण–प्रतिकोण समेट्ने काम भएको छ यस संग्रहमा । यसरी नै चूडामणी मिश्र, डम्बरकुमार गिरी, तेजेन्द्र प्रसाईं, खोमदत्त बराल, नेपाली मूलका अमेरिकी नागरिक डा. चन्द्रप्रसाद गिरी र नेपाली मूलका ब्रिटिस नागरिक–डा.गोपाल पौडेलसमेतका विचार पनि यसमा समेटिएका छन् । यिनमा लेखकहरूको के अभिप्रायः रहेको होला ? भन्नेमा त कसैसँग पनि कुनै प्रकारको दिग्भ्रम रहोइन नै तर महत्वपूर्ण पक्ष चाहिँ के भने जुन तह र स्तरबाट पवनको उक्त विचारलाई व्याख्या र प्रकाश पर्ने ती स्रस्टाको प्रयास छ त्यसलाई पनि कम आँकलन गर्न खोजियो भने त्यत्रै भूल र ती स्रस्टामाथिको अन्याय हुन जाला भन्ने यस समिक्षकको अभिमत रहेको छ । यसले ती १८ थुंगामाथिको विचरणबाट कस्तो सार झिक्न चाह्यो भने अवश्य पनि त्यसमा आ–आफ्नै जोड, कोण र ढिपी मात्र हुने छैन सँगसँगै त्यसको पछाडि कुनै न कुनै तर्कले काम गर्न पुग्दा पवनको वैचारिक प्रस्तावनाले उल्लेख्य टेको पाउन थाल्छ जो उनको आध्यात्मवाद र भौतिकवादको समन्वयनबाट आजको विश्वमा देखा परेको ‘सभ्यताको लडाइँ’ को नाममा जारी चरम विवाद, द्वन्द्व र युद्धले उभ्याएको मानव चिहानको पिरामिडको समानान्तरमा अर्को पिरामिड खडा गर्नुभन्दा समन्वय र समृद्धिको माध्यमबाटै मानव–मानवबीचको कटुतामा न्युनीकरण गरी विश्वशान्ति निर्माणको गन्तव्यलाई थोरै भए पनि टेवा दिन सक्नु नै ‘पवित्रक्रान्ति’ को ध्येय हो । पवन चाहन्छन्– यस पथमा हिँड्नेहरूको पंक्तिमा आफ्नो राज्य सिक्किम अग्रदस्तामा उभियोस् । यो नै ‘पवित्रक्रान्ति’ को धर्म र मर्म हो भने यसलाई आ–आफ्नै जोड र कोणबाट मलजल र भरथेग गर्नु यस मालामा संग्रहित १८ थुंगा पूmलहरूको गन्तव्य हो जो आ–आफ्नै हाँगा र डालीमा फुल्छन् अनि फल्छन् ।
सबैलाई थाहा छ, ‘सृष्टिको निर्माण अवसानको ध्येयसँगै आविर्भाव भएको हुन्छ । हिजोका दिनमा विश्वक्रान्तिका प्रलयकारी हुँकारहरूको शंखनाद भयो । महान् पेरिस र अक्टोवर समाजवादी क्रान्ति । त्यसैगरी महान् चिनियाँ क्रान्ति र नेपालको महान् तथा गौरवशाली जनयुद्ध ।’ दुर्भाग्य ! आज न चिनियाँ क्रान्तिकारी जहाँका तहाँ छन् न नेपालका माओवादी नै एमाओवादी, बिमाओवादी, सिमाओवादी र एमस्क्वायर माओवादी नभई रहन सके । तर, प्रश्न छ– आखिर यीमध्ये सच्चा माओवादी चाहिँ को होलान् त ? माक्स भन्थे– मलाई एउटै कुरा थाहा छ, म चाहिँ मार्किसस्ट होइन । प्रश्न छ– स्वयं माक्र्स माक्र्सवादी होइनन् भने तिनका अनुयायी चाहिँ कसरी माक्र्सवादी हुन सक्लान् त ? पवित्रक्रान्तिको हकमा पनि यही सत्य हुन आउँछ । स्वयं पवनले सिक्किमलाई पूर्ण समृद्धि र स्वर्णिम राज्य बनाउन सकेका छैनन् भने उनको विचारमाथि विचरण गर्नेहरू कसरी ‘पवित्र क्रान्तिवादी’ हुन सक्लान् र ? कमसे कम यस ग्रन्थमा समेटिएका १८ थुंगाको अभिप्रायः त्यही देखिन्छ । तर, म भन्छु, ‘पार्थ ! अहिले दिल्ली धेरै टाढा छ । उकाली, ओराली र अनेकौँ जँघारपछि मात्र ‘सिक्किमे भूगोलको उवडखावड सम्मिन सक्छ, त्यसपछि मात्र हाँस्न थाल्छ पवनको पवित्रक्रान्ति । तर, निश्चय नै यो प्रयास असामान्य मानिनुपर्छ जहाँ विश्वकै सबैभन्दा उत्कृष्ट कागजमा नेपाल र सिक्किमका लब्धप्रतिष्ठित स्रस्टा र आ–आफ्नो क्षेत्रका हस्तीले पवनको ‘पवित्र क्रान्ति’ माथि कोण प्रतिकोणबाट गहनतम प्रयास गरी यसको गौरवलाई एउटा जीवन दिने अथक प्रयास गरेका छन् । म चाहन्छु– यो गाथा केवल गाथा र आफ्नो माथाका लागि ती निरिह सिक्किमे जनता र तिनका लालाबालाको भाग्य र भविष्यतर्फ समर्पित होस् जो अझै पनि छाना, नाना र खाना मात्र होइन शिक्षा र स्वास्थ्यको न्यानोबाट समेत वञ्चित छन् र आफूहरूको भविष्य र सहाराको एउटा त्यस्तो मानिसको खोजीमा छन् जसको नाम ‘पवन चाम्लिङ’ नै भएमा पनि तिनलाई कुनै आपत्ति छैन ।
पुस्तक – पवन चाम्लिङकृत पवित्र क्रान्ति : मत–अभिमत
पृष्ठ संख्या– २०८
सम्पादक – पुण्यप्रसाद शर्मा
अतिथि सम्पादक– डम्बरकुमार गिरी
प्रकाशक – पुण्यप्रसाद शर्मा, जनपक्ष प्रकाशन
प्रकाशन मिति – ४ मार्च २०१५
मूल्य– नेरु ७००।–
प्रतिक्रिया