असारे पन्ध्रमा मुक्तक र दही च्युरा

Jayadev-Gautamत्यो दिन असार १५ त थिएन तर माहोललाई पूरै असार १५ मय बनाइएको थियो । आखिर त्यसो नहोस् पनि किन ? त्यहाँ मुक्तकको असारे १५ जो थियो । मुलुकका नाम चलेका मुक्तक सर्जकहरू र भर्खर मुक्तकको आलीमा पाइला टेक्न थालेकाहरूको रमाइलो जमघट जो थियो त्यो । नेपाल मुक्तक प्रतिष्ठानका सदाबहार उद्घोषक–सदस्य यादव भट्टराईले सुरुवातमै ‘भाका, भूल, दया र क्षमा’ सबैलाई एकातिर पन्छाएर आफ्नै सुरताल फुकिहाले–
उकालासँग नथाकेको मनलाई पनि गलाइरहन्छ,
थपक्क सुतेका मान्छेलाई घरिघरि चलाइरहन्छ ।
नसकिने भो यो बेइमान भुइँचालोसँग,
मान्छेले नचाहेर के गर्नु हल्लाइरहन्छ ।।
मुक्तकको कुरा होस् र रामकाजी कोनेको नाम नआओस्, यस्तो त कहिल्यै हुनै सक्दैन । उनी एक त नेपाल मुक्तक प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन् । अर्को उनी आफैँ पनि मुक्तकका पारखी र लैना सर्जक हुन् । दुईवटा मुक्तक संग्रह त निकालिसकेकै छन्, तेस्रो तयार भइसकेर बजारमा ल्याउन मात्र बाँकी छ । उनको विशेष सक्रियतामा २०७० मा स्थापना भएर २०७१ असारमा दर्ता भएकाले मुक्तक प्रतिष्ठानले प्रत्येक असार १५ गते मुक्तक र दही च्युरा खाएर/ख्वाएर आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । तर, यसरी कार्यक्रम मनाउने दिन ठ्याक्कै असार १५ नै पर्नुपर्छ भन्ने छैन । असार उत्तराद्र्धभित्रको कुनै दिन परे हुन्छ । यसपटक यो अवसर पारिएको थियो शनिबार असार १९ गते । अवसर थियो मुक्तक प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको । कोने स्वाभाविक तवरले कार्यक्रमका सभाध्यक्ष भए । अनि उनको मुक्तक श्रोतामाझ फुत्त उफ्रिहाल्यो–
आँसु लिई आँखाभरि आगोमाथि नाच्न सिकायो
मान्छेले मान्छेलाई दुःखको कसीमा जाँच्न सिकायो
अति पीडा दियो तर यौटा गुन लगायो भूकम्पले
पालैपालभित्रको नेपालमा मिलेर बाँच्न सिकायो
प्रमुख अतिथि बनेर निम्त्याइएका नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त पो के कम, आखिर उनी त ०३४/३५ सालतिरै पोखरामा भएको पहिलो बृहत् राष्ट्रिय मुक्तक भेलाका सक्रिय सहभागी जो ठहरिए । त्योबेला मुलुकमै पहिलोपटक टिकट काटेर श्रोताहरूले मुक्तक मेलाको आस्वादन गर्न पाएका थिए । ती पुराना दिनसमेत सम्झिँदै उनले पनि आफ्ना परिपक्व र अत्यन्त माझिएका तीनवटा मुक्तक सुनाउँदै भने–
मानवताको इतिहासभरि मान्छेले आफूलाई साँचेको छ
आवश्यक पर्दा मान्छेले प्रकृतिलाई नै भाँचेको छ ।
युगयुगका प्राप्तिहरूमा जति गर्व गरे पनि
नबिर्स मान्छेभित्र अझै फोहोरी पशु बाँचेको छ ।।

त्यसो त मुक्तक प्रतिष्ठान केवल मुक्तक लेखन र वाचनमा मात्र सीमित छैन । यसले बाढी, पहिरो र भूकम्पपीडितहरूलाई पनि सक्दो सहयोग गर्दै आएको छ– कहिले प्रभावित क्षेत्रमै पुगेर त कहिले प्रधानमन्त्री राहत कोषमा संकलित रकम हस्तान्तरण गरेर । आफ्नो सामाजिक उत्तरदायित्वप्रति पनि उत्तिकै सचेत यस प्रतिष्ठानको १९ असारको कार्यक्रममा श्यामबहादुर भावुकले असारे भाकाको गीत सुनाएका थिए ।
उनीभन्दा पहिले सबैलाई स्वागत गर्दै प्रतिष्ठानका महासचिव रमेश पौडेलले असारसित पिरती गाँस्दै भने–
मुठी रोप्न भारोपर्म लाउन सकिन्छ
खले गह्रोमा हलगोरु दाउन सकिन्छ ।
आलीमै बसेर पनि भाका छोप्न जाने
मुक्तकमै असारे गीत गाउन सकिन्छ ।।

असार १९ गतेकै दिन राजधानीबाट सुदूर रोल्पामा एक सय चारजना मुक्तककारका रचना समेटेर एउटा मुक्तक संग्रह विमोचन भएछ । इजरायल, मलेसिया, बेलायतपछि सोही दिन दक्षिण कोरियामा पनि नेपाल मुक्तक प्रतिष्ठानको शाखा खोलिएछ । अनि त प्रसन्न थिए प्रतिष्ठानवालाहरू । त्यही क्रममा लोकेन्द्र डरै, उमा गौतम, द कैलाश राई, पारु स्मृति, वसन्त क्षितिज, विनु भट्टराई, रमेश श्रेष्ठ, ज्ञानुवाकर पौडेल, विष्णुबहादुर सिंह, उज्ज्वल जिसी र अशेष मल्लले आ–आफ्ना मुक्तक सुनाएका थिए ।
राजधानीको डिल्लीबजारस्थित सर्वनाम थिएटरको सहकार्यमा थिएटर हलमा आयोजित असारे १५ मुक्तक मेला शृंखला–६ मा प्राज्ञ रमेश श्रेष्ठको अनुभव रोचक थियो, जतिखेर उनी सुनाउँदै थिए–
फेरि सपना भएर आयौ
सपनामै मुस्कुरायौ ।
हजार सपना देखाएर
सपनामै हरायौ ।।
उनले अर्को मुक्तकिलो तीर चलाए–
कहिले हाँसोको पात्र भएँ
कहिले आँसुको मात्र भएँ ।
के नाम दिउँ म जिन्दगीलाई
सधैँ अभाव मात्र भएँ ।।
खासमा के पाका के नयाँ, सबैको मन जितिन् २१ वर्षीया पारु स्मृतिले । उनले उपन्यास पनि लेखिसकेकी छन् तर चार पंक्तिको मुक्तकमा ‘गागरमा सागर अटाउने’ कलामा जो आनन्द र रौनक छ, त्यो उपन्यासका सयौँ पृष्ठ लामा विवरणमा कहाँ पाउनु ? उनीसमेतलाई सुनेपछि उपस्थित सबैले एक स्वरमा भने, ‘मुक्तकको भविष्य अँध्यारो छैन र कसैबाट असुरक्षा पनि छैन ।’ विगत केही समयदेखि जसरी एकथरि कविहरू कवितामाथि चौतर्फी आक्रमण भइरहेको भन्दै ‘कविताको पक्षमा’ र ‘कविताको बचाउमा’ शब्द–गंगा बहाइरहेछन्, मुक्तकले कम्तीमा अहिले त्यसरी हारगुहार गर्नुपर्ने अवस्था छैन । किन पनि भने मानव जिन्दगी र सभ्यताको पहिलो सिर्जना नै कविता हो । जबसम्म मानव सभ्यता जीवन्त छ तबसम्म कविता (त्यसकारण मुक्तक पनि) जीवित रहन्छ ।
यस आलेखको बीट मारौँ पारु स्मृतिले वाचन गरेको मुक्तकबाटै –
यस्तो लाग्छ आजभोलि फूल नफूलोस्
सारंगीको धुन सुनेर मन नभुलोस् ।
कहिलेकाहीँ सपनीमा उनलाई देखेँ भने
यस्तो लाग्छ कहिल्यै पनि निद्रै नखुलोस् ।।

प्रतिक्रिया